अमेरिकी शहरलाई ‘बहादुर’ उपहार (भिडियोसहित)

डिसी नेपाल
२५ कार्तिक २०७८ ११:२७

वासिंगटन डिसी। अमेरिकाको ओहायो राज्यको रेनोल्ड्सवर्ग शहरमा बसोवास गर्ने नेपाली भाषी समुदायले नेपाली चाड तिहारको उपलक्ष्यमा स्थानीय शहर प्रशासनलाई ‘बहादुर’ उपहार दिए। नेपाली भाषी भुटानी अमेरिकन समुदायका तर्फबाट सो उपहार तिहारको गोबर्धनपूजाको दिन दिइएको थियो।

‘बहादुर’ उपहार दिइँदैछ भन्ने कुरा कार्यक्रममा सुनिँदा के हो त्यो बहादुर भन्ने कौतुहलता जागेको थियो। उपहार ग्रहण गर्न रेनोल्ड्सवर्ग शहरका मेयर जोसेफ बेगेनी स्वयं उपस्थित थिए। जव उपहार हस्तान्तरको समय आयो त्यसपछि रहस्य खुल्यो त्यो बहादुर भनेको अपराध अनुसन्धानमा प्रयोग हुने ‘के ९ कुकुर’ थियो।

ओहायो राज्यको रेनोल्सवर्ग शहर र आसपास क्षेत्रमा बस्ने नेपाली र नेपाली भाषी भुटानी अमेरिकनहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा बहादुर उपहार पाएका मेयर जोसेफले शहरवासी नेपाली भाषीसमुदायले शहरलाई सुरक्षित राख्न दिएको उपहारप्रति आभार व्यक्त गरेका थिए।

नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा मेयर जोसेफ नेतृत्वको सिटी काउन्सिलले सिटी अफिस प्रांगणमा नै विशेष कार्यक्रमको आयोजना गरेको थियो। सो शहरको काउन्सिलमा नेपाली भाषी भुटानी अमेरिकन भुवन प्याकुर्याल पनि निर्वाचित काउन्सिलम्यान छन्।

अघिल्लो बर्ष नेपाली चाड दीपावलीबारे सिटी काउन्सिलबाट प्रोक्लामेसनसमेत गराउन सफल भएका प्याकुर्यालले यसपल्ट सिटीकै तर्फबाट तिहार मनाउन विशेष समारोहको आयोजना गर्न लगाएका थिए।(हेर्नुहोस् तिहारबारेको विशेष कार्यक्रमको भिडियो पनि)

कार्यक्रममा मेयर जोसेफ र काउन्सिलम्यान प्याकुर्यालले नेपालीहरुको महान चाड तिहारको शुभकामना दिएका थिए भने सेन्ट्रल ओहायो नेप्लिज एशोसिएसन (कोना) का अध्यक्ष एवं ओहायोमा डाक्टरी पेशा गर्दै आएका डाक्टर दामोदर पौडेलले तिहार पर्वका बारेमा उपस्थित अमेरिकीहरुलाई सटिक जानकारी दिएका थिए।

उनले यमपञ्चकका पाँच दिन किन विशेष छन् भन्नेबारे बोलेका थिए। र, सधैं तिहारमा मिठाइसहित विभिन्न परिकार बनाएर छिमेकमा हर्षोल्लासपूर्वक मनाउने गरेकोमा यसपल्ट आफू र पत्नीले स्वस्थ्यको कारण परिकार बनाउन असमर्थ हुँदा अमेरिकी समुदायका छिमेकीले एक घण्टा ड्राइभ गरेर नेपाली पसलसम्म पुगेर मिठाइ किनेर आफूहरुलाई उपहार ल्याइदिएको घटना सुनाएका थिए।

उनले नेपाली र नेपालीभाषी समुदायहरु बसेको ठाउँमा अरु धर्मावलम्बीहरुले समेत नेपाली चाडपर्वमा उत्सव मनाउन थालेको र हार्दिकता देखाउन थालेको भन्दै स्थानीय अमेरिकी समुदायको प्रसंसा गरेका थिए।

हिन्दू धार्मिक विधिपूर्वक मन्त्रोच्चारणसहित शुरु भएको सो कार्यक्रममा कमल सुवेदीले पनि तिहारको महत्वबारे धारणा राखेका थिए। कार्यक्रममा कोनाका तर्फबाट तिहार विशेष नृत्यसमेत प्रस्तुत गरिएको थियो।

भोट गरेर छानियो ‘बहादुर’

सोही विशेष कार्यक्रममा शहरको सुरक्षामा नेपालीभाषी र भुटानी अमेरिकनको योगदानस्वरुप मेयरलाई हस्तान्तरण गरिएको के ९ कुकुर को नाम पनि स्थानीय नेपाली भाषी समुदायका बीच भोट गरेर तय भएको थियो। स्थानीय नेपालीभाषीहरुको कुटी ग्रुपका सदस्यहरुले भोट गरेर बहादुर नाम राखेका थिए।

‘बहादुर’ राख्ने कि ‘शेरे’ राख्ने कि वा अरु केही राख्ने भन्नेबारे नाम जुराएर ती नामहरुमा मतदान हुँदा बहादुर नै राख्ने गरी बहुमत परेको थियो।

‘बहादुर’ राख्ने कि ‘शेरे’ राख्ने कि वा अरु केही राख्ने भन्नेबारे नाम जुराएर ती नामहरुमा मतदान हुँदा बहादुर नै राख्ने गरी बहुमत परेको थियो। सो ग्रुपका एकजना सदस्य वेद प्याकुर्यालले डिसी नेपाललाई दिएको जानकारीअनुसार, स्थानीय नेपालीभाषी रियल्टरहरु र लोन अफिसर्सलगायत सम्मिलित रहेको कुटी ग्रुपले मतदानमार्फत ‘बहादुर’ नाम चयन गरेको हो। नेपाली शक्तिशाली एवं निडरताको पर्याय भएकाले संसारभर बहादुरिताको पहिचान बनाएको गौरवस्वरुप सो नाम राख्ने निर्णय भएको थियो।

समाचारअनुसार, नेपालीभाषी भुटानी अमेरिकनहरुको सो ग्रुपले सिटीलाई कसरी सहयोग गर्ने त भनेर छलफल गर्दा सिटीलाई के ९ कुकुरको आवश्यकता रहेको थाहा भएपछि आपसका रकम संकलन गरेर आठ हजार अमेरिकी डलरमा बहादुर किनिएको थियो। अहिले ‘के ९ बहादुर’ सो शहरको प्रहरी विभागमा कार्यरत छ।

अर्को वर्षबाट तिहारमा बाल्टिमोरका स्कूल विदा
यसैबीच, अमेरिकाको केही ठूला पब्लिक स्कूल सिष्टममध्येको एक बाल्टिमोर काउन्टीको पब्लिक स्कूल सिष्टमले हिन्दूहरुको चाड तिहारमा आगामी बर्षदेखि विद्यार्थीहरुलाई विदा दिने निर्णय गरेको छ।

मेरिल्याण्ड राज्यका डेलिगेट ह्यारी भण्डारीले सामाजिक सञ्जालमार्फत सार्वजानिक गरेको विवरणअनुसार, बाल्टिमोर काउन्टीको स्कूल सिष्टमको नोभेम्बर ९ तारिक दिन बसेको कमिटी बैठकले यस्तो निर्णय गरेको हो। यो निर्णय सन् २०२२ को तिहारदेखि लागू गरिने भएको छ।

डेलिगेट भण्डारीले तिहार चाड मनाउनका लागि विद्यालय विदा गर्नेबारे प्रयत्न गर्दै आएका थिए। विदा दिने निर्णयलाई सार्वजानिक गर्दै भण्डारीले ‘बाल्टिमोर काउन्टीको विद्यालयमा अध्ययनरत यो पर्व मनाउने सबै विद्यार्थी बालवालिकाहरुले तिहार पर्वलाई गौरव र सम्मानका साथ उल्लासपूर्वक मनाउन पाउनेछन्’ भनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *