मिथिलामा विवाहपञ्चमीको उल्लास, मटिहानीमा आज मटकोर

डिसी नेपाल
१९ मंसिर २०७८ २१:०९

काठमाडौं ।विवाहपञ्चमी पर्वको अवसरमा मिथिला क्षेत्र उल्लासमय बनेको छ । मङ्सिर शुक्ल पञ्चमीका दिन त्रेतायुगमा मर्यादा पुरुष श्रीराम र आदर्श नारी सीताको विवाह भएको सम्झनामा मनाइने यो पर्वमा आज मिथिला परम्पराअनुसार जनकपुरमा धनुष भङ्ग सम्पन्न भएको छ ।

यता महोत्तरीको लक्ष्मीनारायण मठमा भने ‘मटकोर’ सम्पन्न गरिँदैछ । सप्ताहव्यापी मनाइने यो पर्वको मुख्य विवाहको दिन भने आउने बुधबार परेको छ ।साताव्यापी मनाइने यो पर्वको पहिलो दिन जनकपुर नगर दर्शन, दास्रो दिन फूलबारी लीला, तस्रो दिन धनुष भङ्ग र स्वयम्वर, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर, छैठौँ दिन विवाह र सातौँ दिन रामकलेवा विधि सम्पन्न गरिने जनकपुरधामको मैथिल परम्परा छ । खासमा यी विधि जनकपुरधाममै सम्पन्न गरिए पनि प्राचीन मिथिलाको हाल प्रदेश–२ मा पर्ने धनुषाबाहेकका अन्य सात जिल्लाका मठमन्दिरमा पनि आआफ्नो सुविधाअनुसार रामजानकी विवाह महोत्सव मनाइन्छ । यसैअनुसार महोत्तरीको मटिहानीमा आज मटकोर मनाइएको हो ।

म्टिहानीको श्री लक्ष्मीनारायण मठ मुलुकभरिकै मठको नायक मानिन्छ । अन्य ठाउँका मठ प्रमुख ‘महन्थ’ भनिँदा मटिहानी मठकालाई भने ‘मानमहन्थ’ भनिन्छन् । मटिहानीमा आज जिल्लाका आसपासका, छिमेक भारतको मधुवनी र सीतामढी जिल्लाका मठबाट पनि साधुसन्त ‘मटकोर’ विधिमा सरिक हुन मटिहानी पुगेका छन् । त्रेता युगमा रामसीताको विवाहका लागि वेदी बनाउन माटो खनिएको विश्वास गरिने मटिहानी–७ स्थित लक्ष्मीसागरबाट आज वैदिक मङ्गलधुनबीच माटो खनेर मठमा ल्याई विवाह मण्डप (वेदी) बनाइएको छ ।

वैवाहिक कार्यक्रममा दुलहा–दुलहीले ‘सातफेरा’ लगाइने विधिमा होम गरिने लावा पनि त्यही माटोबाट बनाइएको चुल्होमा आआफ्ना घरमा दुलहाका फुपू/फुपाजुले भुट्ने चलन पनि छ । वेदी र चुल्होचौकाका लागि माटो खनिने, वेदी बनाइने र सो ठाउँमा मैथिल कर्मकाण्डअनुसार राति गरिने पूजा विधिलाई ‘मटकोर’ भन्ने गरिएको छ । मटिहानीमा आज उल्लासमय वातावरणमा यी विधि सम्पन्न गरिँदैछन् । जनकपुरमा र अन्य ठाउँमा मटकोर सम्पन्न गरिने दिन कहिलेकाहीँ फरक पनि पर्ने गरेको छ । जनकपुरधाममा साप्ताहिक तालिकामा उत्सव मनाइने र अन्य ठाउँमा मटकोर र विवाह विधिमात्र सम्पन्न गरिने परम्पराले विवाहको दिन अघिका विधि फरकफरक दिन पर्ने गरेका हुन् ।

पर्वमा अयोध्याबाट राजा दशरथ जन्ती लिएर आएका सम्झनामा अहिले पनि साधुसन्त जन्तीका रूपमा आउँछन् । यसरी आउने जन्तीको नेपाल प्रवेश नाका मटिहानी नै भएको हुँदा पहिलो स्वागतको अवसर आफूले पाउँदै आएका मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले बताए । “हाम्रो नगरको मुख्य परिचय, पहिचान नै रामायणकालीन जनश्रुतिसँग जोडिएको छ” नगरप्रमुख मण्डलले बताए, “यसैले हामी आफ्ना विकासका सम्भावनालाई धार्मिक पर्यटनसँग जोडेर अघि बढ्दैछौँ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *