व्यंग्य : जनताको काम कहिले जाला घाम – Dcnepal

व्यंग्य : जनताको काम कहिले जाला घाम

“हामी को हौं हजुरबा?” सँगै सुतेको नातिको बिना सन्दर्भको प्रश्न सुनेर ननिदाए पनि दुवै आँखा थुनेर पल्टेका बुढालाई अचम्म लाग्यो।
“हैन के भन्छ यो?” बुढाले पनि प्रश्न नै गरे र नातितिर कोल्टो परे।

“हामी को हौं, भन्या नि।” बुढातिर फर्कंदै, अलिअलि झर्कंदै र बुढाको अनुहारमा दुवै आँखाले तर्कंदै नातिले पनि अलि ठूलै स्वरमा जवाफ दियो अनि यसपालि चाहिँ बुढाले पक्का पनि जवाफ दिन्छन् भन्ने विचार मनमा लियो।

“तैंले भन्न खोजेको के हो, बुझ्न खोजेको के हो, मैले त्यति राम्ररी बुझिनँ। तँलाई जवाफ नदिए रातभरि सोधेर हैरान खेलाउँछस् र म बुढोको पुरै दिमाग केलाउँछस्। त्यही भएर सुन्, सबैभन्दा पहिले हामी मान्छे हौं। यो देशका बासिन्दा हौं र सबैभन्दा महत्वपूर्ण कुरा हामी सार्वभौम सत्तासम्पन्न जनता हौं।” अलि झर्को माने जस्तो गरेर थोरै चर्को स्वरमा बुढाले जवाफ दिए र अब नाति चुप लागेर सुत्ला भन्ने विचार मनमा लिए।

आफूले औधी माया गर्ने नातिसँगै लामो समयदेखि सुत्ने गरेका हजुरबालाई बेला मौकामा यस्तै के के जाति प्रश्न सोधेर नातिले हैरान पार्छ र उसको चित्त बुझ्दो जवाफ नआएसम्म बुढाको झाँको झार्छ। कहिले काहीँ नातिले सोधेका कुरा बुझाउन नसक्दा आधारातसम्म त्यताको गुनगुन सुनेर वल्लो पल्लो कोठामा सुत्ने परिवारका अन्य सदस्यहरु त्यहाँ सुत्न नपरेकोमा आफूलाई धन्य सम्झन्छन्।

यति सानो छाउरो भएर पनि उसले सोधेका प्रश्नहरुलाई राम्ररी केलाउने हो भने जस्तो तस्तो मान्छेको दिमाग खेलाउने खालको नै हुने हुनाले हजुरबालाई पनि अचम्म लाग्छ। मेरो नातिले यस्तो सोध्छ उस्तो सोध्छ, हरेक कुरामा जानकारी राख्छ, उमेर भन्दा पनि ठूला ठूला कुरा गर्छ र उसले गर्ने कुराहरु निकै उच्च कोटीमा पर्छ भनेर बुढाले पनि चिने जानेका र आफूले मानेकाहरुसित धाक लगाएर बुढाले नातिको समेत इज्जत धानेका छन्। उसले गर्ने कुरा र सोध्ने प्रश्नहरुको आधारमा यो मान्छे भविष्यमा उसका साथी भन्दा निकै माथि पुग्ला जस्तो लागेर बुढा मनमनै मख्ख पर्छन् पनि।

“हामी यस देशका जनता भन्ने त मलाई पनि थाहा छ। तपाईंले त निकै ठूलो कुरा बताए जस्तो पो गर्नुभयो त। हाम्रो कामचाहिँ के हो? ल भन्नोस त हजुरबा।” अलिअलि जिस्के जस्तो र आफूलाई थाहा नभएरै मुखबाट प्रश्न निस्के जस्तो गरेर नातिले फेरि सोध्यो।

आफूले बुझाएको कर अनुसार जनताले सित्तैमा पाउनुपर्ने शिक्षा महंगो शुल्क तिरेर किन्ने हो, स्वास्थ्य सुविधा अझ महंगो शुल्क तिरेर किन्ने हो, न्याय त झन् महंगो शुल्क तिरेर किन्ने हो, सुरक्षा चाहिए पनि महंगो शुल्क नै तिर्ने हो, आवश्यक शिक्षा हासिल गरेपछि जागिर पनि मनग्गे नगद तिरेर मात्रै पाइने हो, जागिरको अबकाश पछि हुने विभिन्न राजनीतिक र अन्य नियुक्तिहरु पनि लिलाम बढाबढमै सम्पन्न हुने हुन् र घुस कमिसन नजराना आदि नचढाइकन जनताका कुनै काम भएको मैले आजसम्म थाहा पाएको छैन

नाति सानो छँदादेखि नै निदाउनु अगाडि यस्तै विभिन्न विषयहरुमा सवाल जवाफ गरेर जिस्कँदै आएको हुनाले उनीहरुको गफमा अनेक विषयहरु निस्कँदै आउने गरेको सबैलाई थाहा छ। अरुले हेर्दा कहिले के कहिले के विषय सोधेर नातिले हजुरबालाई हैरान पारेको जस्तो देखिए पनि नातिको खुसीको लागि बुढाले आफ्नो निद्रा समेत माया मारेको धेरैलाई थाहा छैन। नातिले जहिले जे सोधे पनि त्यसको जवाफ दिन र त्यसबाट सन्तुष्टि लिन बुढा जानेसम्म अनि शरीरले धानेसम्म पछि पर्दैनन्।

“हाम्रो काम के हो भन्ने तेरो प्रश्न हैन त?” नातिको कपाल एक हातले मुसार्दै र सिरक बाहिर परेर अलिअलि चिसो भएको आफ्नो एउटा गोडालाई सिरकभित्र घुसार्दै बुढाले प्रश्न गरे अनि भने “लौ सुन्। हामी सार्वभौम सत्ता र शक्ति आफूमा निहित भएका शक्तिशाली जनता। हामी जनताको सबैभन्दा ठूलो काम भनेको चुनावमा भोट खसाल्नु र आफ्नो क्षेत्रको जन प्रतिनिधिलाई सांसद बनाएर माथि माथिको कुर्सीमा बसाल्नु हो। यति गरिसकेपछि उनीहरुले तोकेको दररेट अनुसार सरकारलाई कर बुझाउनु र अत्यधिक दररेटको कर तिर्न नसकेर आँसुले आँखा रुझाउनु त अझ हाम्रो प्रमुख काम नै भइहाल्यो। छोटकरीमा कुरो बुझिस् त केटा?” नातिलाई निकै ठुलो रहस्य बताए जसरी टाउको हल्लाउँदै सोधे हजुरबाले।

“यसबाट हामीलाई फाइदा चाहिं के हुन्छ त हजुरबा?” नातिले सोध्यो।

“यो एउटा परोपकारको काम भएकोले यसमा हामीले फाइदा हेर्न हुँदैन। एकपल्ट भोट खसालेपछि पाँच वर्षसम्म हाम्रो खासै काम नहुने हुनाले चुनावमा हार्ने जित्ने कसैले पनि त्यो अवधिसम्म हाम्रो खोज खबर केही पनि गर्दैन।” बुढाले अझ थपे अनि अब त नाति सुते हुन्थ्यो भनेर मनमा जपे।

“हैन यत्ति नै हो त हाम्रो काम? हामीलाई विद्यालयमा त जनता नै सर्वेसर्वा हो। देशमा जे हुन्छ सबै जनताको इच्छा र चाहनाबाट मात्र हुन्छ। देशमा हुने सबै परिवर्तनहरु जनताबाट मात्रै सम्भव छ। संसारमा जे जति उथल पुथल र अपत्यारिला राजनैतिक उपलब्धिहरु भए सबै जनताकै कारणबाट मात्रै भएको हो। जनताको सहयोग र समर्थन बेगर कसैले केही पनि गर्न सक्दैन। सबै राजनैतिक दलहरु, सरकार, संसद, अदालत, प्रशासन, सुरक्षा निकाय, देशमा भएका सम्पूर्ण सुविधाहरु, सबै सरकारी गैह्र सरकारी संघ संस्थाहरु, शिक्षा स्वास्थ्य सुविधाहरु आदि जे जति छन् ती सबै जनताका लागि हुन भनेर सरहरुले बताउँछन्। तपाईं भने भोट हाल्नु र कर तिर्नु मात्रै जनताको काम हो भन्नुहुन्छ । कुरा अलि मिलेन नि हजुरबा।”

हजुरबा र आफ्ना शिक्षकहरुको कुरा नमिलेको देखेर अलमलिँदै नातिले आफ्नो जिज्ञासा ब्यक्त गर्‍यो अनि हजुरबाबाट सही जवाफ पाउनेमा भर पनि पर्‍यो।

ल कुरा सुन् बाबु , हजुरबा त आधा उठेर सिरानीपट्टिको भित्तामा अडेस लगाउँदै घाँटीसम्म सिरक ओढेर लामै गफ गर्ने सुरले तयार परे अनि कुरा पनि सुरु गरे “हुन त तेरा सर् हो कि शिक्षकहरुले भनेका सबै कुराहरु सही नै हुन्। गलत होइनन्। सैद्धान्तिक रुपमा त्यो जम्मै ठिक हो।तर व्यवहारिक रुपमा ति कुराहरु लागु भएको अहिलेसम्म मैलेचाहिँ थाहा पाएको छैन।

सबै राजनैतिक दलहरु, अहिलेसम्म बनेका सबै सरकारहरु, भविष्यमा बन्न सक्ने सबै सरकारहरु, सरकारका सबै निकायहरु, विभिन्न संघ संस्थाहरु आदि सबैले जनतालाई नै केन्द्रमा राखेर आफ्ना सबै गतिविधिहरु गरिरहेका हुन्छन् तर पनि जनता चाहिं यसैबाट मरिरहेका हुन्छन् भनेपछि जनताको नाम जपेर कामचाहिं दाम कमाउने मात्रै गर्छन् रे भन्ने सुनिन्छ।

हाम्रो पुस्ताले अलिअलि देखेको राणा शासनमा पनि जनता जनार्दनको नाम जप्ने र राष्ट्रिय ढुकुटीको रकम आफ्नो खातामा थप्ने काम हुन्छ रे भन्ने सुनिन्थ्यो। हामी उतिबेला तिमीहरु भन्दा पनि साना भएकाले त्यति बुझिएको त होइन। अहिले पनि जनतालाई केन्द्रमा राखेर नगद जति आफू मात्रै हसुर्ने पुनीत कार्य उहिलेकै तरिकाले भइरहेको छ रे भन्ने सुन्दा हामी जनता अहिले पनि आनन्दित भएका छौं।” भनिसकेर हजुरबा अलिअलि खोक्न थाले।

हजुरबाका कुरा सुनेर नाति पनि जोसिँदै आधा उठेर हजुरबाले जस्तै सिरानीपट्टिको भित्तामा अडेस लागेर बस्यो र आज हजुरबासित वाद विवाद नै गर्ने सुर कस्यो। वल्लोपल्लो कोठामा सुतेकाले आज यिनीहरुको गुनगुनले लामै समयसम्म निद्रा नपर्ने पक्का गरे अनि हरेक दिन जस्तो आज पनि दुख पाइने भयो भनेर चिन्तामा परे।

“उहिलेको राणा शासन र अहिलेको प्रजातन्त्र, लोकतन्त्र हुँदै आएको गणतन्त्र कसरी एकै किसिमको भनेर भन्नुहुन्छ तपाईं? बुढो हुँदै गएपछि कुन्नि के जाती हुन्छ रे भनेर तपाइं आफैले भनेको सही नै हो जस्तो लाग्यो मलाई त। त्यो बेलाको शासन व्यवस्था, त्यो बेलाका जनताको शैक्षिक स्तर, त्यो बेलाका जनताको राजनैतिक चेतनाको स्तर, त्यो बेला र अहिलेको आधुनिक र विकसित सुविधाहरु सबैलाई विचार गर्दा कुनै हिसाबले पनि तुलना गर्न नमिल्ने कुरालाई जबरजस्ती एउटै हो भन्न कहाँ मिल्छ हजुरबा?

उहिलेका कुरा खुइले, यो त नयाँ जमाना, नयाँ समय, नयाँ युग अझ नयाँ नेपाल हो भन्ने कुरा तपाई जस्ता डेट एक्स्पायर्ड मान्छेले बुझेन भनेर मलाई अचम्म चाहिं लागेको छैन।” नातिले बुढालाई कडै किसिमले दियो र यति भनेपछि बुढा चुप लागेर सुत्छन् भन्ने विचार मनमा लियो।

“तेरा कुरा पनि आफ्नो ठाउँमा ठिकै होला। हामीले देख्दा देख्दै धेरै परिवर्तन भयो। हामीले पनि धेरै आशा गरेका थियौं। तर आशा गरे अनुरुप भएको नपाउँदा अचम्म लागेको मात्रै हो। देश उही हो, जनता उही हुन्, देशको आम्दानी उही हो, प्राकृतिक स्रोत साधनहरु उही हुन्, नेता उनै हुन्, हामी सबैको नियत उही हो, बानि बेहोरा उही हो, नैतिक धरातल उही हो, आर्थिक अनुशासन उही हो, सामन्ति सोच उही हो भनेपछि आधारभूत परिवर्तन त केही भए जस्तो मलाई लाग्दैन।” अलि ठूलो स्वर गर्दै एकै पटकमा हजुरबाले भनि सिध्याए।

पढे लेखेर जान्ने सुन्ने भएको र विद्यालयबाट धेरै पटक राजनैतिक कार्यक्रमहरुमा पनि गएको नाति चुप लाग्ने कुरै आएन अनि उसले पनि हजुरबालाई काउन्टर नदिई धर् पाएन “देशमा भइरहेका यत्रा–यत्रा परिवर्तनहरुलाई नदेख्ने र हामी जनताको काम भनेकै भोट हाल्ने र कर तिर्ने मात्रै हो भनेर सोच्ने तपाईंको पुस्ताले परिवर्तनलाई आत्मसात गर्न सकेको छैन भनेर नेताहरुले भनेको अहिले एकदम सही हो भन्ने मलाई पनि लाग्यो। ल अब तपाइंको भनाइलाई तपाइं आफैले पुष्टि गरेर देखाउनोस त हजुरबा।” नातिले हजुरबासित कस्सिएरै छलफल गर्ने र घरका अरुको समेत निद्रा हर्ने तयारीमा पो लाग्यो नाति केटो त।

“तेरो अगाडि पुष्टि गरेर देखाउन त मेरो के तागत पुग्थ्यो होला र बाबू । बाहिरबाट हेर्दा सबै थोक एकदम परिवर्तन भएको देखिन्छ। तर जनताको स्तरमा कुनै सुधार आएको छैन। देशमा भएका भनिएका ठुला ठूला परिवर्तनले नेताहरुकै आर्थिक हैसियतमा मात्रै ठुलो परिवर्तन आएको छ। जनताको नाममा राजनीतिलगायत सबै कुरा गरेको भने पनि जनताले यसको कुनै अनुभूति गर्न पाएका छैनन्।

आफ्नो दलको अन्ध समर्थन गर्ने, कुरो बुझे पनि र नबुझे पनि आफ्नो दलको उम्मेदबारको मतपेटी मतदानले भर्ने अनि नेताहरुको आह्वानमा जे गर्न पनि अघि सर्नेहरुलाई मात्रै नेताहरुले जनताको गिन्तीमा राख्ने गरेका छन्। नेताहरुले जनताको दर्जा दिए भने जनता नत्र केही न केहीको अवस्थामा परिने र स्तरहीनको तहमा झरिने अवस्था छ। त्यही भएर नै मैले जनताको काम भोट हाल्ने र कर तिर्ने भन्दा माथि छैन भनेको हुं, बुझिस्?” चर्को स्वरमा दिए हजुरबाले पनि।

“यत्ति हो तपाईको तर्क?” नातिले अलि हियाएर सोध्यो।

“ल अझ सुन् । जनताको थप काममा नेताहरुको लागि जुलुसमा गइदिनु, बुझे पनि र नबुझे पनि नेताहरुका भाषण सुुनेर ताली बजाइदिनु, बन्द हडताल आदिलाई चुपचाप लागेर समर्थन गरिदिनु, नेताहरुको आह्वानमा तोडफोड आदिमा सहभागि भइदिनु, नेताहरुको लागि प्रहरीको डन्डा भाटा लात आदि खाएर घाइते वा अंगभंग हुन संधैभरि तयार रहनु, उनीहरुको लागि थुनिन घिसारिन लतारिन सधैँ तयार रहनु, उस्तै पर्दा गोली खान पनि तयार रहनु, हुलमुलमा सहिद हुन तयार रहनु, आवश्यक पर्दा नेताहरुको प्यारो हुन र उपयोगिता सकिएपछि बेवारिस हुन सधैँ तयार हुनु आदि पनि जनताका महत्वपूर्ण कार्यहरु नै हुन भन्न सकिन्छ।” भनेर बुढा एकछिन् रोकिए अनि फेरि बोल्न थाले।

“अझ थप भन्ने हो भने जसले जहिले धम्क्याएर तर्साएर लोभ्याएर वा फकाएर जसरी मागे पनि केही बाधा विरोध नगरिकन आँखा चिम्लेर मागेजति चन्दा दिने, राज्यबाट प्राप्त हुन पर्ने न्युनतम सुबिधाहरु केही नपाउँदा पनि कसैलाई केही नभन्ने, चुनाव अगाडि नेताहरुले गरेका बाचा र प्रतिबद्धता केही पूरा नभए पनि अर्को चुनावसम्म पुरै विर्सिसकेर उही पुरानै लाई चुन्ने, महंगी जतिसुकै बढे पनि कुनै बाधा विरोध नगरिकन खुरुखुरु किनेर सरकारलाई सक्दो सहयोग गर्ने, आफू लगायत आफ्ना छोरी चेलीहरु जतिसुकै असुरक्षित भए पनि केही नबोली बस्ने, करको दर जति सुकै बढेपनि कुनै बाधा विरोध नगरिकन लुसुलुसु तिर्ने, विभिन्न विषयमा राम्रो शिक्षा पाएका, ठिकै शिक्षा पाएका, मुश्किलले शिक्षा पाएका, साधारण लेखपढ मात्रै गर्न सक्ने र निरक्षर आफ्ना छोरा छोरीहरुलाई विभिन्न खालका रोजगारीहरुमा बाध्यतावश विदेश पठाउने, तिनैले आफ्नो ज्यान समेत माया मारेर पठाएको पैसाबाट आफू पालिने र विभिन्न खाले कर तिरेर नेताहरुलाई पनि गर्वको साथ पाल्ने, विदेशमा पसिना बगाएका छोरा छोरीले पठाएको पैसाले बाकस भरौंला भन्ने कल्पनाले आनन्दित भइरहेको बेलामा छोरा छोरी नै बाकसमा प्याक भएर आउँदा एक्लो र निरिह भएर आँसु बगाउने आदि जस्ता काम नै अहिलेलाई हामी जनताका मुख्य कामहरु हुन्। बुझिस् बाबु।” हजुरबाले एकोहोरो बोलेर बल्ल बल्ल अडिए।

“तपाइंले त अति नै भन्नुभयो है हजुरबा। जनताले धेरै कुरा पाएका पनि छन् है। त्यति साह्रो नभन्नोस्।” आधारात भइसकेकोले निद्राले हाइ काड्दै र भित्तामा अढेस लगाउन छाड्दै राम्ररी सिरक ओढेर खुट्टा पसारेर सुत्दै नातिले भन्यो।

“जनताले पाउने र पाएको कुरा खासै केही पनि छैन भने पनि हुन्छ। आफूले बुझाएको कर अनुसार जनताले सित्तैमा पाउनुपर्ने शिक्षा महंगो शुल्क तिरेर किन्ने हो, स्वास्थ्य सुविधा अझ महंगो शुल्क तिरेर किन्ने हो, न्याय त झन् महंगो शुल्क तिरेर किन्ने हो, सुरक्षा चाहिए पनि महंगो शुल्क नै तिर्ने हो, आवश्यक शिक्षा हासिल गरेपछि जागिर पनि मनग्गे नगद तिरेर मात्रै पाइने हो, जागिरको अबकाश पछि हुने विभिन्न राजनीतिक र अन्य नियुक्तिहरु पनि लिलाम बढाबढमै सम्पन्न हुने हुन् र घुस कमिसन नजराना आदि नचढाइकन जनताका कुनै काम भएको मैले आजसम्म थाहा पाएको छैन। नेताहरुलाइ भोट हाल्ने जिम्मेवारी भिरेर र उनिहरुले लादे अनुसार कर तिरेर सहयोग गरेपनि नेताहरुको ब्यवहार चाहिँ जनताको काम कहिले जाला घाम भनेजस्तो मात्रै छ।” भनेर हजुरबा नातितिर बिस्तार फर्केका त नाति भुसुक्क निदाइ सकेछ।

मायालु पाराले नातिको कपाल मुसार्दै र आफ्नो पुरै जिउ पनि सिरकभित्र घुसार्दै बुढा पनि सुते।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो