बुधबारकाे माैसम : राति काठमाडौंमा भारी वर्षाको सम्भावना
काठमाडौं । आज बुधबार राति काठमाडौं उपत्यका र त्यस आसपासका क्षेत्रमा भारी वर्षाको सम्भावना छ।
न्यून चापीय प्रणालीका कारण राति उपत्यकामा केही समय भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। ‘आइतबार रातिको जस्तो नभई केही समय वर्षा हुने देखिन्छ,’ उनले भनिन्, ‘लामाे समय पानी नपरे पनि भारी नै हुने सिस्टमले देखाएकाे छ।’
महाशाखाका अनुसार भारतको मध्यप्रदेश र विधार्वा आसपास अवस्थित न्यून चापीय प्रणालीको प्रभाव नेपालमा छ। सोही प्रणालीका कारण गत आइतबार राति काठमाडौं उपत्यका अतिभारी वर्षा भएर बागमती छेउका वस्ती डुबानमा परेका थिए। यसका साथै मनसुनी न्यून चापीय रेखा औसत स्थान नजिक अर्थात् तराईको दक्षिणतिर छ।
महाशाखाले दिउँसो मुलुकका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको आँकलन गरेको छ। त्यसमा पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति भने बागमतीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ, जुन काठमाडौं उपत्यकासहितको क्षेत्र हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment