ब्यङ्ग्य कविताः तिज जात्रा; पोइ बुलोजले निम्ताएको आपत

डिसी नेपाल
१९ भदौ २०७८ २१:५४

लुतो फाल्न पाएको छैन तीज पो शुरु भयो !
हेरेनन् कि क्यालेन्डर कि चाड नै अगि गयो ?

जन्माष्टमी आए सँगै तिज पो लाउथ्यो पहिले!
एती चाँडै आउन थाल्यो के भएर अहिले!

जन्मे कि खै अर्का कृष्ण असारैमा फेरि ?
मनायौ कि तीजलाई फेरि त्यहि तिथीलाइ हेरि ?

टोल छिमेकमा पार्टी चले गीत नि गाइसके
फेसबुक र मिडियामा तीनै छाइ सके

असारे गीत सुन्ने याममा सुन्छु तिजका गीत!
उल्टीयो कि कोल्टे पऱ्यो चाडबाडको रीत ?

बिराला र पिराला रे गीत नि कस्तार कस्ता!
क्यारी होला सुन्नी हेर्नि परिवारमा बस्दा!

तिजका गीतमा पहिला हुन्थे मात्र नारी ब्यथा
अहिले आए गहना र फरियाका कथा !

गितका शब्द कस्ता हुन ती फरिया त्यो सर्नि
झनै माथि तान्न खोज्दा झनै तल झर्नि!

दुइ अर्थी शब्द राख्छन् तीनै मात्र बिक्छन्
शब्द कोष नै खोतलेर त्यस्तै शब्द झिक्छन्

सँस्कृती नै छाडा आयो धप्पै बल्यो कली
तिजको गितको सिर्शक हरे ख्याँस्स पुतली !

उमेर हदको सिमा तोक तिजका गीतमा पनि
बयश्कले मात्र हेर्नु तीजको यो गीत भनि!

रत्यौली र दोहोरी गित भए तिजका गीत
बिर्सिए त्यो रिती स्थिती फेर्दीए त्यो रीत!

महिला मात्र जम्मा भै नाँच गान गर्थे पहिले
लूठो न भा तिजका गित चाँहि आउन छाडे अहिले१

बहुरुपी बहुरङ्गी आ छन् लूठा बनि
बिच-बिचमा हामी पनि नाँच्नु पर्छ भनि

नर हुन कि नारी हुन ती चिन्नु पनि क्यारी ?
मुहार भरि दाह्री जुङ्गा हरमा ला छन् सारी!

सँस्कृती कि बिकृति हो चिन्न गार्हो आज
पहिरन पनि उस्तै अझै छैन शर्म लाज

कहाँ गए तने चोली कठै आज भोलि
औतारी त्यो टालो लाछन् पिठ्यु पुरै खोलि

त्यत्रो छाती ढाक्न कठै चार अँगुलको टालो
बाक्लो हो र त्यहि नि अझ माकुराको जालो!

उल्टो मती भए पछि उल्टै लुगो आयो
अगिल्तिर लाउनि बटन पछिल्तिर लायो

साना छन् बच्चा बच्ची काममा गा छ पोइ
यस्सो बुलोज लाइदेउ भन्ने छैनन् घरमा कोही!

न त मिल्ने एक्लै लाउन न त मिल्ने खोल्न
माफ गर्दिनु चेलीबेटी बाध्य भए बोल्न

ओल्लो घर र पल्लो घर धाछन् गुहार माउन
किन हैछ भनेको त रैछ ब्लाउज लाउन!

तीजका पार्टी कती-कती खाने चिज नि अती
माशु माथि मदिरा छ पिउन सके जति

तीजको दरमा आज कठै आयो माशु जाँड!
तीज हो कि , हो यो कतै गहनाको चाड ?

खुवाउन भनि जानै पर्ने चेलीबेटी लिन
आज आयो अर्को घाँडो तिन्लाइ पुऱ्याइ दिन!

मदिरामा लठ्ठीएका लड्लान कतै भनि
घरै लगि बुझाउ तिन्लाइ अर्को जिम्मा पनि

गहनाको प्रदर्शनी धाकको प्रतिश्प्रधा
आफ्नै ज्यानलाइ जोखिम पारि चोरलाई निम्ता गर्दा

काँहा जाँदो हो बुद्धी बिबेक पढेकैको पनि
तीज लाएसि मेसै पाउन्नन् के ले अन्धो बनि?

के आनन्द दिन्छ त्यसले के नै राम्रो पार्छ
लुटेराले लुट्न त्यहि ज्यानै पनि मार्छ

सजिला नि हुन् र अझ गहना नि कस्ता
तीखा चुच्चा उम्रिएका बनका काँडा जस्ता!

न त दिन्छ शितल कतै न त हर्छ जाडो ?
बिना सित्तै हत्य गरि भिर्छन् त्यस्तो घाँडो

पिठ्यु ढोक्ने टालो छैन छड्के पोते क्यार्नि ?
घुँडा सम्मै लत्रिएको क्यारी होला स्यार्नी!

कुन मन्तरको जन्तर हो त्यो लायौ तिम्ले अनि
त्यो लाए सि छुट पाइन्छ कि जे गरे नि भनि ?

झुम्का पनि अचम्मैका रामलीलाका अरे
तिम्रा लीला देखेर कि राम नि दङ्ग परे ?

तीम्रा धनको तीम्रो मर्जी जे जे घिच गर
बिन्ति छ है नभन्देउ है यसलाइ तिजको दर

( व्यङ्गय कवि नेपाली साहित्यको पहिलो व्यङ्ग्यकाव्यकार समेत हुन उनको’कोइली’व्यङ्ग्यकाव्य प्रकाशित छ)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *