साउदीमा नयाँ नियम लागू, विदेशी कामदारले अनुमति नदिइ काम फेर्न र देश छोड्न पाउने

डिसी नेपाल
२ चैत २०७७ १३:४४

काठमाडौं। नेपालीहरुको रोजगारीको लागि आकर्षक गन्तव्य मुलुकमध्येको उक साउदी अरेबियाले त्यहाँको काफला प्रणालीमा सुधार गरेको छ । अब त्यहाँ काम गर्नका लागि गएका नेपालीसहितका विदेशी कामदारले काम फेर्न र देश छाड्न रोजगारदाताको अनुमति लिनु पर्ने छैन । स्थानीय मिडिया अल अरेबियालाई उद्धृत गर्दै गल्फ न्यूजले जनाएअनुसार सुधारिएको नियम आइतबारदेखि आधिकारिक रुपमा लागू भएको छ ।

गएको नोभेम्बरमा त्यहाँको मानव संसाधन तथा सामाजिक मन्त्रालयले देशको काफला प्रणालीमा सुधारसहित विदेशी कामदारहरुको लागि नयाँ किसिमका शर्तहरु लागू गराउने घोषणा गरेको थियो । सोही घोषणाअनुसार आइतबारदेखि नयाँ नियम लागू भएपछि अब विदेशी कामदारले आफ्नो सम्झौता समाप्त भएपछि रोजगारदाताको अनुमति नलिइ अर्को काम गर्न पाउनेछन् । यसबाहेक निश्चित समय र शर्तहरुको अधिनमा रही कामदारले सम्झौता नसकिँदै पनि काम परिवर्तन गर्न पाउनेछन् ।

विदेशी कामदारहरु अब रोजगारदाताको पूर्व स्वीकृति नलिइ रोजगारदातालाई एक निवेदन र अनलाइन सूचना दिएर साउदी अरेबिया बाहिर पनि जान पाउनेछन् । रोजगारी सम्झौता सकिएपछि पनि कामदारले रोजगारदातालाई अनलाइन सूचना दिएर उसको स्वीकृति बिना नै साउदी छाड्न पाउनेछन् । काफला प्रणाली १९५० को दशकमा अरब देशहरुमा तेल खानी भेटिएपछि यी देशहरुले विदेशी कामदार ल्याउन लागेपछि सुरु भएको थियो । यो प्रणाली अहिले कुवेत, ओमन, कतार र युएइमा पनि प्रचलनमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *