हुँदै नभएको हत्या आरोपमा २१ वर्ष जेलमा राखियो, मरेको भनिएको मान्छे जिउँदै भेटिएपछि छुटे

डिसी नेपाल
९ साउन २०७८ १३:५२

काठमाडौं। हुँदै नभएको हत्याको आरोपमा २१ वर्षसम्म जेलमा राखिएका एक शिक्षक रिहा भएका छन् । उनले हत्या गरेको भनिएका मानिस २१ वर्षपछि जिउँदै भेटिएपछि ती शिक्षकलाई रिहा गरिएको हो । ती शिक्षकलाई मेक्सिकोको जेलमा राखिएको थियो । हालै उनले मारेको भनिएका व्यक्ति अमेरिकामा जीवितै भेटिएका थिए ।

द सनका अनुसार निर्दोष भएर पनि जेलमा राखिएका शिक्षक म्यानुएल भाल्दोभिनसले कानुनको कार्यान्वयनमा गम्भीर त्रुटि हुँदा पनि अझैसम्म मेक्सिकोका अधिकारीहरुले आफूसँग माफी नमागेको बताएका छन् । सन् २००० मा मेक्सिकोको टेक्सकोकोमा शिक्षक रहेका भाल्दोभिनसलाई म्यानुएल मार्टिनेज एलिजाल्देको हत्या आरोपमा पक्राउ गरिएको थियो । र, अधिकारीहरुले उनले अपराध स्वीकार गरेको बताएका थिए ।

भाल्दोभिनसलाई ४१ वर्षको जेल सजाय सुनाइएको थियो । २१ वर्षपछि उनले मारेको भनिएका पीडित अमेरिकामा जीवितै भेटिएपछि उनलाई गत हप्ता रिहा गरिएको हो । भाल्दोभिनसले सधैं आफू निर्दोष भएको र आफूलाई गर्दै नगरेको अपराध स्वीकार गर्नको लागि पुलिसले कुटपिट गरेको र यातना दिएको बताउँदै आएका थिए । स्थानीय रिपोर्टका अनुसार भाल्दोभिनसलाई पुलिसले पक्राउ गरेपछि एउटा गोदाममा सिक्रीले बाँधेर झण्ड्याएर कुटपिट, विजुलीको झट्का दिएको र चोट नदेखियोस् भनेर बरफ पानीको जारमा राखेको थियो ।

२००६ मा मेक्सिकोको एक अदालतले भाल्दोभिनसलाई दोषी ठहर गर्न अदालतमा पेश गरिएको शव एलिजाल्देको नभएको डिएनए रिपोर्टका आधारमा ठहर गरेको थियो । यी संगीत शिक्षकले आफू जेलमा रहँदा आफूले कानुनी सहायताको अभावमा स्वतन्त्रता खोसिएका अरु कैयौं मानिस पनि भेटेको बताएका छन् । केसको पुनरावलोकनपछि एक न्यायिक समितिले भाल्दोभिनसलाई तत्काल रिहा गर्न आदेश दिएको थियो । उनले गैरन्यायिक रुपमा थुनामा राखिएको विरुद्ध क्षतिपूर्तिको माग गर्छन् वा गर्दैनन् भन्ने स्पष्ट भएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *