देउवाको जिल्लामा लफडामा शेखरले भने–आफ्नो ठाउँबाट बिरोध गरौँ

डिसी नेपाल
२३ भदौ २०७८ १०:३२

काठमाडौं। नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुरामा अनावश्यक हस्तक्षेप गरेको भन्दै केन्द्रीय सभापतिको आकांक्षी शेखर कोइरालाले आपत्ति  जनाएका छन्।

कोइरालाले बुधबार सामाजिक संजालमा लखेका छन्, ‘नेपाली कांग्रेस डडेलधुराबाट वडादेखि जिल्लासम्म कुनै विवाद नभई केन्द्रमा पठाईएका ४ सय ६० जनाको क्रियाशील सदस्यता हटाई जिल्लाका कुनै निकायमा थाहा नै नभएका ३ सय १२ जनाको नाम थपिनु गलत हो। यो लोकतान्त्रिक प्रकृया हुनै सक्दैन। यसले पार्टी कसरी चलाइँदैछ,भन्ने प्रमाण दिन्छ।’

उनले अगाडि लेखेका छन्, ‘यस सम्बन्धमा जिल्ला कार्यसमितिले केन्द्रवाट खटिइएका निर्वाचन अधिकृतको रोहवरमा ती क्रियाशील सदस्यता नसच्याई वडा अधिवेशन अघि नबढ्ने बताउँदा पनि निर्वाचन अधिकृतवाट आगामी २५ गतेका लागि वडा अधिवेशन आह्वान गरिनु दुःखद छ । सिङ्गो जिल्ला कार्यसमितिले एकै स्वरमा यथास्थितिमा जिल्लामा अधिवेशन हुनै सक्दैन भन्दा भन्दै प्रकृया कसरी अघि बढ्ला र? यस्तो कृयाकलापले क्रियाशील छानविन गर्ने आधिकारिक निकाय र अझ नमिलेका केही जिल्लाको क्रियाशील सदस्य छानविन गरी टुंगोमा पुर्याउन बनेको समितिको विश्वसनियतामा शंका गर्ने प्रसस्त ठाउँ दिएको छ।’

डा.कोइरालाले यो विषयमा आफ्ना भनाइ सार्वजनिक गर्न र क्रियाशील सदस्यताका बारेमा पुनर्विचार गर्न आग्रह गरेका छन्। उनले भदौ १८ गतेका लागि तोकिएको वडा अधिवेशन कतिपय जिल्लामा भएपनि २१ जिल्लाको क्रियाशील सदस्यताको नाम समेत सार्वजनिक गर्न नसकेको स्थितिमा डडेलधुरा घटनाले आफूहरुलाई नराम्ररी झस्काएको जनाएका छन्।

‘यो कतै नेपाली कांग्रेसको महाधिवेशन नगर्ने वहाना त हैन? यसरी महाधिवेशनको प्रकृया पूरा हुन्छ भन्नेमा म विश्वस्त हुन सक्दिन। साथीहरु सबै सचेत बनौं । आफ्नो आफ्नो स्थानबाट विरोध गरौं,’ उनले लेखेका छन्।

आइतबार राति नेपाली कांग्रेस डडेल्धुराको क्रियाशील सदस्यताको नामावली नेपाली कांग्रेसको आधिकारिक वेबसाइटबाट सार्वजनिक भएसँगै प्रधानमन्त्री देउवाको गृहजिल्लामा तीव्र असन्तुष्टि देखिएको छ।

मुलुककै सबैभन्दा जेठो लोकतान्त्रिक दल मानिने कांग्रेसमा विधि र पद्धतीगत ढंगबाट क्रियाशील सदस्यता वितरण हुनुपर्नेमा अनावश्यक हस्तक्षेप भएको भन्दै जिल्लास्तरीय नेता कार्यकर्ताहरुले तीव्र असन्तुष्टि व्यक्त गरेका हुन्।

त्यतिमात्र हैन डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ९ का सभापति नरबहादुर पालको नाम क्रियाशील सदस्यताको सूचीबाट भन्दै कपाल खौरिएर बिरोध गरेको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भयो ।

१२ औं र १३ औं महाधिवेशनबाट लगातार पाल दुई कार्यकालसम्म वडा सभापति रहेर पार्टीमा काम गरे तर यसपालिको अधिवेशनमा उनले नै हस्ताक्षर गरेर पठाएका अरु सदस्यको नाम आयो तर उनको आएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *