कविता : बा र मेरा सपना
पुस माघको कठ्याङ्ग्रीने जाडोमा
बा’ ले एउटा झुत्रो टिसर्टको बाहिरबाट
एउटा मैलो स्टकोट लगाउँथे
त्यो पनि धेरै ठाउमा टालटुल गरेको
त्यो देख्दा भन्ने आँट कहिल्यै आएन
बा…
मलाई चिसोमा ज्याकेट किन्देउ भनेर।
तिमी पूर्णिमाको जून हेरेर मख्ख छौ
जून हेर्दै प्रेमिका सम्झेएको छौ
तर, मेरा बा…
न औँशी
न पूर्णिमा
न जुन
न तारा हेरेर मुस्काउन पाए
बिचरा सधै मेरा सपनाले थिचिएर पिसिएर
न कहिले हाँसे न कहिले रुन नै पाए
हिज रातभर हराएको साथी बिहानै झुल्किन्छ
र निन्द्राले अतृप्त आँखा लठ्ठाउदै
थकित अनि तृप्त स्वरमा यो बोल्दै
बेडमा बर्लङ्ग पल्टिन्छ की
आज बहुत थाक्या छु यार
आज दिनभरी कसैले नउठाउनु है
कठै न…
कहाँ मेरा बा
कहाँ उसका बा
कहाँ म
कहाँ ऊ
कहाँ उसका सपना
कहाँ मेरा सपना
उसका बालाई हरपल धन कमाउनु छ
र
उसलाई हरेक पल जिन्दगी जिउनु छ
अनि
मलाई
बा र मेरा सपना
पुरा गर्नु छ
र
बालाई भन्नु छ
बा…
तिमीले कहिल्यै आफ्ना लागि
सपना देखेनौ अब देख
म छु नी
No ads found for this position

डिसी नेपाल
Facebook Comment