कथा : न्यान्सीलाई एक अङ्गालो माया

डिसी नेपाल
९ असोज २०७८ ७:४१

गुड मर्निङ टु यु माइ लब्ली नर्स’। उनको त्यो मेरो अग्रेजी बोल्ने शैलीलाई नक्कल गर्दै बोलेको आवाज कान हुँदै मनमा छुन्छ। मायाले छचल्किएको मनले एक अगालो माया दिन्छु उनलाई ।मेरो आलिङ्कनले उनको मुहारको लालिमा फक्रन्छ। उनको अनुहारमा अुाखा अड्छन्।

झलक्क मेरी आमा देख्छु। आफ्नो सन्तानको बोली सुन्नलाई लालायित उनको कानमा मेरो accent सहित good morning Ms= Nancy को उत्तर विहानीको उषाभन्दा पनि उज्याली भएर दिएकी थिइन् न्यान्सीले। म उनको प्रभातकालीन नर्स उनी मेरी विरामी बस् नाता त्यत्ति हो। तर म सधैं मेरो ड्युटीको सुरुवात नै उनीबाट गर्छु।

अजिबको शान्ति मिल्छ उनलाई सबैभन्दा पहिला भेट्दा! मेरी आमाले जसरी मलाई कुरेर बसेकी छिन् त्यसैगरी कुरिरहेकी छिन उनी आफ्नो सन्तानलाई पनि। एउटै देश, एउटै शहरमा भएर पनि यिनले आफ्नो सन्तानको मुख नदेखेको महिनौ भइसकेको छ। त्यसै त उनका सन्तान विरलै आउछन् उनलाई भेट्न त्यसमाथि महामारीले छेकवार लाएको छ स्वास्थ्यकर्मीबाहेक अरु यो संस्थाभित्र छिर्न पाएका छैनन्।

हाम्रो संस्था उनका लागि घरजस्तै बनेको छ। अनि हामी उनका सबैभन्दा नजिकका नातेदार! त्यसो त यिनी यही नर्सिङ्ग होममा बसेको बर्षौं भइसकेको छ। आफ्नो उमेर, सीप र पसिनाको कुनै पनि लेखाजोखा नै नगरी संरचना गरेको आफ्नो सानो संसार छोडेर उनी यो नर्सिंङ होमको सेवामुखी छानामुनि ओत लागेकी छन्।

सायद मन नै त होला मान्छेलाई खुसी दिन सक्ने। अर्जुनरत्न भिखारी दाइको गीतले भने झै..‘धनले होइन मनले सबै चीज किन्न पाए हुन्थ्यो’।

जब उनको शरीर थोत्रो र जिर्ण हुँदै गयो। मस्तिष्कका नशाहरु पुराना भए खिइँदै गए तब उनी यो नर्सिङ होममा आफ्नो स्वास्थ्य, खानपान, हासो, खुसी अनि रोदन पोख्न आएकी हुन्। अझै भन्दाखेरि यिनका सन्तानहरुले नै सल्लाहले यहाँ ल्याएर छोडेका हुन्। गोरो छाला,चम्किला आँखा, सुकेका तर गुलाफी ओठ अनि मिलेको नाक नक्सा। गाला र आँखा वरपरको चाउरीमा हजारौ दुख पिडा अनि गुनासो लुकाएर बसेकी न्यान्सी मलाई देख्ने बित्तिकै धपक्कै वल्छिन् खुशीले।

लाग्छ हामीबीच मनलाई उज्यालो बनाउने तार जोडिएको छ। सात समुन्द्रपारि मेरी जननी पनि त खुम्चिएर नै बसेकी छिन्। हजारौ दुख पीडा अनि तडप लुकाएर सकेसम्म खुसी देखिन खोज्छिन। माछापुच्छेजस्तै चम्किलो अनुहार बनाउन खोज्छिन। हरेकपटक सगरमाथाको टाउको उठाएर संसारभरि छरिएका सन्तानहरु हेर्छिन्।

अनि आफ्ना पहाड कन्दराको काखमा सन्तानलाई सुस्ताउन नपाउँदा चेपे र मर्स्याङ्दी बनेर आखाबाट बगिरहन्छिन्। उनको सुन्दर शरीर पनि पीर र व्यथाले जीर्ण भएको छ, यीनै न्यान्सीको जस्तो। आफ्ना सन्तानले फर्केर नहेर्दा पनि मायाको दियो बालेर दिन रात कुरिरहन्छिन्। उनका आँखाहरुबाट अनगिन्ति दशैंहरुमा खहरे बगिसकेको छ।

हुन त म पनि कहाँ खुशी छु र? उनको घूर सुंघ्न नपाउँदा! यो साल त आफ्नी आमालाई भेट्न आउँछु भनी बाचा गरेको थिएँ। रमाइला सपनाहरु साँचेको थिएँ। आमासँग धोको पुग्ने गरी बात मार्छु भनी सोचेको थिएँ। उनको आँगनमा फूलेको लालीगुँरासको रंग अलिकति आफ्नो ओठमा लाएर रानीबनको हरिया रुखहरुसँग सास साट्न मन थियो।

त्यो आले भञ्ज्याङ्को वर पिपलको चौतारीलाई एकै छिन अंगालेर मनको पीरहरु पखाल्ने गरी रुन मन थियो। अनि बेनी खोलाको चिसो पानीमा खुट्टा चोपल्दै माछाहरुको प्रेम लीला हेर्न मन थियो। घलांगको बयर, नारेश्वरको सुन्तला, कागती, ओखर अनि काफल आफ्नै हातले टिपेर खान मन थियो। बराहको बाटो हुँदै फूपुहरुको घर ठिंगुरेस्वाह्रा आमडाँडा जान मन थियो।

उखु र बदाम बारीबाटै टिपेर खान मन थियो। दशैमा नयाँ लुगा लगाएर खैरेनी अनि देउराली मामाघर, ठुलीआमाको घर जान मन थियो। मामाघरको लिच्ची फेरि एकचोटि आफ्नै हातले टिपेर खान मन थियो। दशैको रोगटे पिंङमा चढेर कहालिन मन थियो। अनि दशैको दक्षिणा पाँच, दस, बीसका नोटहरु गनेर सय रुपैयाँ बनाउँदा मिलेके खुसी फेरि पनि भोग्न मन थियो।

साच्चै कति खुसी लाग्थ्यो दशैको दक्षिणा सय रुपैया बनाउन पाउँदा पनि। ‘‘‘.. अहिले न सयको महत्व छ न त त्यसले त्यो खुसी दिन सक्छ। सायद मन नै त होला मान्छेलाई खुसी दिन सक्ने। अर्जुनरत्न भिखारी दाइको गीतले भने झै..‘धनले होइन मनले सबै चीज किन्न पाए हुन्थ्यो’।

हो नि त्यति खेरको ५÷१०÷२० रुपैयाँले पनि धेरै कुरा किन्न सकिन्थ्यो जस्तो लाग्छ ‘मनले किन्थ्यो खुशी! You are  my best nurse. You make my day.  म झसंग हुन्छु। अगाडि न्यान्सी मुस्कुराइरहेकी। म त कता कता हराउन पुगेछु। म त काममा पो छु त।

‘…Did you  hear from my son ?’ न्यान्सी सोध्छिन्। उनको छोराले फोन ग र्‍याे कि भनी। उनी प्रत्येक दिन सोध्छिन मलाई उनको सन्ताले फोन गरे कि भनी। पन्ध्र बीस दिनसम्म पनि सन्तानको आवाज सुन्न पाइनन् भने उनी पागलजस्ती हुन्छिन्। रुन्छिन, चिच्याउछिन, रातभरि सुत्न सक्दिनन् । हुन त मेरी आमा पनि बिक्षिप्त हुन्छिन् होला मलाई सम्झेर। टाढा छु देख्न सक्दिनन।

अगाडि हेर्छु न्यान्सी मलाई नै हेरिराखेकी । मसँग कुनै उत्तर हुदैन उनलाई दिन। एक अंगालो माया दिन्छु । फेरि अनि love you Nancy भन्छु उनी त्यही एक अंगालो मायामा र मेरो love you मा उत्तर पाउँछिन् । ओठ थरथर काँप्दै मुस्काउँछिन् Nancy.। दुईवटा गालामा आँखाबाट झरेका मोतीका दाना गुडुल्किन्छन्। म आफ्नो डेक्समा आएर कफीको एक सिप लाउँछु। कति नुनिलो ‘.. आँखाको पानी मिसिएछ कफीमा मेरो पनि सायद।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *