भुटानले गरेको जातीय सफायाको मुद्दा अब झन् सशक्त भएर जाग्नेछ : नारायण कटेल, पूर्वकुटनीतिज्ञ, भुटान – Dcnepal

भुटानले गरेको जातीय सफायाको मुद्दा अब झन् सशक्त भएर जाग्नेछ : नारायण कटेल, पूर्वकुटनीतिज्ञ, भुटान

राजा आफैंले थालेको रहेछ यो नेपाली लखेट्ने डिजाइन

नारायण कटेल अमेरिकाको भुटानी नेपाली समुदायका अगुवा हुन्। भुटानको साम्चीमा जन्मेका उनले सन १९८२ देखि १९९१ सम्म भुटानको विदेश मन्त्रालयमा काम गरेका थिए। विदेश मन्त्रालयमै रहँदा कुवेतको नियोग र रोयल भुटनिज एम्बेसी नयाँदिल्ली भारतमा डिप्लोम्याट भएर कटेलले काम गरेका थिए।

१९९० को दशकमा नेपालीभाषी आफ्ना नागरिकलाई दक्षिण भुटानमा रहेका नेपालीभाषीमाथिको अत्याचार, दमनगर्दै देशबाट लखेट्ने क्रमले चरम रुप लिन थालेपछि कटेल राजदूतावासको जागिर छाडेर काठमाडौ गएका थिए। झण्डै एक दशक भुटानी शरणार्थी समस्या समाधानका लागि शुरुमा भुटान नेसनेल डेमोक्रेटिक पार्टी तथा पछि युनाइटेड फन्ट फर डेमोक्रेसीका उनी प्रवक्ताका रुपमा नेपालमा सक्रिय थिए।

भुटानी शरणार्थीको हकहितका अलावा मानव अधिकारको विषयमा ‘एक्टिभिष्ट’को रुपमा काम गर्दागर्दै २००२ मा उनी अमेरिका आएका थिए। हाल अमेरिकाको पेन्सिलिभेनिया राज्यको पिट्सबर्ग शहरमा बस्दै आएका उनीसँग डिसी नेपालका लागि ऋषिराम कट्टेलले अमेरिकामा लिएको अन्तर्वार्ता।

आफ्नो भुटानको पारिवारिक पृष्ठभूमिबारे बताइदिनुस न ?

दक्षिणी भुटानको साम्ची जिल्लाको घुमाउने गाउँमा कृषि तथा ब्यापारमा आश्रित परिवारमा जन्मेको हुँ। हाम्रो तीन पुस्ता भुटानमा थियो। सोलुखुम्बुको नेचाबाट सानै उमेरमा मेरा पिता भुटान पुग्नु भएको थियो। दाजुभाइ ९ जना र ६ दिदीबैनीसहितको ठूलो परिवार थियो।

भुटानमा सरकारी सेवामा प्रवेश गर्न कतिको सजिलो थियो ? नेपालीहरु कतिको थिए त्यो ताका?

दक्षिणी भुटानमा बस्ने नेपालीहरु पढाइमा अगाडि थिए। भारतको सिमाना नजिकै भएका कारण भारत गएर राम्रो शिक्षा लिने नेपाली धेरै थिए। भुटानले दार्जिलिङमा स्कलरसिप दिएर पढ्न पनिप ठाउँथ्यो।

भुटान आफ्नो प्रोपोगान्डा बेच्न सफल भयो।

सरकारी जागिर खान रोयल सिभिल सर्भिस कमिसनमा परीक्षा दिनुपथ्र्यो, त्यसमा पास गरेपछि जागिर पाइन्थ्यो, नेपालमा जस्तो सरकारी जागिर खान गाह्रो थिएन किनकि जागिर खान खोज्नेहरु त्यो ताका कम हुन्थे।

तर मेरो चाहिँ परराष्ट्र मन्त्रलाय भएकाले कमिसनको परीक्षा पास गरेपछि फेरि छुट्टै टेष्टपास गर्नुपथ्यो, सजिलो थिएन। मेरो पालामा नर्थ भुटानबाट एक जना, साउथबाट एउटा जसमा म मात्र थिएँ। म भन्दापहिला ३‐४ जना नेपाली थिए विदेश मन्त्रालयमा।

भुटानको रातो पासपोर्ट भएको मान्छे, आफ्नै देश जान नपाउँदा कस्तो लाग्यो?

आफ्नो जन्मभूमि आफ्नो आमाभन्दा माथि हुन्छ। आफू जन्मेको ठाउ, हुर्केको ठाउँ, टेकेको माटोमा फर्केर जान नपाउँदाको पीडा त शब्दमा कसरी बर्णन गर्न सकिएला र? कुटनीतिक राहदानीको आफ्नै गरिमा र महत्व हुन्छ, यद्यपि हाम्रो फरक परिस्थितिले यस्तो अवस्था आइ दियो।

ठूलो जनसंख्या अमेरिका युरोपमा पुर्नवास भइसक्यो , अब शरणार्थी समस्या समाधान भएको हो?

भएको छैन। यो शरणार्थी समस्या अहिले पनि छ। किनकि भुटानमा अहिले पनि केही त्यस्ता ब्यक्ति छन्, जसका आफन्तलाई भुटानले लखेट्यो। उनीहरुलाई गैरनागरिक जस्तो बनाएको छ। कुनै पनि दिन उनीहरु शरणार्थी हुन सक्छन्। नेपालको शरणार्थी शिविरमा अझैपनि साढे ६ हजार छन्। भुटानमा रहेका ल्होत्साम्पाहरु दोस्रो दर्जाको नागरिक जस्तै छन्।

भुटानमा रहेका ल्होत्साम्पाहरु दोस्रो दर्जाको नागरिक जस्तै छन्।

४ दर्जनभन्दा बढी राजबन्दीहरुको पनि यतिका वर्षसम्म कुनै सुनुवाइ भएको छैन। उनीहरुको तत्काल र निसर्त रिहाइका लागि जोडसँग आवाज उठिरहेका छ। लाखभन्दा बढी भुटानी तेस्रो मुलकमा पुर्नवासित भएपनि भुटानी शरणार्थीको समस्या बाँकी नै छ। मेरो विचारमा जानीबुझीनै शाही भुटानी सरकारले ५० भन्दाबढी बन्दीहरुलाई रिहा गरेको छैन।

नेपालीभाषी भुटानीहरुलाई भुटानबाट खेदिएको बिषय बिर्सिंदै गएको देखिन्छ, यहाँलाई के लाग्छ अब आफ्नो देशले आफ्नै नागरिकलाई लखेटेको बिषय हराउँदै गएको हो?

हराउँदैन। त्यति सजिलै हराउने, बिर्सिएर जाने विषय हैन यो। भुटानबाट लखेटिएकोबारे धेरै जानकार छन्। ल्होत्साम्पाहरुलाई देशबाटै लखेटेर निमिट्यान्न पार्ने भुटान सरकारले नीति बनाएर जम्मा जनसंख्याको करिव १/६ नेपालीभाषीहरुलाई निकाला गरेको थियो।

अहिले युरोप, अमेरिकामा रिसेटल भएकाहरु यहाँका गुणस्तरीय कलेज, विश्वबिद्यालयहरु गुणस्तरीय शिक्षाहासिल गरिरहको छन्। नयाँ पिढीले साच्चिकै धेरै उपलब्धिहासिल गरेका छन्। कति डाक्टर, इन्जिनियर, ब्यापारी, बैज्ञानिक भैसकेका छन्, अरु धेरै यो प्रक्रियामा छन्।

पहिले जस्तो गास बास कपासको समस्या छैन अब, त्यसैले अब यो बिषय बिस्तारै उठ्दैछ। आफ्नो गुमेको देशबारे हामी नेपालीभाषी भुटानीको आउने पुस्ताले पनि आवाज चर्काइरहने स्थिति मैले देखेको छु। यो आजका लागि ढाकेर वा छोपेर हराइहाल्ने मुद्दा होइन, यो जातीय सफायाको इतिहासलाई कहिल्यै भुल्न सकिने छैन। अहिले अबस्था बदलिएको छ, आउँदो समयमा यो मुद्दा प्रखर र घनिभूत भएर जाग्नेछ।

दक्षिणी भुटानबाट १ लाख २० हजार भन्दाबढी नेपालीभाषी लेखेटिँदा बाहिरी विश्वमा यस बिरुद्ध किन आवाज बुलन्द भएन?

यो ८०/९० को दशकमा भएको घटना हो। त्यसबेला भुटानमा राम्रो सन्चार माध्यम छँदै थिएन। बाहीरी मिडियापनि अहिलेजस्तो विकसित नभएको हुनाले बाहिरी जगतमा प्रचार हुन सकेन। तैपनि अन्तर्राष्ट्रिय जगतमा आवाज उठेको हो। तर देश, सरकार भनेको यसै पनि शक्तिशाली हुन्छ ।

त्यसबेला भुटान आफ्नो राज्य संयन्त्रप्रयोग गरेर हाम्रो आवाजलाई दवाउन सफल भएको थियो। संसारले हाम्रो आवाजमाथि पनि पक्षपात ग¥यो। हाम्रो लागि बोली दिने कम थिए। तै पनि केही आवाज चाहिँ उठेको हो, त्यसैले त पूर्णरुपमा जातीय सफाया गर्न नसकेको हो।

के त्यो जातीय सफाया नै थियो ?

आफ्नो कुल जनसंख्याको झण्डै १७ प्रतिशत आफ्ना नागरिकहरुलाई हिंसामा उत्रिएर अनाहकमा बलजफ्ती गरेर निकाला गर्नु जातीय सफाया नै हो। नेपालभाषी मुक्त भुटान बनाउने प्रारुप अनुसार नै त्यो निस्काशन अभियान शुरु भएको थियो। त्यसै कारणले यो खासमै आधुनिक इतिहासमा भुटानभित्र भएको आमजातीय सफाया नै थियो। तर यसको बाबजुद पनि भुटानका प्रमुख दाता देशहरुको सामुहिक हस्तक्षेप र अन्तराष्ट्रिय दबाबका कारणले तेस्रो देश पुनर्बास कार्यक्रम सम्भव भयो।

भारत एउटाशत्ति राष्ट्र भएको कारणले पश्चिमाहरुमा भारतीय विष्लेषणलाई नै हुबहु स्विकार गर्ने प्रचलन रहेको छ।

बहुसंख्यक भुटानी शरणार्थीहरुलाई यो ठुूलो राहत थियो। भुटानले जे चाहेको थियो, त्यो हुन सकेन, अन्तर्राष्ट्रिय दवदवा र नेपाल सरकारले पनि युएनसीएचआरलाई पूर्वी नेपालमा शरणार्थी शिविरहरु खडा गर्न दिने रणनीति अख्तियार गरेको कारणले तानाशाही भुटान सरकारले जातीय संहारको शुरुवाती एजेन्डाले पूर्ण आकार लिन पाएन।

अमेरिका, बेलायतसहितका पश्चिमा देशहरुले नेपालीभाषी भुटानीको मानव अधिकारका पक्षमा किन बोलेनन्?

ह्याप्पी–इन्डेक्सको आत्मरति विश्वसामु फैलाएर भुटानले नेपालीभाषी भुटानीको मानवअधिकार तथा शरणार्थीको मुद्दालाई ओझेलमा पार्‍यो। उनीहरुलाई भुटान सरकारले मख्यै पारेको थियो, भुटानको ग्रस नेशनल ह्यापीनेश फर्मुलाले। अमेरिका युरोपले पनिभुटानको झुटको पुलिन्दालाई सजिलै पत्याइ दियो।

अर्को कुरा भारतले भुटानलाई पुरै आड भरोसा दिएको थियो। भारत एउटा क्षेत्रीय शक्ति भएको कारणले पश्चिमा देशहरु अमेरिका, बेलायत, युरोपियन युनियन, भारतलाई साथ लिएर काम गर्न चाहन्छन्। भुटानको विषय बस्तुमा भारतको धारणा र दृष्टिकोणलाई लगभग समर्थन गर्छन्। उनीहरु भारतलाई चिढाँउन चाहँदैनन्। भारत एउटाशक्ति राष्ट्र भएको कारणले पश्चिमाहरुमा भारतीय विष्लेषणलाई नै हुबहु स्विकार गर्ने प्रचलन रहेको छ।

भुटान एउटा अविकसित, भूपरिवेष्ठित अनि क्षेत्रफलमा पनि सानो देश। अमेरिका, बेलायतजस्ता देशहरुलाई यहाको विशिष्ट बौद्ध संस्कृति र परम्परामा जोगाउनु महत्वपूर्ण लाग्यो। नेपालीहरुको जत्थाले हुलहज्जत गर्दै अधिकारको नाममा भुटानी बौद्ध सभ्यता मेटाउँदै छन् भनेर भुटानी सरकारले अन्तार्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन सफल भयो। भुटान आफ्नो प्रोपोगान्डा बेच्न सफल भयो। त्यसैले भुटानकादाता देशहरुकै सहयोगमा लाख भन्दाबढी जनसंख्या तेस्रो देशमा पुनर्वास भएको हो।

त्यति बेला शरणार्थी समस्या समाधान नहुने एउटा कारण चै नेपालमा बसेका भुटानी नेता÷ पार्टीका कारण हो भन्छन् नि?

त्यो पनि एउटा कारण थियो। भुटानी शरणार्थी नेताहरुले एउटै आवाजमा एक लवजमा आफूमाथि भएको मानवता बिरोधी अपराधलाई अभियानको रुपमा बुलन्द बनाउनै सकेनन्। यस्तो लाग्थ्यो कि भुटानी शरणार्थी नेताहरुको पाराले पश्चिमाहरु दोधारमा परेका छन्।

उनीहरु पार्टीगत स्वार्थमा डुबेका थिए। हाम्रो मुद्दालाई संयुक्त एवं जोडदाररुपमा उठाउनै सकेनन्। तर भुटानले दर्बिलोसँग आफ्नो पक्षपोषण गर्दै गयो र अझै पनि गर्दैछ।

दक्षिणी भुटानमा अझै बाँकी रहेका नेपालीभाषीको बारेमा कतिको जानकार हुनुहुन्छ?

उनीहरुकोे स्थिति त्यस्तै नै छ। परिवर्तन आयो भने देखावटी मात्र। यो जातीय सफाया मानसिकता १९५० को दशकदेखि उनीहरुको मष्तिष्कमा छ। शुरुमा धेरै भुटनिजहरुले विश्वास गरेका थिए, राजाजिग्मे सिंगे वाङचुङलाई। मिसलिडउनका सल्लाहाकारले गरे भनेर। तर अहिले आएर थाहा भयो कि राजा आफैले थालेको रहेछ यो नेपाली लखेट्ने डिजाइन।

आफ्नो गुमेको देशबारे हामी नेपालीभाषी भुटानीको आउने पुस्ताले पनि आवाज चर्काइरहने स्थिति मैले देखेको छु।

उनले गरेको थिएन भने त देश फर्काउन सक्थे नि देश निकाला गरिएका आफ्ना नागरिकलाई। त्यसैले मलाई लाग्छ त्यहाँ कुनै परिवर्तन आएकै छैन। भुटानी समस्या छोडेर अरु सबै कुरा भुटानमा ठिकठाक छ भन्ने लाग्ला तर अझै पनि दक्षिण भुटानमा बसेका नेपालीभाषी भुटानीहरु एक हिसावमा राज्यविहीन अबस्थामा छन्।

भुटानभित्र यी नागरिकको हैसियतमा बेलाबेला प्रश्न चिन्ह लगाइन्छ। र, कुनै पनि बेला देशबाट निष्कासित हुँदैनन् भन्ने कुरामा विश्वस्त हुन सकिने अबस्था छैन। सबै झुट र भ्रमको खेतीमात्र छ भुटानले शाशकले अहिलेसम्म गरेको। अहिलेका राजाले पनि बावुको निर्देशनपालना गर्ने हो आखिर। के आशा गर्नु र भुटानको राजनीतिक सिष्टम निरंकुशबाट प्रजातान्त्रिक भएपनि के नै भएको छ र?

डिप्लोम्याट हुँदा सँगै काम गरेका तथा सँगै पढेका साथीहरु कस्तो पोजिसनमा छन् भुटानमा अहिले?

संयुत्त राष्ट्र संघको प्रतिनिधिदेखि राजदूतसम्म भइसके। कतिपय सँगै पढेका साथीहरु मन्त्री भइसके।

भुटान छोडेको सबै भन्दा ठूलो नेपालीभाषी भुटानी जनसंख्या (हाल एक लाखभन्दा बढी) अमेरिकामा बस्छ, उनीहरु अबस्था कस्तो छ? प्रगति कस्तो छ?

तेस्रो मुलुकमा आफ्नो, बल, मेहनत र पौरखले समृद्घितर्फ लम्किरहेका छन्। तेस्रो देशको पुनर्वाससँगै बिस्तारै लोभलाग्दो उपलव्धि हासिल गरिरहेका छन्। शरणार्थी पुनर्वास कार्यक्रममा छिटो आर्थिक प्रगति गर्नेमा ओहायो राज्यमा नेपालभाषी भुटानी नै अगाडि छन्।

न्युअमेरिकन इकोनोमी नामक संस्थाको रिपोर्टअनुसार अन्य शरणार्थीभन्दा भुटानी अग्रपंक्तिमा छन्। बढि मेहनती र काम गर्न सक्ने भएकाले भुटानी नेपालीहरु विभिन्न कम्पनीका रोजाइमा छन्। डाक्टर, इन्जिनियर, पाइलट, ब्यबसायी देखिँदैछन्। नेपालीभाषी भुटानीको जनघनत्व भएको ठाउँमा ग्रोसरी स्टोर, कपडा पसलदेखि नेपाली रेष्टुरा, होम केयर, सुनकागहनाका पसल, ब्युटीपार्लर, फार्मेसी, घरजग्गाका कारोबार गर्ने कार्यालय देख्न सकिन्छ।

धेरै जसो एकत्रित भएर बसेको सुनिन्छ, मुख्यगरी कहाँ कसरी बसेका छन्?

शुरुमा आइओएमले जर्जिया राज्यको एटलान्टा, टेक्टासको ह्युस्टन, ड्यालस, अस्टिन, एरिजोना, युटाहाको साल्ट लेक सिटी, कोलोराडोमा सबैभन्दा बढी तेस्रो पुनर्वास गराएको थियो। अमेरिकामा जम्मा ९२ हजार हाराहारी भुटानी शरणार्थीलाई ल्याइएको थियो। सन् २००८ बाट शुरु भएको पुनर्वास कार्यक्रम २०१३/१४ बाट पहिले ल्याइएको ठाँउदेखि ओहायो, पेन्सिलभेनियाजस्ता राज्यमा सर्‍यो।

पहिले ‘रिसेटल’ गरिएका स्थानमा भुटानीको संख्या अहिले पातलिएको छ। आफन्त, नरनाता, चिनेजानेका यतै सर्ने, कामको धेरै अवसर, सस्तो आवास, सरकारी सेवासुविधा यस्तै कारण धेरै ओहायो, पेन्सिलभेनिया बसाइसरेर आएको देखिन्छ। मलाई लाग्छ ८० प्रतिशतभन्दा बढी भुटानी नेपाली जनसंख्या यी दुई राज्यमा बस्छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो