मुख्यमन्त्री राउतकाे ‘एकलाैटी’ नियुक्ति निर्णयमा कांग्रेस र माओवादीकाे असन्तुष्टि

डिसी नेपाल
२३ भदौ २०७८ ९:२९

जनकपुरधाम। प्रदेश २ सरकारले जनलोकपाल आयोगमा अध्यक्ष र सदस्य नियुक्त गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले मंगलबार साँझ आयोगका अध्यक्षमा रौतहटका कानुन व्यवसायी रामसहाय प्रसाद यादवलाई नियुक्त गरेका हुन्। यसैगरी, जनकपुरधामका राजकिसोर साह र सिरहाकी शोभा महतो सदस्यमा नियुक्त भएका छन्।

यादव जनता समाजवादी पार्टी (जसपा) समर्थक हुन्। सदस्य साह सभामुख सरोजकुमार यादवको प्राविधिक सल्लाहकार थिए भने महिला सदस्य महतो नेकपा एकीकृत समाजजवादी पार्टीका समर्थक हुन्। भ्रष्टाचार न्यूनीकरणका लागि प्रदेश सरकारले जनलोकपाल आयोग गठन गरेकाे हाे।

जनलोकपाल आयोगका पदाधिकारीलाई नियुक्त गरेपछि सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रले असन्तुष्टि जनाएका छन्। राजनीतिक नियुक्तिमा सरकारले साझेदार दलसँग परामर्श गर्नुपर्ने र सहमतिमा नियुक्ति गर्नुपर्ने भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले बताए। आयोगका पदाधिकारीको सपथग्रहणको विषयमा समेत आफूलाई जानकारी नभएकाे पनि उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *