कतारी कम्पनीहरुले व्यवस्थित रुपमा श्रमिकहरुको शोषण गरिरहेको खुलासा

डिसी नेपाल
१२ मंसिर २०७७ ११:४६

काठमाडौं। कतारी कम्पनहिरुले श्रमिकहरुको व्यवस्थित रुपमा शोषण गरिरहेको खुलासा भएको छ । कोरोनाभाइरस महामारीका बावजुद कतारी कम्पनीहरुले न्यून ज्याला पाउने श्रमिकहरुको ज्याला र अन्य सुविधावापत करोडौं डलर भुक्तानी नदिएको मानवअधिकारवादी समूह इक्विडेमले गरेको एक अनुसन्धानमा खुलासा भएको हो ।

अरब न्यूजमा प्रकाशित रिपोर्टअनुसार इक्विडेमले हजारौं श्रमिकहरु कोही कुनै सूचना नदिइ निकालिएका, केहीको पारिश्रमिक घटाइएको र केहीलाई बेतलबी विदामा राखिएको, कामबाट निकालिएकाहरुले काम छोड्ने बेला पाउनुपर्ने सुविधा समेत नदिइएको र घर जानका लागि समेत आफैं टिकट किन्न बाध्य पारिएको खुलासा गरेको छ । कतार विश्वका सबैभन्दा धनी मुलुकमध्येको एक हुँदाहुँदै पनि मजदुरहरु महामारीको समयमा खाना नपाएर तथा घरमा पैसा पठाउन नपाएर बस्नुपरेको इक्विडेमले जनाएको छ ।

सर्वेक्षणका क्रममा एक बंगलादेशी सरसफाइकर्मीले ४ महिनादेखि तलब नपाएको बताए । उनले भने ‘म यहाँ आफ्नो परिवारको लागि काम गर्न आएको हुँ, आफ्नै पैसामा बसेर भिखारी बन्न आएको होइन ।’ बेलायती व्यवसायिक तथा मानव अधिकार स्रोत केन्द्रले कथित श्रमिकको शोषण भएका घटनामा ८७ प्रतिशत केसहरु ज्याला नदिइएको वा ढिलो दिइएको पाएको छ । यस्ता केसहरुले २०१६ देखि अहिलेसम्म करिब १२ हजार श्रमिकहरुलाई प्रभावित पारेको छ ।

दक्षिण एसियालीको बाहुल्यता रहेको कतारी श्रम बजारमा करिब २० लाख विदेशी कामदारहरु कार्यरत छन् । यीमध्ये कैयौं २०२२ को फिफा विश्वकप हुने स्थानहरुको निर्माणमा खटिएका छन् । श्रम शोषणका घटनाका बावजुद इक्विडेमले कतारका केही कोरोनाभाइरस मापदण्डको भने प्रशंशा पनि गरेको छ । मार्चमा कतार सरकारले क्वारेन्टाइनमा भएका वा सरकारले तोकेको आइसोलेसनमा भएका कामदारलाई तलब दिन कम्पनीहरुलाई निर्देशन दिएको थियो । तर, रिपोर्टले सरकारले लागू गरेका यस्ता नियम र निर्देशनहरुको पालना नभएको देखाएको छ ।

पछि कतार सरकारले महामारीका कारण लगाइएका प्रतिबन्धले बन्द हुन पुगेका कम्पनीहरुलाई कामदारलाई बेतलबी विदामा राख्न वा सम्झौता समाप्त गर्न अधिकार दिएको थियो । तर, यसका लागि कम्पनीहरुले कतार सरकारको श्रम कानुनको पालना गर्दै कामदारलाई सम्झौता अन्त्य गर्नुभन्दा निश्चित समय अगाडि सूचना दिनुपर्ने र सम्झौता अन्त्य गर्दा रामे सुविधा दिएर विदा गर्नुपर्ने प्रावधान थियो ।

इक्विडेमको रिपोर्टमा कैयौं कम्पनीहरुले यी निर्देशनहरु उल्लंघन गरेको वा पालना नगरेको देखिएको छ । एक निर्माण कम्पनीले करिब २ हजार कामदारलाई तत्कालै निकालेको र उनीहरुलाई कुनै प्रकारको सेवा सुविधा नदिइएको कामदारहरुले दावी गरेका छन् । रिपोर्टले भनेको छ ‘धेरै कामदारहरु अत्यन्तै दयनीय र जोखिमपूर्ण अवस्थामा छन् । उनीहरु आफ्नो अधिकार खोज्न समेत नसक्ने अवस्थामा छन् ।’

इक्विडेमका निर्देशक मुस्तफा कादरीले कतारमा ट्रेड युनियन स्थापना गर्ने कानुनी अधिकार नभएकोले मजदूरहरु आफ्ना सेवा सुविधाका बारेमा सरकार र रोजगारदातासँग छलफल गर्न सक्ने स्थितिमा नभएको बताएका छन् । कतार सरकारले भने एक वक्तव्यमा आफ्नो महामारी व्यवस्थापन रणनीति उच्चतम अन्तर्राष्ट्रिय मापदण्ड, जनस्वास्थ्य नीति र मानव अधिकारको संरक्षण गर्दै अगाडि बढाइएको दावी गरेको छ । वक्तव्यमा अगाडि भनिएको छ ‘कामदारलाई समयमा तलक दिन नसक्ने र कामदारलाई काम छोड्दा पाउने सुविधा नदिने रोजगारदाताहरुलाई भारी जरिवानादेखि कम्पनी संचालनमै प्रतिबन्ध लगाउनेसम्मको अनुशासनको कारवाही गरिएको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *