‘अभेद्य किल्ला’ पंजशीर तालिबानसामु कति दिन टिक्ला ? के उसले अन्तर्राष्ट्रिय समर्थन पाउला ?

डिसी नेपाल
७ भदौ २०७८ ११:४३

काठमाडौं। तालिबानले अफगानिस्तान कब्जा गरेको छ । तर, देशका ३४ मध्ये ३३ प्रान्त मात्र उसको नियन्त्रणमा छन् । राजधानी काबुलबाट १२५ किलोमिटर टाढा पंजशीर घाटी अझै पनि स्वतन्त्र छ । अफगानिस्तानको यो प्रान्त अझैसम्म तालिबानको हातमा परेको छैन । तर, गएराती तालिबानले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट ट्वीट गर्दै आफ्ना सयौं लडाकु पंजशीर कब्जा गर्न गएको बताएको छ । स्थानीय अधिकारीहरुले प्रान्त शान्तिपूर्ण रुपमा आफूहरुलाई नसुम्पिएपछि कब्जा गर्नको लागि लडाकु पठाइएको तालिबानले बताएको छ ।

पंजशीर घाटी लामो समयदेखि तालिबान विरोधीको गढ रहिआएको छ । सोभियत युनियनविरुद्ध लड्ने मुजाहिदीन नेता अहमद शाह मसुदले यो घाटीलाई आफ्नो गढ बनाएका थिए । २० वर्ष पहिले पनि तालिबानले जब अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको थियो त्यतिबेला पनि पंजशीर घाटी भने स्वतन्त्र थियो । तर, अहिले परिस्थिति बदलिएको छ । तालिबान पहिलेभन्दा बलियो स्थितिमा छ । तालिबानले पंजशीर कब्जा गर्नको लागि घेराबन्दी सुरु गरिसकेको अवस्थामा पंजशीरका लडाकुहरुले कहिलेसम्म तालिबानको सामना गर्न सक्छन् भन्ने सबैभन्दा ठूलो प्रश्न हो ।

अहिले अहमद शाह मसुदका छोरा अहमद मसुदले तालिबानविरोधी झण्डा उठाएर विद्रोहको नेतृत्व गरेका छन् । तर, अहमद मसुदसँग आफ्ना पिताको विरासतबाहेक अर्को कुनै छुट्टै ठूलो पहिचान छैन । उपराष्ट्रपति अमरुल्लाह सालेह पनि यहीँ छन् । पश्चिमी र तालिबान विरोधी सरकारहरुसँग नजिकको सम्बन्ध भएका उपराष्ट्रपति सालेहले मसुदसँग मिलेर तालिबानविरोधी मोर्चा खडा गर्ने कोसिस गरिरहेका छन् । तर, सुरक्षा विश्लेषकहरु भने पंजशीरले तालिबानलाई धेरै टक्कर दिन नसक्ने मान्छन् ।

काबुलमा रहेका तालिकानसँग सम्बन्धित एक सूत्रले भन्यो ‘तालिबानले पंजशीरमा नियन्त्रण गर्न चाह्यो भने पंजशीर धेरै दिनसम्म टिक्न सक्ने छैन ।’ अफगानिस्तानमा रहिसकेका अमेरिकी खुफिया एजेन्सी सीआइए र अमेरिकी सुरक्षा परिषदमा आबद्ध रक्षा विश्लेषक पल डि मिलर भन्छन् ‘मलाई लाग्दैन कि पंजशीरले तालिबानलाई पंजशीर घाटीबाहिर कुनै किसिमको चुनौती दिन सक्छ । धेरै हदसम्म उसले आफ्नो स्वायत्तता कायम राख्न सक्छ ।’

अमरुल्लाह सालेहले तालिबानविरुद्ध बनिरहेको गुटलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन् । तर, मिलर भन्छन् ‘मलाई लाग्दैन कि पंजशीरले कुनै किसिमको सहयोग पाउनेछ । यदि पंजशीरका जनताले विरोध कायम राख्न सक्छन् भने हुन सक्छ उनीहरुले कम दर्जाको अन्तर्राष्ट्रिय समर्थन पाउलान् ताकि अफगानिस्तानमा अल कायदा र अन्य आतंकवादी संगठनमाथि रजर राख्न सकियोस् । कुनै खास अन्तर्राष्ट्रिय समर्थन उनीहरुले पाउलान् भन्नेमा मलाई शंका छ ।’

जर्जटाउन युनिभर्सिटीका सुरक्षा अध्ययनकी प्राध्यापक क्रिस्टिन फेयर भन्छिन् ‘मलाई लाग्दैन कि पंजशीर तालिबानसँग मुकाबिला गर्न सक्छ । अहिले तालिबानसँग भारी मात्रामा अमेरिकी हतियार छ । जसमध्ये ब्ल्याकहक हेलिकप्टर पनि छ । यतिमात्र होइन पाकिस्तानीले पनि निश्चित रुपमा तालिबानलाई सहयोग गर्नेछन् ।’

क्रिस्टिनका अनुसार पंजशीर अहिलेसम्म टिकिरह्यो किनकि उसले धेरै हदसम्म भारत, इरान, ताजकिस्तान र केही अवसरमा अमेरिकी समर्थन प्राप्त थियो । तर, अब अफगानिस्तान तालिबानको हातमा आइसकेपछि स्थिति धेरै हदसम्म बदलिएको छ । अब चीन र रुसजस्ता देश तालिकानको साथमा छन् ।

क्रिस्टिन भन्छिन् ‘अब रुसले तालिबानलाई सहयोग गरिरहेको छ । मलाई शंका छ कि ताजकिस्तान पनि अब यो खेलमा सहभागी हुन चाहनेछ । ताजकिस्तान बिना भारतले सहयोग कसरी पुर्याउँछ ? भारतले ताजकिस्तानको माध्यमबाट अफगान सेनालाई सहयोग पुर्याइरहेको थियो तर मलाई अब यसमा शंका छ ।’

उता अहमद मसुदले भने पंजशीरका लडाकु अन्तिम साससम्म लड्ने बताएका छन् । तर विश्लेषकहरु भने तालिबानमाथि पंजशीरले कुनै किसिमको बढत हासिल नगरेको मान्छन् । यहाँका जनता भने अहमद शाह मसुदको साथमा छन् । अफगानिस्तानका अधिकांश क्षेत्रले नलडेरै तालिबानको अगाडि आत्मसमर्पण गरे तर पंजशीर डटिरहेको छ । यसको कारण बताउँदै क्रिस्टिन भन्छिन् ‘पंजशीरका जनता आफ्नो जमिनको लागि लड्न तयार छन् ।’

विश्लेषकहरु पंजशीर तालिबानविरुद्ध विद्रोहको कुनै ठूलो केन्द्र वा गढ बन्न सक्दैन भन्ने मान्छन् । यसको कारण बताउँदै क्रिस्टिन भन्छिन् ‘अब पंजशीरबाहिर कुनै विरोध बाँकी नै छैन । यस्तो कुनै शक्ति अब अफगानिस्तानमा छैन जो तालिबानको विरुद्ध पंजशीरको समर्थनमा आउन सकोस् ।’ यही बीचमा तालिबानको एक दलले शुक्रबार पंजशीरका प्रतिनिधिहरुसँग वार्ता गरेका थिए । पंजशीरसँग सम्बन्धित केही सूत्रको दावीअनुसार स्थानीय पाकाहरुले रक्तपात रोक्नका लागि अमरुल्लाह सालेहसँग घाटी छोडेर जान भनेका छन् ।

अहमद मसुद तालिबानसँग तालिबान सरकारमा सहभागी हुनको लागि वार्ता त गरिरहेका छन् तर उनले आत्मसमर्पण गरेका छैनन् । पंजशीरको निगरानी गरिरहेका एक सुरक्षा विश्लेषकका अनुसार मसुद सरकारमा ठूलो हिस्सेदारी चाहन्छन् । सूत्रका अनुसार अहमद मसुदले पछिल्ला केही महिनामा हतियार र गोलाबारुद जम्मा गरेका छन् र नयाँ लडाकु पनि तयार गरेका छन् । यदि तालिबान र पंजशीरका लडाकुबीच युद्ध भए रगतको खोलो बग्ने निश्चित छ ।

यही बीच शुक्रबारको घटनाले तनाब अझै बढाएको छ । शुक्रबार पंजशीर समर्थन लडाकुले तालिबानमाथि आक्रमण गरेर तीन छिमेकी जिल्लालाई तालिबानको नियन्त्रणबाट छुटाएका छन् । यो लडाइँमा एक दर्जनभन्दा धेरै तालिबानी लडाकु मारिए र केही पंजशीरका लडाकुको कब्जामा आए । अफगानिस्तानमा जीतको उत्सव मनाइरहेका तालिबानीले यो खबर थाहा पाएपछि उनीहरुको आक्रोश बढेको छ ।

उता तालिबान नेता खलील हक्कानीले भने अहमद मसुदले तालिबानको समर्थन गरेको दावी गरेका छन् । उनले अहमद शाह मसुदलाई सहिद पनि भने । यद्यपि पछि तालिबानले यसको खण्डन गरेको थियो । अहमत मसुदले भन्दै आएका छन् कि यदि कोही अफगानिस्तानमा शक्तिको बलमा कब्जा गर्छ भने पंजशीर उसको विरुद्ध उभिनेछ । अब प्रश्न यो हो कि पंजशीर उभिएको त छ तर हेर्न बाँकी छ कि तालिबानको अगाडि कति समयसम्म टिक्न सक्छ ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *