अनेसासद्वारा अन्तर्राष्ट्रिय कविता प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समिति तथा अनेसास नेपालले अन्तर्राष्ट्रिय कविता प्रतियोगिता २०२० का विजेताहरुलाई पुरस्कार प्रदान गरेको छ। विजेतालाई आयोजक अनेसास केन्द्रीय कार्यसमिति र अनेसास नेपालले पुरस्कार वितरण गरेका हुन्। प्रज्ञाभवन कमलादीमा आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.विष्णुविभू घिमिरेले पुरस्कार प्रदान गरेका थिए।
प्रतियोगितामा विराटनगरकी राधिका गुरागाईंको ‘इन्द्रेणी सपनाहरू’ प्रथम भएको थियो भने उदयपुरका जीवन आरोहीको ‘निमन्त्रणा’ द्वितीय र झापाका केशव भट्टराईको ‘पर्खाई’ले तृतीय स्थान हासिल गरेको थियो। त्यस्तै, खोटाङका शुभचन्द्र राईको ‘कथाको पात्र’ र अमेरिकाको मिजौरी निवासी कल्पना तामाङको ‘विभेदको पानी’ शीर्षकका कविताले सान्त्वना स्थान प्राप्त गरेको थियो।
प्रतियोगितामा क्रमशः प्रथम कवितालाई नगद पाँच सय, दोस्रोलाई तीन सय, तेस्रोलाई दुई सय र चौथो र पाँचौ हुनेलाई एक–एक सय अमेरिकी डलर र प्रमाणपत्र प्रदान गरिएको थियो। पुरस्कार वितरण कार्यक्रममा कल्पनाबाहेक सबै उपस्थित थिए। कल्पनालाई अमेरिकामै पुरस्कार प्रदान गरिने आयोजक अनेसासले जनाएको छ।
सो प्रतियोगितामा प्रथम पुरस्कारको रकम बीओटी सदस्य तीर्थराज अधिकारी, दोस्रोको अनेसास पूर्व उपाध्यक्ष भीमसेन सापकोटा, तेस्रोको लागि वर्तमान अध्यक्ष प्रकाश पौडेल माइला र चौथोको लागि वरिष्ठ उपाध्यक्ष गोवर्धन पूजा र पाँचौको लागि कार्यसमिति सदस्य निजानन्द मल्लले प्रायोजन गरेका थिए।
प्रतियोगिताको निर्णायकहरुमा क्रमशः वरिष्ठ कवि मातृका पोखरेल, प्राज्ञ डा.देवी नेपाल र समालोचक ज्ञानु अधिकारी रहेका थिए। उनीहरुलाई सोही कार्यक्रममा प्रमाणपत्र र पारिश्रमिक प्रदान गरिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment