कक्षामै कापीकिताब, ल्यापटप छोडेर फर्किने गरी निस्केका अजय २ हप्तासम्म किन फर्केनन् ?

डिसी नेपाल
२१ माघ २०७७ ११:०६

काठमाडौं। अमेरिकाको न्यूयोर्क शहरबाट जनवरी १९ का दिनदेखि हराइरहेका नेपाली विद्यार्थी अजय साह अझै भेटिएका छैनन् । २२ वर्षका साह ड्रिउ विश्वविद्यालयको कलेज अफ लिबरल आर्टसका जुनियर तथा आवासीय सहायक हुन् । पछिल्लो पटक उनी १९ जनवरीको मध्यरातमा न्यूयोर्क शहरको पेन स्टेशनमा न्यूजर्सी ट्रान्जिट ट्रेनबाट निस्किएको देखिएका थिए । त्यसपछि उनी बेपत्ता छन् ।

उनको ल्यापटप, असाइनमेन्ट र अन्य पढाइका सामग्रीहरु उनको डेस्कमै छाडिएका थिए जसलाई हेर्दा उनी फर्किने गरी बाहिर निस्किएको बुझिने उनका परिवार र साथीहरुले बताएका छन् । न्यूजर्सीको डिजिटल मिडिया एनजे डटकमका अनुसार साहले बेपत्ता भएदेखि सामाजिक संजालमा केही पोस्ट गरेका छैनन् । उनको क्रेडिट कार्ड पनि प्रयोग भएको छैन । पछिल्लो पटक उनको क्रेडिट कार्ड ट्रेन टिकट किन्न प्रयोग भएको थियो जुन ट्रेनबाट ओर्लिएको उनी पछिल्लो पटक देखिएका थिए ।

मोरिस काउन्टी प्रोसिक्युटरको कार्यालयका अनुसार साह न्यूयोर्क गइरहन्थे र उनको टेक्साससँग पनि नजिकको सम्बन्ध थियो । ‘अजय हाम्रो समूदायका चिरपरिचित र महत्वपूर्ण सदस्य हुन् र हामीले उनको खोजीका लागि प्रयास गरिरहेका छौं र उनी ड्रिउमा सुरक्षित फर्किन्छन् भन्ने आशा गरेका छौं’ अजय बेपत्ता भएपछि कलेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *