मलेसियामा नेपाली अप्रवासीले मनाए आप्रवासी दिवस

डिसी नेपाल
३ पुष २०७७ २१:०५

क्वाललम्पुर। विश्वभरका आप्रवासीहरुले साझा कार्यक्रमको रुपमा मनाउने गरेको विश्व आप्रवासी दिवस मलेसियामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। पीएनसीसी मलेसियाले आयोजना गरेको विश्व आप्रवासी दिवस कार्यक्रममा मलेसियाका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत नेपाली राजदूतावासका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो।

सन् २००० डिसेम्बर १८ तारिखलाई आधिकारिक मिति तोकिएर शुरु गरिएको विश्व आप्रवासी कार्यक्रम विश्वभरका श्रमिकहरुले विशेष दिनको रुपमा मनाउने गरेका छन्। आफ्नो देश छाडेर अर्को देशमा आप्रवास भई कार्यरत विशेष गरि श्रमिकहरुले आफ्नो हक अधिकार तथा कर्तव्यको बिषयमा छलफल तथा बिभिन्न कार्यक्रम गरि मनाउने गरिएको हो।

कोरोना महामारीका कारणले धेरै मानिसहरु उपस्थित गराउन नसकिएको पीएनसीसीका मलेसिया संयोजक मनोज चापागाईले बताए। उनले पीएनसीसीले मलेसियामा एक मध्यस्थकर्ताको रुपमा श्रमिक र नेपाली राजदूतावासका बीच काम गर्ने माध्यम रहेको बताउदै श्रमिकहरुलाई धेरै भन्दा धेरै सहयोग गर्न मलेसियामा रहेका धेरै संघ संगठनहरु एकजुट भएर लाग्नुपर्ने बताए।

कार्यक्रममा जीवन देवान गाउँलेले मलेसियामा धेरै श्रमिकहरुको समस्याको प्रकृति उस्तैउस्तै देखिए पनि ति मध्ये कत्तिको उद्धारहरु भएको छ भन्ने कुराको नेपाली राजदूतावासले प्रगति विवरण उपलब्ध गराइदिए राम्रो हुने बताए।

त्यसैगरि कार्यक्रममा एनआरएन केन्द्रीय सल्लाहकार शंकर पौड्यालले कोरोना महामारीको समयमा प्रायः सबैलाई नै अप्ठ्यारो परेको भएता पनि सकेसम्म बढी पीडितहरुलाई सबै मिलेर सहयोग गर्नुपर्ने धारणा राखेका थिए। उनले मलेसियाले गरेको प्रगतिमा पनि आप्रवासी श्रमिकहरुको महत्वपूर्ण भूमिका रहेको बताए।

एनआरएन मलेसियाका प्रथम उपाध्यक्ष सुन्दर आलेले कार्यक्रममा बोल्दै एनआरएन मलेसियाले कोरोना महामारीको समयमा एनआरएन मलेसियाले आफ्नै कोषबाट मलेसियाका नेपाली श्रमिकहरुलाई सकेको सहयोग गरेको र अहिले अन्तर्राष्ट्रिय श्रमिक संगठनबाट आएको बजेट एउटा छुट्टै कार्यदल बनाएर श्रमिकहरुकै हितमा खर्च गरिरहेको बताए।

कार्यक्रममा नेपाली राजदूतावासका श्रम कन्सुलर दीपक ढकालले आप्रवासको इतिहास र वर्तमानको अवस्थाको बारेमा जानकारी गराउँदै संसारभर आप्रवासको कारणले विविधता देख्न पाइएको र यति चाडो प्रगति गर्न सकेको बताए।

उनले अहिले संसारभर ५० लाखको हाराहारीमा नेपालीहरु आप्रवासी रहेको र ति आप्रवासी नेपालीहरुकै कारणले नेपालमा विश्वका विविधता बारेमा जानकारी पाइएको पनि बताए। त्यसैगरि हाल मलेसियामा टीपोट रहेका २ लाख ९८ हजार झन्डै ३ लाख नेपाली श्रमिकहरु कार्यरत रहेको जानकारी गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *