विराट कोहलीले बैंगलोरको कप्तान पदबाट समेत राजीनामा दिन सक्ने

डिसी नेपाल
२ असोज २०७८ १६:०४

काठमाडौं। विराट कोहलीले टि–२० फरम्याटमा भारतको राष्ट्रिय टिमको कप्तानी छोड्ने निर्णय गरेर धेरैलाई आश्चर्यमा पारेका छन् । उनले बिहीबार सामाजिक संजालमार्फत विश्वकपपछि आफू राष्ट्रिय टिमको टि–२० फरम्याटको कप्तान नरहने घोषणा गरे । कोहलीले वर्कलोडलाई कारण देखाउँदै कप्तानी छोड्ने निर्णय गरेका हुन् । ३२ वर्षका उनले ब्याटिङमा केन्द्रित हुने बताएका छन् ।

यो घोषणासँगै कोहली चर्चामा छन् र विज्ञहरुले उनको यो निर्णयबारे फरक फरक कारण बताइरहेका छन् । कोहलीका बाल्यकालका कोच राजकुमार शर्माले पनि यस विषयमा आफ्नो राय राखेका छन् । उनीसँग इण्डिया न्यूज स्पोर्टसले आइसीसी प्रतियोगिता जित्न नसकेका कारण कोहलीले यस्तो निर्णय गरेका हुन् ? भनेर सोधेको थियो । जवाफमा उनले भने ‘कोहलीको दिमागमा यो फ्क्टर त आउँदै आएन होला किनकि कप्तानको रुपमा उनले शानदार काम गरेका छन् ।’

राजकुमारले भने ‘जहाँसम्म आइसीसी प्रतियोगिता जित्न नसकेको कुरा छ, मलाई लाग्दैन कि यो निकै ठूलो ट्याग हो । तपाइँ उनको रेकर्ड हेर्नुस् । उनी सबैभन्दा सफल कप्तानमध्ये एक हुन् । म हरेक फरम्याटको कुरा गर्दैछु । यस्तोमा तपाइँ कुनै कप्तानलाई आइसीसी ट्रफीको आधारमा राम्रो वा नराम्रो भन्न सक्नुहुन्न । कोहलीको रेकर्डले बताउँछ कि उनले एक खेलाडी र कप्तानको रुपमा देशको लागि के गरेका छन् ।’

राजकुमार शर्माले अगाडि कुरा गर्दै कोहलीले रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी पनि छोड्न सक्ने बताए । उनले भने ‘जहाँसम्म आइपीएलको कुरा छ, मलाई लाग्छ समय आएपछि कोहलीले आरसीबीको कप्तानीबाट राजीनामा दिन सक्छन् । उनी ब्याट्सम्यानको रुपमा भने खेलिरहनेछन् । यो उनको लागि राम्रो हुनेछ किनकि यसो गर्दा उनी आफ्नो ब्याटिङमा ध्यान दिन सक्नेछन् र साथमा एकदिवसीय र टेस्ट फरम्याटमा केन्द्रित हुन सक्नेछन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *