रुपा सुनार र सरस्वती प्रधानबीचको विषय जातीय छुवाछुतको विभेद होइन

डिसी नेपाल
१९ असार २०७८ १०:२१

नेपाल भाषामा ‘नं’ माने फलाम हो भने ‘कःमि’ ले फलामको काम गर्ने कामीलाई जनाउँछ त्यसैले नेवार समुदायमा फलामको काम गर्नेलाई नैनकर्मी भन्दछौं । जगको काम गर्नेलाई जःकमी, सिं अर्थात् काठको काम गर्नेलाई सिंकर्मी, बज्र बनाउनेलाई बज्रकर्मी भनिएझै फलाम गालेर कुटेर कुटो, कोदालो, खुकुरी आदि बनाउनेलाई नःकमिका रूपमा चिन्दछौं ।

त्यसैगरी लुगा सिलाउने दमाईको काम नेवारभित्र कपाली र श्रेष्ठले धानेका छन् भने सुनको काम गर्ने नेवार शाक्य वा बज्राचार्यले गरिरहेको पाईन्छ । आदिकालमा पलाञ्चोके छालाको जुत्ता बनाउने काम तुलाधरहरुले गर्दथे, तामाको काम ताम्राकारले गर्दछन् भने सफाइ आदि कर्म देउला, च्याम्हखलबाट हँुदै आइरहेकै छ ।

यी पेशागत जातीय नश्ललाई नेवार समाजमा छुवाछुत विभेद छैन र यी खस ब्राह्मणको समाजमा जस्तो दलित पनि होइनन् । तर राज्यले एकपक्षीय रूपमा एक समय महिषपाल र मल्लकालीन नायरवंशी राजाका सन्तान खड्गी, लिच्छवस्वंशी पुजारी कुश्ले, देवताका पुजारी देउला , अष्टमातृका देवीकै वंशज च्यामखलः समाजलाई जबर्जस्ती दलित बनाउने दुष्कार्य हुनपुग्यो ।

राज्यसत्ताद्वारा फुटाउ र शासन गरको सूत्र प्रयोग गर्दै मैथली नेवार धोवीलाई पनि दलितभित्र समावेश गराउने कुचेष्टा गरियो । तर हिन्दूभित्र कामी विश्वकर्मा भनी होच्याइने दलित नै नेवार समाजभित्र एउटा सम्मानित प्राविधिक जात छ । नकर्मीलाई दलित भन्ने आँट गर्न सकेनन् र सक्दैनन् पनि ।

नेवार जनसङ्ख्याको हिसाबबाट थोरै भएपनि संस्कारगत रुपमा यति विशाल समुद्र हो कि जहाँ जस्तोसुकै नदीरुपि जात थर पनि नेवार सरोवरमा बिना भेद बग्दछ । जसरी समुद्रमा नदीलाई छुट्याउन सकिदैन, त्यसैगरी नेवारलाई जाति धर्म र नश्ल भेदको आधारमा टुत्र्mयाउन सकिदैन ।

जुन कुरा नेवार समाजभित्र नकर्मी, कपाली, खड्गी, शाक्य, बज्राचार्य, तुलाधर जातिले प्राप्त गरेको स्थानले पनि प्रमाणित गर्दछ। सफाई पेशामा प्रतिबद्ध द्योलाको सात्विक अर्थ देवताका पुजारी हो भने च्याम्हखलः ले अष्ठमातृका गणका बंशज भनिएको तथ्यलाई प्रमाणित गर्दै मच्छेगाउँको बखुँमद अष्टमीको सातगाउँले जात्रामाथ कालीबनाएर भोज खुवाउनु र हाँडिगाउँको टुँडालदेवी जात्रामा देवताको टाउकोमा च्याम्हेलाई राखी खट जात्रा गर्नुले प्रमाणित गर्दछ कि नेवारमा जातीयविभेद छैैन अर्थात श्रमजीविलाई परजीविले छुवाछुत गर्ने संस्कार छैन तर नश्लीय निषेध भने व्यापक छ नेवारमा।

उदाहरणको लागि नेवार पहिचानको प्रतीक जीवित देवी कुमारी छें घरमा फरेन नट इन्ट्रान्स अर्थात विदेशीलाई प्रबेश निषेध भनिएको छ भने तलेजु मन्दिरमा राजा, राष्ट्रपति, प्रधानमन्त्रीलाई पनि प्रवेश गराइँदैन। रञ्जितकार समाजको नेतृत्वमा हुने मजिपालाखे र द्योला समाजको नेतृत्वमा हुने भटिगा आजु लाखे बीच आवतजावत त छोडौं भेटमात्र भएपनि मृत्यु हुने विश्वास गर्दछन्।

द्योलाको कूलपुजामा श्रेष्ठलाई र श्रेष्ठको कूल देवाली पुजामा देउलालाई प्रवेश निषेध गरिन्छ कारण नेवार समुदाय एकै नश्ल एकै धर्म एउटै जात नभएकोले सुँगुर बलि नभइ नहुने र सुँगुर, गाई बलि छुनै नहुने नश्लीय जातिहरु छन्।

त्यसैले प्रवेश निषेध हो यो जातीय विभेद होइन र छैन पनि नेवारमा । नेवार समाजलाई ब्राह्मण, क्षेत्री, बैश्य, शूद्रको नाउँमा वर्गीकरण गर्न सकिँदैन, किनकि नेवार रुपि समुन्द्रमा जुनसुकै नदी नश्ल पनि समाहित हुन्छ र विलिन बन्दछ ।

गतहप्ता घरपति सरस्वती प्रधान र डेरावाल रुपा सुनार बीचको मतभिन्नता पनि बोल्न र बुझ्न नसक्नुको परिणाम नै हो । जसले जे भनेपनि संचारकर्मी कलाकार रुपा सुनार सुँगुर वँदेल… ऐ ऐ खाने, अमुक देवता पुज्ने नश्ल नै हुन । सरस्वती प्रधानलाई छोरी जस्तै लागे पनि उहाँका अजिलाई उनको नीजि घरमा त्यस्तो खाने पुज्ने नश्ललाई राख्न आदिकालीन संस्कारले दिएन।

यदि सरस्वती प्रधानले रुपा सुनारलाई साँच्चैको भेद गर्न चाहेको भए अजिले भनेको भन्दै नभनी पन्छाउन सक्नुहुन्थ्यो । नश्लीय निषेध कति ठिक कति वेठिक त्यो बेग्लै बहसको सवाल होला तर सुनार र प्रधानबीचको मनमुटाव छुवाछुतको विभेद होइन भन्न खोजेको मात्र हुँ। यो संस्कारगत सूक्ष्मताको कुरोलाई जातीय छुवाछुतसँग जोडेर महान दलित मुक्तिका अभियन्ता आहुतीले मार्मिक कविता लेख्नु भएको छ ।

आँट गर, आँखा जुधाउन पुजारी

आँखा जुधाउने आँट गर पुजारी, म २० औं शताब्दीको अछुत हुँ ।

तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ,

ओदानी माथिको कराहीमा पसिनाको सुगन्ध आउँछ ।

आँखा जुधाउने आँट गर धर्माती मान्छे ।

कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर ।

कि मेरो अपमान गर्ने शास्त्रका पाना च्यात्ने या जलाउने आँट गर ।

तिम्रो बस्ती सफा भुइँलाई सुँघ मेरो रगतको गन्ध आउँछ ।

कि मलाई जनावरसँग बाँध र घाँस खुवाउने आँट गर ।

कि तिमी आफूलाई जनावर भन्दा फरक पार्ने साहस गर ।

कि तिम्रो गाँसमा मेरो आँसुको गन्ध छैन भन्ने आँट गर ।

कि मेरो दलित जीवनलाई सम्मान गर्ने साहस गर ।।।

‘नेपालमा वर्णव्यवस्था र वर्ग–सङ्घर्ष’ पुस्तकमा लेखक आहुतीले कवितामा सामन्ती राज्य संरचनाले दलित श्रमजीविमाथि गरिने पशुत्व व्यवहारको अप्रेशन गरेका छन् तर कवितामा नेवार भित्रको नश्लीय निषेधबारे कुनै छलफल हुन सकेको पाइँदैन ।

छुवाछुत र नश्लीय निषेध छुट्टाछुट्टै सवाल हुन् । नश्लीय निषेधको कुरा अदिकालदेखि नेवार समाजमा व्यापक थियो र छ भने हिन्दुस्थानबाट छुवाछुत जातीय, धार्मिक विभेद नेपालमा जयस्थिति मल्ल, शङ्राचार्य र १०४ वर्षीय राणा शासकले लादेको तथ्य पाइन्छ।

हिन्दुस्थानबाट आयातीत छुवाछुत विभेद नेपालमा ई.पू.७००बाट पूरै दक्षिण एशियामा फैलिए । ई.सं. १९४६ देखि १९६६ दलित आन्दोलन छुवाछुत विरूद्धको थियो । सन् १९७२ देखि क्षतिपूर्ति, शिक्षा, स्वास्थ्य, जागिर र राजनीतिमा आरक्षणको माग बन्यो । कम्युनिष्ट नेता रूपलाल विश्वकर्माको नेतृत्वको दलित आन्दोलनले सन् १९८६ देखि राजनीतिक रूप लिएपछि विभेदको कारक हिन्दु खस ५ सरकार र बाहुन ६ सरकारको राजतन्त्र ठहर गरियो ।

भारतका महान दलित नेता डा. भीमराव अम्वेडकरले सन् १९२७ मा अछुत बनाइएका जातिलाई दलित साझा नाम दिई लाखौंलाई बौद्ध धर्ममा दीक्षित गराउनुभयो । यही आन्दोलनले सन् १९६७ मा नेपाल दलित जनविकास परिषद् स्थापित हुन पुग्यो । नेपालमा भने किराँतले साकेला, सिल्लीमा हुने थान पुजामा होस वाथारुको गुरुवा पुजामा, तामाङ गुरुङको पुख्र्यौली पूजामा अन्य जात थरलाई मात्र होइन मूल पुजारी बाहेक एकै दाजुभाई बंशजलाई पनि छुन दिँदैनन् ।

त्यसैगरी खस, राउटे कुसुण्डाको मस्टो पुजा स्थलमा भनौं वा चेपाङ मगरको शिकारी पुजामा कसैलाई भित्राइँदैन भनिएझैं नेवारका त निजी पुजा र देवाली घरमा दलित मात्र होइन नश्ल नमिल्ने बाहुनलाई पनि निषेध गरिन्छ ।

तर दलित आन्दोलनले नश्लीय निषेधलाई पनि जातीय विभेदका रुपमा अपव्याख्या गर्दै कृया प्रतिकृया भैदिदा ‘टाउको दुःखेको औषधि नाइटोमा लाई’को स्थितिमा दलित आन्दोलन जटिल बन्दै गइरहेको पाइन्छ।

भेद गर्नेले पनि कुन ठाउँमा नश्लीय निषेध गर्ने हो भन्ने कूरै नबुझी सार्वजनिक स्थल, धारा कुवा, सार्वजनिक देवस्थलमा भेद गरिदिँदा विद्रोहका आवाजहरु संधै रसरल्ल पोखिरहने स्थितिमा देखिन्छ । खस र मधेसी समुदायभित्रकै दलित मात्र किन संधै जतीय विभेदमा पर्छन त भन्ने तथ्यतर्फ विचार गर्दा निम्नलिखित तथ्यहरु पाइएको छ ।

१) जातीय भेदलाई भाग्यवादसँग जोडेर विभेदलाई विद्रोहमा परिणत गर्न नसक्नु वा नगर्नु,

२) आफ्नो पेशालाई नेवारले जस्तो अत्याधुनिकीकरण गर्नतर्फ पहल नगर्नु ।

३) शिल्पी पेशालाई शिक्षामूलक बनाएर अगाडि नलाग्नु ।

जुन तथ्यलाई बुझेर केही दलित र गैरदलितहरु समेतले छुवाछुत विरोधदेखि विशेषाधिकारसम्मको आन्दोलन थालिए, जसअनुसार:

१) ०३ सालदेखि ०२३ सम्म छुवाछुत विरोध थालनी भयो ।

२) ०२४ सालमा कम्युनिष्ट नेता रूपलाल विश्वकर्माको नेतृत्वमा विभेद विरूद्धको आन्दोलन थालियो ।

३) ०२९ देखि दलितलाई शिक्षा, स्वास्थ्य, सेवा, सुरक्षामा आरक्षणको माग गरियो भने

४) ०४३ देखि दलित आन्दोलनले बामपन्थी राजनीतिको स्वरूप धारण गर्यो ।

५) ०५० सालमा आर्थिक मुक्ति र राजनीतिक अगुवाईको प्रारम्भ । पहाडी र मधेसी ४० लाख दलित

६) राज्यका हरेक निकायमा समानुपातिक समावेशीय नेतृत्वको माग माओवादी जनयुद्ध मार्फत व्यापकता पाएको हो ।

विभेद विरुद्ध बौद्ध, जैन, मुस्लिम, क्रिश्चियन एक भएपछि

जन्मले कोहीपनि ब्राह्मण वा शूद्र हुँदैन, कर्मले ब्राह्मण वा शुद्र बनाउँदछ । गौतम बुद्धद्वारा २६ सय वर्ष अघि नै विभेद विरूद्ध उठाउनु भएको आवाज थियो योे । हिन्दुस्थानमा ई.पू. ७०० बाट प्रारम्भ भएको मानिने छुवाछुत प्रथा नेपालमा लिच्छविकालदेखि भित्रिएको मानिन्छ । छुवाछुत हिन्दुसभ्यता राजा जयस्थितिमल्ल, शङ्कराचार्य र राम शाह हुँदै १०४ वर्षे राणाकालमा झाङ्गिए।

तर राज्यसत्ता नजिकका क्षेत्री ब्राह्मणद्वारा दलित पक्षधर बौद्ध, मुस्लिम, क्रिश्चियनलाई नै अछुतको भेद गरे । तर विभेद विरूद्ध बुद्ध, महाविर, यशु, मोहम्मदका अनुयायीले ऐक्यवद्धता जनाएपछि अल्पमतमा पर्दै गइरहेका हिन्दु मतभित्रै पनि छुवाछुत विरूद्ध आवाज उठ्न थाल्यो । यस्ता सुधारवादी धर्म गुरुहरुमा चौधौं शताब्दीका चैतन्य महाप्रभुले पश्चिमा मुलुकका म्लेच्छेहरूलाई पनि बासुदेव कृष्ण भक्तिमार्गमा लगाए ।

लोकानां तु विवृध्यर्थ मुखबाहु पदतः । ब्राम्हण क्षेत्रीय वैश्य शुद्र च निरवर्तयता ।।

अर्थात लोक वृद्धिको लागि मुखबाट ब्राह्मण, पाखुराबाट क्षत्री, तिघ्राबाट वैश्य र पैतालाबाट शुद्र निस्किएको मनुस्मृतिमा रचिएको ढोङ्गको कारण पनि नेपालमा भेद तथा छुवछुत नीति व्यापक भएको खुल्दछ ।

शक्तिनापि हि शुदे्रेण नकार्यो धन सञ्चयः, शुद्रो हि धनमासद्य ब्राम्ह्णोवनेव वाद्यते ।
विसुब्द्यं ब्राम्ह्ण शुद्रादद्रव्यापादानामाचरेत, नाहितपस्यास्तिकिचित्सर्व भर्तकार्य धनोहिकः।।

सामथ्र्य भएपनि शुद्र (श्रमजीवी)ले धनको सञ्चय नगरोस् किनकि धन कमाए ब्राह्मण (भाषणबाज परजीवी) लाई दुःख दिन्छन् । ब्राह्मणले चाहे शुद्रको धन लुटेरै भएपनि निसंकोच लिनु, शुद्रको आफ्नो सम्पत्ति हुँदैन । यही सूत्रको आधार लिई श्रमजीविलाई शुद्रको कोटीमा राखी शोषण गर्ने काम गरे ।

अविधाश्चैवविद्वांसो ब्राम्ह्ण देवतं महत, प्राणीतश्चा प्राणीन्तश्च तथा
मानिदेवतमहत, दशास्थानानि दण्डस्य मनुः युगब्रवीत ।।

आगो चाहे संस्कारयुक्त वा संस्कारहीन देवता नै हो । त्यसैगरी ब्राह्मण चाहे मूर्ख नै होस् महान् हुन्छ । त्यसैले ब्राह्मण शारीरिक दण्डबाट मुक्त छ । मनुस्मृतिको यही नीतिले धर्मभक्त, गंगालाल र शुक्रराज शास्त्री तीनजना नेवार, दशरथ चन्द खसलाई राणा शासकले हत्या गरे तर टंकप्रसाद आचार्य ब्रह्मण भएकै कारण देश निकाला मात्र गरे । यस्ता भेद प्रथाले राणाकालमा व्यापक झाँगिने मौका त पायो तर उपत्यकावासी नेवाररुपि समुन्द्रलाई खासै प्रभाव पार्न सकेन।

तर नेवार भित्रका पनि व्राह्मणबादी श्रेष्ठहरुले नश्लीय निषेधलाई नै दलित विभेदको रुपमा अपव्याख्या गर्दै राज्यसत्ताका भाइभारदारको नाताको फाइदा उठाउँदै दलित भेद लाद्ने असफल प्रयत्न गर्दै रहे भने तराईका आदिवासी थारुमा चौधरी, गच्छादारको नाउँमा, किरात भित्र किपट उठाउन खडा गरेको पद राईको नाउँमा, तामाङ, गुरुङ, मगर, शेर्पा जातिमा घेवापुजा गर्ने नाउँमा उत्पीडित स्वगोत्रीय ठग्ने च्यापोमा पार्ने र विभेद गर्ने कार्य हुदै आइरहेको पाइन्छ ।

जातीय विभेद अन्य समुदायमा मात्र होइन उत्पीडित दलित भित्रै पनि दमाई भन्दा सार्की ठूलो, कामीभन्दा अरु दलित सानो भन्ने विश्वकर्मावाद व्यापक रुपमा पाइन्छ । समष्टिगत रुपमा भन्नुपर्दा हामीले व्राह्मणवाद पहाडी बाहुनलाई मात्र हेरेर अपव्याख्या गर्नु नै दलित आन्दोलनको कमजोरी हो।

वास्तबमा व्राह्मणवाद भनेको साम्रज्यवादको घरेलु नाउँ हो जुन वाहुनवाद नेवारभित्र स्यस्यःबाद, किरातमा राईकरणको मार, थारुमा थारु खाने थारु र दारु खने थारु, मधेसीमा उच्च घरानिया र पिछडा वर्ग, तामाङ, मगर, गुरुङ, शेर्पामा लामावाद र दलितमा विश्वकर्मावादको रुपमा जवसम्म जीवित रहिरहन्छ तबसम्म शिल्पी श्रमजीविहरु भेद नीतिबाट माथि उठ्नै सक्दैनन्। जवसम्म श्रम गर्ने ठूलो जात र श्रम गराउनेहरु सानो जात भन्ने शिक्षा नीति आउँदैन तवसम्म दलित भेदले निकास पाउनै सकिँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *