देउवाबाट आफूलाई जिताउने ग्यारेन्टी नपाएपछि गठबन्धनबाट प्रचण्डको मोहभंग!

मदन कोइराला
६ चैत २०७८ १४:२३

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला चुनाव केन्द्रित अभियानमा सहभागी हुन देश दौडाहामा छन्। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा प्रचण्डका अभिव्यक्ति पनि फरक-फरक आउने गरेका छन्।

आफूहरु गठबन्धनको पक्षमा रहेको र त्यसका लागि कांग्रेस तयार नभए विकल्प खोजिने बताउने गरेका प्रचण्डका पछिल्ला अभिव्यक्ति भने बदलिँदै गएका छन्। पछिल्ला केही दिनयता उनले गठबन्धन भन्दा पनि माओवादी एक्लै चुनावमा लड्ने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिन थालेका छन्।

बुधबार राजधानीमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले ‘गठबन्धनले चुनावले जिताइदेला र खाउँला’ भन्ने नसोच्न कार्यकर्तालाई आग्रह गर्दै माओवादी आफ्नै बलमा चुनाव लड्नु पर्ने बताएका थिए। शनिबार प्रचण्ड पार्टी कार्यालय उद्घाटन गर्न सिन्धुली पुगेका थिए। त्यहाँ आयोजित कार्यक्रममा पनि उनले गठबन्धनको भर नपर्न आग्रह गरे।

म त अझै पनि गठबन्धनकै पक्षमा छु। तर चितवनको हकमा कार्यकर्ताले रुखमा बाहेक अन्यत्र भोट हाल्दिन भनेका छन्। मैले तपाईंलाई वचन दिउँला तर कार्यकर्ताले भोट हालेनन् भने के गर्ने ?’ देउवाको भनाइ थियाे।

उनले पार्टीको संगठन कमजोर भएको स्वीकार गर्दै कमजोर भएकै कारण गठबन्धन गर्न मुस्किल परेको समेत स्वीकार गरे। आइतबार पोखरामा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पनि उनले कसैको बैशाखी नटेकी चुनावमा जाने बताए। पछिल्लो समय प्रचण्ड गठबन्धन भन्दा पनि एक्लै चुनावमा जान कार्यकर्तालाई उत्प्रेरित गरिरहेका छन्।

उनले कार्यकर्तालाई गठबन्धन हुँदैन भनेर प्रस्ट भनेका छैनन्। ‘चुनाबसम्म अन्य दलसँग हुन सक्ने तालमेल गरिनेछ’ उनले भन्ने गरेका छन् । तर आफू बलियो नभइ गठबन्धनको भर पर्दा पराजित भइने खतरा पनि उनले औंल्याउने गरेका छन्।

आखिर प्रचण्डले किन गठबन्धनप्रति विश्वास गर्न छोडे?  गत बिहीबार प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटे। बालुवाटारमा भएको उक्त भेटमा प्रचण्डले चुनावी गठबन्धन हुने नहुने विषयमा देउवासँग चासो राखेका थिए।

बालुवाटार निकट स्रोतका अनुसार प्रचण्डले देउवासँग सबै ठाउँमा तालमेल भन्दा पनि चितवनस्थित आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो जितको सुनिश्चितता खोजेका छन्।

स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकको मेयरमा कांग्रेसलाई समर्थन गर्ने र संसदीय चुनावमा चितवनको तीन नम्बर क्षेत्रमा आफूलाई समर्थन गर्नु पर्ने प्रचण्डको माग थियो। भरतपुर महानगरपालिका त्यही स्थानीय हो जहाँकी मेयर प्रचण्डकी आफ्नै छोरी रेणु दाहाल छिन्। गत निर्वाचनमा रेणुलाई जिताउनका लागि कांग्रेसले आफ्ना उम्मेदवार दिनेश कोइरालालाई उम्मेदवारी फिर्ता गराएको थियो।

प्रचण्ड हाल चितवनको तीन नम्बर क्षेत्रमा निर्वाचित सांसद हुन्। उनी गत निर्वाचनमा बाम गठबन्धनका तर्फबाट निर्वाचित भएका थिए। प्रचण्डले अबको संसदीय निर्वाचनमा पनि यहीँबाट चुनाब लड्ने बताउँदै निर्वाचनबाट आफ्नो जितलाई सुनिश्चित गरियोस भन्ने धारणा देउवासँग राखेका थिए।

यसअघिका संसदीय निर्वाचनमा प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र बदल्दै आएका छन्। जवाफमा देउवाले आफू गठबन्धनको पक्षमा रहेको तर चितवनमा कांग्रेस कार्यकर्ताले रुखमा बाहेक अन्यत्र भोट नहाल्ने भनेको बताउँदै प्रचण्डलाई संसदीय निर्वाचनमा जिताउने वचन दिएनन्।

‘म त अझै पनि गठबन्धनकै पक्षमा छु। तर चितवनको हकमा कार्यकर्ताले रुखमा बाहेक अन्यत्र भोट हाल्दिन भनेका छन्। मैले तपाईंलाई वचन दिउँला तर कार्यकर्ताले भोट हालेनन् भने के गर्ने ?’ देउवाको भनाइ उद्धृत गर्दै बालुवाटार निकट स्रोतले भन्यो।

प्रचण्डले भने अन्यत्र गठबन्धन गर्न सक्ने ठाउँमा हुन सक्ने तालमेलको सहमति तत्काललाई थाती राखेर भए पनि चितवनको हकमा भने अहिले नै सुनिश्चिता खोजेका छन्। त्यसको लागि भरतपुर महानगरपालिकाको मेयर कांग्रेसलाई दिन तयार भएका प्रचण्डले संसदीय निर्वाचनमा कांग्रेसले आफूलाई सहयोग गर्छ भन्ने कुरामा विश्वस्त हुन नसकेपछि माओवादी कसैको वैशाखी नटेकी एक्लै चुनावमा जाने अभिव्यक्ति दिन थालेका छन्।

कांग्रेसभित्र चुनावी तालमेलन गर्ने नगर्ने विषयमा विवाद छ। सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायतका नेता चुनावी तालमलेको पक्षमा भएपनि नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका नेता गठबन्धनको विरुद्धमा छन्। सभापति देउवा सत्ता गठबन्धनसँग चुनावी तालमेल नगर्दा फेरि कांग्रेस विरुद्ध अर्को गठबन्धन बनेर ०७४ सालकै जस्तो हार व्यहोर्नु पर्ने होकि भन्ने डरमा छन् ।

त्यसैले उनी सकेसम्म तालमेल गर्ने पक्षमा छन्। तर कार्यकर्ताको दबावले गर्दा उनले निर्णय लिन सकेका छैनन्। कांग्रेसले यही चैत्र ११ गते केन्द्रीय समिति बैठक बोलाएको छ र तालमेलको विषयमा निर्णय यही बैठकले गर्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *