कोरोना खोप लगाएपछि मानिसहरुमा के–के सुधार देखियो ? अध्ययनको नतिजा सार्वजनिक

डिसी नेपाल
११ साउन २०७८ ९:०२

काठमाडौं। कोरोनाभाइरसको संक्रमण रोक्न अहिले सबेभन्दा बलियो हतियार खोपलाई मानिएको छ । देशको ठूलो जनसंख्यालाई खोप लगाएर सबैभन्दा पहिले आफूलाई मास्क फ्रि देश घोषणा गरेको इजरायलले खोप लगाइसकेपछि मानिसमा के–के कुरामा सुधार भयो भनेर अध्ययन गरेको थियो । यहाँको स्वास्थ्य मन्त्रालयले गरेको अध्ययनमा खोप लगाइसकेपछि कोरोनाभाइरसबाट संक्रमित भइहाले पनि ८० प्रतिशत मानिसहरुले अरु मानिसमा भाइरस नसारेको पाइयो ।

इजरायल सरकारले देशका जिम, रेस्टुरेन्ट, इभेन्ट हल र म्युजिक कन्सर्टमा पुगेका मानिसहरुको नमूना लिएर यो अध्ययन गरेको थियो । टाइम्स अफ इजरायलमा प्रकाशित रिपोर्टअनुसार अध्ययनमा खोप लगाइसकेकामध्ये १० प्रतिशतले बढीमा १ जनालाई भाइरस सार्ने गरेको, ३ प्रतिशतले मात्रै २ वा ३ जनालाई भाइरस सार्ने गरेको पाइयो ।

इजरायलमा अहिले यात्राको लागि ग्रिन पास अनिवार्य बनाइएको छ । ठूला–ठूला कार्यक्रममा मानिसहरुको भारी भीड देखिएपछि यो निर्णय गरिएको हो । खोपको २ डोज लगाइसकेका मानिसले ग्रिन पास पाउँछन् । इजरायलमा ठूलो कार्यक्रममा सहभागी हुनको लागि यसरी जारी भएको ग्रिन पास वा ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट देखाउनु जरुरी हुन्छ । सरकारले ग्रिन पासलाई खेलकुद कार्यक्रम, रेस्टुरेन्ट, सभाहल, पर्यटकीय आकर्षणका क्षेत्र र धामिृक क्षेत्रमा पनि लागू गराउने तयारी गरेको छ ।

इजरायलमा अहिलेसम्म सरकारले कोरोना परीक्षण निःशुल्क गर्दै आएको थियो । तर, अब भने यस्तो हुने छैन । प्रधानमन्त्री नफताली बेनेटले अब खोप नलगाएका मानिसहरुले कोभिड परीक्षण गराउन चाहेमा आफ्नै खर्चमा परीक्षण गराउनुपर्ने बताइसकेका छन् । खासमा इजरायलमा १० लाख जनताले खोप लगाउन अस्वीकार गरेका छन् । सरकारले यी मानिसका कारण देशमा संक्रमण बढ्न सक्ने मानेको छ । प्रधानमन्त्रीले जो नागरिक खोप लगाउन चाहँदैनन् उनीहरुका लागि देशका करदाताको पैसा बर्बाद नगरिने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *