ठुलो संख्यामा नेपाली रहेको इराकको कुर्दिस्तानमा एकैपटक कैयौं रकेट आक्रमण

डिसी नेपाल
४ फागुन २०७७ १०:३०

काठमाडौं। ठुलो संख्यामा नेपाली रहेको इराकको कुर्दिस्तान प्रान्तको राजधानी एर्बिलमा एकैपटक कैयौं रकेट आक्रमण भएको छ । आक्रमणका एक जनाको मृत्यु भएको छ र कैयौं घाइते भएका छन् । एक सर्वसाधारण ठेकेदार मारिएको र ५ जना अन्य घाइते भएको बताइएको छ । घाइते हुनेमा एक जना अमेरिकी कोलिसनका सद स्य रहेको ओआइआरका प्रवक्ताको ट्वीटलाई उद्धृत गर्दै स्थानीय मिडिया रुडले लेखेको छ ।

अमेरिकी नेतृत्वको कोलिसन फोर्स अहिले एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलको सैन्य क्षेत्रमा छन् । कोलिसनका प्रवक्ता कर्णेल वायन मारोटोले समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै मारिएका ठेकेदार इराकी नभएको पुष्टि गरेका छन् तर उनी कुन देशका हुन् भन्नेबारे स्पष्ट जानकारी दिन सकेका छैनन् । सुरक्षा स्रोतले रुडलाई बताएअनुसार दुईवटा रकेट आवासीय क्षेत्रमा खसेका थिए । एउटा रकेट नाज सिटी अपार्टमेन्टको भित्तामा लागेको र यो आक्रमणमा नाज सिटीमा रहेको चिनियाँ कन्सुलेटमा क्षति पुगेको बताइएको छ । अर्को रकेट विमानस्थल नजिकै रहेको जनावरको बजारमा खसेको थियो ।

सुरक्षा स्रोतका अनुसार रकेटहरु हम्दानिया जिल्लाको दिशातर्फबाट फायर गरिएका थिए । कुर्दिस्तानको काउन्टर टेरोरिज्म युनिटका अनुसार दुई रकेट एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलमा खसेका थिए र एउटा विमानस्थल माथिबाट गएको थियो । आक्रमण स्थानीय समयअनुसार बेलुकी साढे ९ बजे भएको हो । कुर्दिस्तानका प्रधानमन्त्री मसरोउर बरजानीले आक्रमणको निन्दा गर्दै कुर्दिस्तानका जनतालाई धैर्य गर्न आग्रह गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *