कविता : शहर…
शहर खुसीमा झुमेको देखिन्छ
शहर कयौँका रहरमा उमेको देखिन्छ
यता गाउँमा,
गाउँ र लेकका बस्तिहरुमा,
भन्ज्याङ्ग अनि चौतारोहरु भत्किएका छन्।
बुढा बा र आमाका आँखामा,
मलामिको अभाब टड्कारो खड्किएका छन्।
बारीका बाँझा लमतन्ने पाटामा,
नास्पातिको बोट्हरुमा ऐँजेरु मौलाएका छन्।
अनि शहरमा,
नाम्लोको सहारामा बाच्ने बिर्खे,
गाडिको ओत मुनी रात बिताउँदै छ।
कसैका पकेट झिक्न नसकेर झुले,
भोको रात डेन्ड्राइड तानेर गुजार्दै छ
सुत्केरी भएकी तीन महिना नपुग्दै सुस्मा,
रेस्टुराँमा आफैलाइ बिक्रिमा सजाउँदै छ।
अझै,
दश डिजिट्का नम्बरहरु सङ्गै,
कुमारीकाे बाध्यता कल गर्लको नाममा सजेको छ।
विदेसी ब्राण्ड्का राता झोल छर्केर,
कयौं भ्रस्टाचारको सम्पत्ती सुद्दिकरण भएको छ।
चिप्ला कारका काला सिसाले ढाकेर
भित्र–भित्रै निमुखाको न्याय लिलामी गरेको छ।
हो शहर खुशीमा झुमेको देखिन्छ।
शहर कयौंका रहरमा उमेको देखिन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment