बेलायतमा फ्रन्टलाइनर डाक्टरको लागि समेत ‘हिरो’ बनेका नेपाली जोडी

डिसी नेपाल
३ फागुन २०७७ १४:५९

काठमाडौं। बेलायत कोरोना महामारीबाट नराम्रोसँग प्रभावित भएको छ । त्यहाँका स्वास्थ्यकर्मीहरु महामारीसँग जुध्न संघर्ष गरिरहेका छन् । र, त्यहाँ रहेका नेपाली दम्पतीले ती स्वास्थ्यकर्मीहरुलाई १ लाख खाना खुलाउने लक्ष्य लिएर अगाडि बढेकोमा त्यो लक्ष्य पूरा हुनै लागेको छ । लण्डनमा नेपाली रेष्टुरेण्ड चलाइरहेको यो जोडी महामारीको क्रममा स्वास्थ्यकर्मीलाई १ लाख निःशुल्क खाना दिने लक्ष्यको नजिकै पुगेको प्रेस एसोसिएसनको रिपोर्टमा जनाइएको छ ।

दक्षिणी लण्डनको लेविसह्याममा पानस गोर्खा नामको रेष्टुरेण्ट चलाउँदै आएका सुजन र बन्दना कटवालले नजिकै रहेको युनिभर्सिटी हस्पिटलका एनएचएस स्वास्थ्यकर्मीहरुलाई पहिलो लकडाउन सुरु भएदेखि नै निःशुल्क खाना दिन थालेका थिए । एक वर्षको अवधिमा उनीहरुले स्वास्थ्यकर्मीसहित सामुदायिक केन्द्र, घरबारविहीनको परियोजना र केयर होममा गरी उनीहरुले ८० हजारभन्दा धेरै निःशुल्क खाना बाँडिसकेका छन् । ‘हामी यहाँसम्म आउँछौं भनेर हामीले सोचेका थिएनौं’ ४६ वर्षका सुजनले प्रेस एसोसिएसनसँग भने ‘हामीलाई कल्पना पनि थिएन, यो अभियानले यति काम गर्नेछ ।’

यो जोडीले यो कामको लागि सम्मानसमेत पाइसकेको छ । उनीहरुलाई यो स्वयंसेवी कामको लागि महारानी एलिजाबेथले ‘क्विन्स अवार्ड’ दिइसकेकी छिन् । उनीहरुलाई यो अभियान जारी राख्नको लागि अभिनेत्री जोआन्ना लुम्ले, सेली लिण्डसे तथा स्टाइल काउन्सिलका पूर्व ड्रमर स्टिभ ह्वाइटजस्ता स्टारहरुले पनि आर्थिक सहयोग गरेका छन् । बेलायतमा नेपाली पूर्व गोर्खा सैनिकलाई सहयोग गरेर समेत चिनिएकी अभिनेत्री लुम्लेले गत हप्ता मात्रै पनि कटुवाल दम्पतीको ‘पानस हेल्पिङ ह्याण्ड्स’ अभियानलाई प्रशंशा गर्दै सन्देश पठाएकी थिइन् ।

सुजनका अनुसार सुरुमा लकडाउन भएर व्यवसाय बन्द गर्नु परेपछि उनले सबैभन्दा पहिले सबै भन्द गरेर भाग्ने सोच बनाएका थिए । तर उनकी पत्नीले त्यहाँको समाजले उनीहरुलाई समस्या पर्दा सधैं सहयोग गर्ने गरेको सम्झाउँदै अहिले समाजलाई सहयोग गर्न सुझाव दिएन् । र, यसरी यो यात्रा सुरु भयो । सुजनका अनुसार सुरुमा उनी भाइरसबाट अत्यन्तै डराएका थिए तर पछि अस्पतालमा काम गरिरहेका स्वास्थ्यकर्मीबाट उनले प्रेरणा पाए । ती स्वास्थ्यकर्मीलाई उनी ‘हिरो’ भन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *