भारतमा विष्फोटमा परी एक नेपालीसहित ६ जनाको मृत्यु, प्रधानमन्त्री मोदीले दिए समवेदना

डिसी नेपाल
११ फागुन २०७७ १७:२७

काठमाडौं। भारतमा गेलाटिन विष्फोटमा परी एक नेपालीसहित ६ जनाको मृत्यु भएको छ । भारतको कर्नाटक राज्यको चिकबल्लापुर नजिकै हिरेनागवलीमा ढुंगा उत्खनन स्थलमा भएको विष्फोटमा उनीहरुको ज्यान गएको हो । गएराती मध्यरातमा विष्फोट भएको थियो । प्रारम्भिक रिपोर्टलाई उद्धृत गर्दै डेक्कन हेराल्डले जनाएअनुसार चट्टा फुटाउनका लागि विष्फोट गराउन प्रयोग गरिने गेलाटिन लिएर गएका कामदारले त्यसलाई लुकाउन खोज्दा अचानक विष्फोट भएको थियो ।

मृतकहरु महेश सिंह बोहरा, गंगाधर बाबु, अभिलास नाइक, मुरली कृष्ण, ढुंगा खानीका म्यानेजर उमाकान्त र खानीका सुपरभाइजर रामु छन् । यीमध्ये महेश सिंह बोहरा नेपाली नागरिक हुन् । मृतकहरुको घटनास्थलमै मृत्यु भएको समाचारमा जनाइएको छ । उनीहरुले विष्फोटक लिएर गएको गाडी टाटा एसका चालक मोहम्मद रियाज अन्सारी गम्भीर घाइते भएका छन् र उनलाई अस्पताल लगिएको छ । उनको अवस्था गम्भीर भएको बताइएको छ ।

द हिन्दूका अनुसार घटनामा संलग्न रहेको आरोपमा २ जनालाई हिरासतमा लिइएको छ । गत महिला नजिकैको अर्को ढुंगाखानीमा भएको विष्फोटमा ६ जना मारिएपछि यहाँ गैरकानुनी उत्खनन् र असुरक्षित विष्फोटको विषय चर्चामा आएको थियो । यससँगै पछिल्ला केही दिनमा पुलिसले छापा मारेर केही विष्फोटक जफत गरेको थियो । गएराती पनि पुलिसले छापा मार्ने सूचना पाएपछि खानीका मालिकले यी कामदारलाई विष्फोटक लुकाउन पठाएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै लेखेका छन् ‘कर्नाटकाको चिकबल्लापुरमा भएको मानवीय क्षतिले दुखी भएको छु । मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दछु । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *