मृत्यु भएको महिना बितिसक्यो, घर जाने पालो आएन, २ दर्जन नेपालीको शव मलेसियामा अलपत्र

डिसी नेपाल
१४ माघ २०७७ १३:३२

काठमाडौं। मलेसियास्थित नेपाली दूतावासले नेपालीको शव नेपाल लैजान यहाँको एयरलाइन्सलाई अपिल गरिरहेको जनाएको छ। मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रतिक कार्कीका अनुसार नेपालबाट मृतकका परिवारले दूतावासमा फोन गरी शव कहिले पठाउनुहुन्छ पत्ता लगाइदिनुस् भनेर बारम्बर सोध्ने गरिरहेका छन्।

गत शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको क्वालालम्पुर उडेको नेपाल एयरलाइन्सको विमानले शनिबार एक शवको अस्तुसहित १९ शव काठमाडौं ल्याएको थियो। मृतक परिवारको पीडालाई बुझेर सामाजिक उत्तरदायित्व बहन गरेको भन्दै कार्कीले नेपाल एयरलाइन्सलाई धन्यवाद दिएका छन्। उनका अनुसार मलेसियामा एक महिनादेखिका २४ शवहरु अझै नेपाल लैजान प्रतिक्षामा छन्। तर, अन्य एयरलाइन्सले शवको बाकस राख्ने ठाउँ उपलब्ध गराउन कुनै चासो नदेखाएको उनले जनाए।

फ्रि मलेसिया टुडेसँगको कुराकानीमा कार्कीले हिमालय एयरलाइन्सले एक पटकको उडानमा दुईवटा शवको बासक बोक्न अनुमति दिने गरेको बताए। तर, क्वालालम्पुरबाट काठमाडौंसम्म उडान गर्ने अन्य एयरलाइन्सले भने शवको बाकस ढुवानी गर्न बन्द गरिसकेका छन्।

मलेसिया एयरलाइन्सले आप्रवासी श्रमिकहरुको हितमा विशेष उडान मिलाउने विश्वास लिएको भन्दै उनले भने, ‘नेपाली कामदारहरुले मलेसियामा सडक, भवन, शौचालयलगायत सफा गर्ने, सुरक्षा गार्डको काम गर्ने आदि गर्छन् त्यसको बदलामा यहाँको एयरलाइन्सबाट पनि केहि सहयोगको अपेक्षा र आग्रह पनि गरिराखेका छौं।’ उनका अनुसार गत वर्ष मलेसियामा दुई सय ७५ नेपाली कामदारको मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *