हुम्लामा एक वर्षपछि पुनः उडान शुरु

डिसी नेपाल
२२ मंसिर २०७७ १९:१६

सिमकोट । नेपाल वायुसेवा निगमको हुम्ला उडान सोमबारदेखि पुनः सञ्चालनमा आएको छ ।

कर्णाली प्रदेशको जुम्ला र रुकुममा नियमित उडान भर्दै आएको सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले हुम्लामा झण्डै एक वर्षपछि सोमबारदेखि उडान गरेको हो । नेपालगञ्जबाट हुम्लाका लागि हप्ताको एकपटक उडान गर्ने भएको हुम्ला स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिए ।

दुई वर्षमुनिका बालबालिका तथा विद्यार्थीलाई परिचयपत्रका आधारमा टिकटमा २५ प्रतिशत छुटको व्यवस्था रहेको उनले बताए । यस्तै वृद्धवृद्धालाई पचास प्रतिशत टिकटमा छुटको व्यवस्था रहेको इञ्चार्ज सुनारले बताए । अन्य नागरिकका लागि हुम्लाबाट नेपालगञ्जको भाडादर रु ६ हजार ३०० रहेको छ भने नेपालञ्जदेखि हुम्लाका लागि रु सात हजार भाडादर कायम गरेको उनले बताए । नेपालगञ्जदेखि हुम्ला पुग्नका लागि निजी एयरलाइन्सहरुले प्रतिव्यक्ति भाडादर रु दश हजारभन्दा बढी लिने गरेका छन् ।

नेपाल एयरलाइन्सले हुम्लाका हप्ताको एक, जुम्लामा हप्ताको दुई र रुकुममा एक दिन उडान गर्दै आएको छ । हुम्लामा यात्रुको सङ्ख्या हेरेर उडान तालिका थप्न सकिने भएको छ ।

नेपाल एयरलाइन्सले हुम्लामा उडान गरेपछि यहाँका नागरिकले सहुलियत भाडादरमा जिल्लाबाहिर आवतजावत गर्न पाएकोमा खुशी भएका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *