कुवेतमा पक्राउ परेका सात नेपाली महिला चर्चामा
काठमाडौं। अवैधानिक कार्य गर्दै आएका सात नेपाली महिला पक्राउ परेको घटना अहिले चर्चामा आएको छ। कुवेतमा वैधानिक तरिकाले घरेलु कामदारका रुपमा कार्यरत नेपाली महिलाहरुलाई नै भगाई अवैधानिक कार्य गराउँदै आएका ती सात नेपाली महिलालाई कुवेत पुलिसले पक्राउ गरेपछि उनीहरुको चर्चा अहिले चुलिन थालेको हो।
कुवेतस्थित सुरक्षा विभागले घरेलु कामदारको लागि रोजगार दिने भनेर स्थापित नक्कली कार्यालयमा छापा मार्दा ती महिला पक्राउ परेका हुन्। लाइसेन्स प्राप्त कार्यलयको नाम लिएर आफूले राम्रो ठाउँमा काम लगाइदिने जस्ता कुरा गरी घरेलु कामदार भगाउने र अन्य रोजगारदाताहरुबाट ठूलो रकम लिई बेच्ने गरेको पाइएको छ।
विभागले नक्कली एजेण्टद्वारा बेचिएका कार्यालयमा छापा मार्दा त्यहाँ घरेलु कामदारहरुलाई एजेण्टहरुले भाग्नको लागि विभिन्न कुराहरुको आश्वासन दिने र अन्यत्र काम गरे दोब्बर तलबलगायत धेरै सेवा सुविधाहरु पाइने भन्दै उस्काउने काम गरेको अरब टाईम्स कुवेतमा उल्लेख गरिएको छ।
त्यसरी नक्कली रुपमा कार्यालय चलाउँदै आएका सात जना नेपालीहरुसँगै केही महिला कामदारहरु र केही अनुमतिप्राप्त कार्यालयका प्रतिनिधिलाई समेत प्रहरीले गिरफ्तार गरेको जनाइएको छ। उनीहरुले लामो समयदेखि कुवेतमा अवैधानिक कार्यालय खोलेर, नक्कली एजेण्टद्वारा धेरै नेपाली महिलाहरुलाई बेचबिखन गर्ने कार्य गर्दै आएका छन्।
कुवेतमा उक्त कार्यलाई ठूलो अपराध मानिने गरिन्छ। गैरकानूनी कामदारहरुलाई जुनसुकै समय कुवेत प्रहरीले भेट्टाएमा पक्राउ गरेर देश निकाला गरी आफ्नो देश पठाउने गरेको छ। त्यसरी देश फर्केकाहरुले पाँच वर्षसम्म कुवेत प्रवेश गर्न पाउँदैनन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment