हैदराबादमा नेपाली युवा जोडीको दुर्घटनामा मृत्यु, मदिरा पिएर ट्रक चलाउने चालक फरार

डिसी नेपाल
११ फागुन २०७७ १६:३६

काठमाडौं। भारतको हैदराबादमा नेपाली युवा जोडीको ट्रकले किच्दा मृत्यु भएको छ । सोमबार हैदराबादको अलवलमा ट्रकले किच्दा निर्माण मजदूरको काम गर्ने दम्पतीको मृत्यु भएको हो । पुलिसलाई उद्धृत गर्दै तेलंगना टुडेले लेखेअनुसार ३५ वर्षका रुपलाल भण्डारी र उनकी पत्नी ३० वर्षकी मिना देवी काम सकेर बोलारममा रहेको आफ्नो निवास फर्किने क्रममा बाटोमा हिँड्दै गर्दा दुर्घटना भएको थियो ।

ट्रकका चालकले मदिरा पिएर मनपरी गाडी चलाइरहेको र उनले नेपाली दम्पतीलाई अलवलको शिव मन्दिर नजिकै पछाडिबाट ठक्कर दिएको बताइएको छ । ‘ड्राइभरले नियन्त्रण गुमाए र ट्रक दम्पतीमाथि चढेर अगाडि बढ्यो । उनीहरुको घटनास्थलमै मृत्यु भयो’ पुलिसले भन्यो । पुलिसका अनुसार नजिकै हिँडिरहेका यात्रुहरुले उनहिरुलाई नजिकैको निजी अस्पताल लगेका थिए तर त्यहाँ पुग्दासम्म उनीहरुको मृत्यु भइसकेको थियो ।

पुलिसले लापरवाहीका कारण मृत्यु भएको मुद्दा दर्ता गरेर कारवाही अगाडि बढाएको छ । दम्पतीको शवलाई गान्धी अस्पतालमा पोस्टमार्टमको लागि पठाइएकोमा पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ । दुर्घटनापछि चालक फरार भएको र पुलिसले उनलाई पक्राउ गर्न प्रयास गरिरहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *