जर्मनीमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने, एक महिनाभित्रै भ्याक्सिन प्रयोगमा !

डिसी नेपाल
१० मंसिर २०७७ ३:२५

एजेन्सी। जर्मन सरकारले आशिंक लकडाउनको समयअवधि बढाएको छ। कोरोना महामारी न्युनिकरणको प्रयास अन्तर्गत नोभेम्बर पहिलो साताबाट अन्तिम नोभेम्बरसम्म गरिएको लकडाउन तीन हप्ता थपेर डिसेम्बर २० सम्म लम्बाइएको हो। अहिलेझैं होटल, रेष्टुरेन्ट, जिमखाना, स्वीमिगं पूललगायतका अतिथ्य सत्कारका क्षेत्र बन्द रहनेछन ्भने किन्डरगार्टेन विद्यालय भने चालु रहनेछन्।

नागरिकहरुलाई यथासक्य घरबाहिर ननिस्कन र यात्रा तथा भ्रमण नगर्न अनुरोध गरिएको छ। अहिले दुइ घर परिवारका अधिकतम १० जनासम्म भेटघाट गर्न पाउने नियमलाई बदलेर अब जम्मा ५ जनासम्म मात्र भेट्न पाइने बनाइएको छ।

१४ बर्षमुनिका बालबालिकाको भने गणना नहुने उल्लेख गरिएको छ लगाउने नियमलाई झन कडाइ गर्दै अब सुपरमार्केट बाहिर र पार्किगं स्थलमा पनि अनिवार्य गरिनेछ भने विद्यालयमा बस्दा समेत विद्यार्थीहरुले अनिवार्य मास्क लगाउनुपर्ने भएको छ।

यसअघि सुपरमार्केटभित्र, सार्वजनिक सवारी साधनमा र विद्यालय हाताभित्र मास्क लगाए हुने नियम रहेको थियो । पसल र ठूला सुपरमार्केटमा प्रति २५ वर्ग मिटरमा १ जनाका दरले मात्रै ग्राहकलाई प्रवेश गराउन आग्रह गरिएको छ ।

यसैगरी क्रिसमस र नयाँ बर्षको लागि डिसेम्बर २३ देखि जनवरी १ सम्म केही खुकुलोपन गरेपनि बढीमा १० जनामात्र भेटघाट गर्न दिने तर आतिसबाजी गर्न नदिने भएको छ । धेरै संख्यामा क्रिसमस मनाएमा लगत्तै सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने जर्मन समाचार माध्यमहरुले जनाएका छन्।

यसैबीच बायोनटेक र फाइजरले निकालेको भ्याक्सिन सकभर क्रिसमस अगावै प्रयोगमा ल्याइने गरी तयारी थालिएको अधिकारीहरुले बताएका छन् । आआरडे मिडियाका अनुसार पहिलो चरणमा डिसेम्बरमै बृद्धबृद्धा र जोखिम समुहमा वितरणको तयारीको लागि प्रयास भैरहेको छ।

पहिलोपटक निकालेको भ्याक्सिन भएकाले धेरैमा साइड इफेक्ट हुने हो कि भन्ने डर भने यथावत छ । यद्यपि ४३ हजार जनामा गरिएको परीक्षणबाट ९५ प्रतिशत सफलता मिलेकाले धेरै डराउन नपर्ने वैज्ञानिकहरुले बताएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *