नेपाल र ओमानबीच फोहोर व्यवस्थापनसम्बन्धमा छलफल

डिसी नेपाल
२१ फागुन २०७७ १५:१३

काठमाडौं। नेपालका सबै महानगरपालिका र ओमानको फोहोर व्यवस्थापनको क्षेत्रमा काम गर्ने एक सरकार कम्पनीबीच फोहोरमैला व्यवस्थापनबारे अनुभव आदानप्रदान भएको छ। ओमानस्थित नेपाली राजदूतावासले आयोजना गरेको अन्तरक्रियात्मक वेभिनारमा नेपालका ६ वटै महानगरपालिका(काठमाडौं, पोखरा, ललितपुर, विराटनगर, वीरगञ्ज, भरतपुर) र ओमानमा सन् २००९ देखि फोहोर व्यवस्थापनको काम गर्दै आएको सरकारी कम्पनी अल वियाबीच फोहोर व्यवस्थापनका चुनौती र अनुभवको आदानप्रदान भएको हो।

वेभिनारमा ओमानका तर्फबाट इन्जिनियर खामिस अल सियाबीले ओमानले वैज्ञानिक फोहोर व्यवस्थापनका लागि अवलम्बन गर्दै आएको अभ्यास र अनुभव प्रस्तुत गरेका थिए भने नेपालका ६ वटै महानगरपालिकाका तर्फबाट इन्जिनियरहरुले फोहोर व्यवस्थापनका क्षेत्रमा विद्यमान अभ्यास र भविष्यका रणनीतिका सम्बन्धमा चर्चा गरेका थिए।

कार्यक्रममा ललितपुर महनगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले देश र शहरको अत्यावश्यकीय पाटो फोहोर व्यवस्थापनमा यस्ता वेभिनारबाट सरोकारवालाहरुको क्षमता अभिवृद्धि हुने बताए भने अल वियाका कार्यकारी उपाध्यक्ष मोहम्मद सुलेमान अल हार्थीले फोहोर व्यवस्थापनका क्षेत्रमा कुनै पनि सुझाव र सहयोगका लागि आफूहरु तयार रहेको बताएका थिए।

सो अवसरमा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले यस्ता अन्तरक्रियात्मक कार्यक्रमले एकअर्काको अनुभव आदानप्रदान गर्न सहयोग हुने बताएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *