घलेगाउँमा सेल्फी स्टेशन

डिसी नेपाल
७ वैशाख २०७९ १०:५६

लमजुङ। नेपालकै पहिलो सुखी गाउँ घलेगाउँमा सेल्फी स्टेशन निर्माण गरिएको छ । गाउँमा आएका पर्यटकहरूका लागि पृष्ठभूमिमा गाउँ देखिने गरी तस्बिर खिच्न सेल्फी स्टेशन निर्माण भएको हो। घलेगाउँ ग्रामीण पर्यटन विकास समितिले पर्यटकहरूको माग र आवश्यकताअनुसार सेल्फी स्टेशन निर्माण गरेको हो।

स्थानीय पर्यटन समितिले पाँच लाख रुपैयाँ खर्च गरेर सेल्फी स्टेशन निर्माण गरेको समिति अध्यक्ष प्रेमबहादुर घलेले बताए।

नवनिर्मित सेल्फी स्टेशनबाट पृष्ठभूमिमा घलेगाउँ राखेर तस्बिर खिच्न सकिन्छ भने अर्को तर्फ अन्नपूर्ण हिमश्रृंखला राखेर पनि तस्बिर लिन सकिन्छ। सेल्फी स्टेशनको स्तम्भमा पर्यटन प्रवर्द्धनमा घलेगाउँको मुख्य इतिहास उल्लेख गरिएको छ भने सोही स्तम्भवमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ। पर्यटक आकर्षणका निम्ती यसअघि थुप्रै संरचना निर्माण भएको घलेगाउँमा सेल्फी स्टेशन निर्माण भएसँगै थप आकर्षित भएको स्थानियले विश्वास व्यक्त गरेका छन्।

२०५७ सालबाट घरबास अर्थात व्यवसायिक होमस्टे सुरुवात भएको घलेगाउँमा २०५८ सालमा घलेगाउँ कला महोत्सव गरेपछि आन्तरिक र बाह्य पर्यटकहरूको आगमन हुन थालेको हो। पर्यटकहरूको आगमन बढेसँगै २०६३ मा घलेगाउँलाई दक्षिण एसियाको नमुना गाउँ घोषणा भएको थियो। पर्यटन व्यवसायमा अपेक्षित प्रगति भएसँगै स्थानीयले २०७६ सालमा स्मार्ट भिलेज घोषणा गरेका थिए। त्यसको दुईवर्ष पछि स्थानीयकै अगुवाइमा गाउँलाइ नेपालकै पहिलो सुखी गाउँ घोषणा गरेका छन्।

क्व्होेलासोँथार गाउँपालिका–३ मा पर्ने घलेगाउँ समुद्री सतहदेखि २१ सय मिटरको उचाईमा पर्दछ। सदरमुकाम बेंसीसहरबाट सवारी साधनमा दुई घण्टा र पैदल जान चाहनेका लागि पाँच घण्टामा पुग्न सकिने घलेगाउँमा पछिल्लो समय यातायात पुगेपछि आन्तरिक पर्यटकको संख्यामा निकै वृद्धि भएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ।

घलेगाउँमा होमस्टे, स्थानीय उत्पादन, प्राकृतिक दृष्यावलोकन र गुरुङ संस्कृति अवलोकन तथा अनुभवका लागि पर्यटकहरू पुग्ने गर्दछन्। घलेगाउँमा हाल ४२ घरमा व्यावसायिक र व्यवस्थित होमस्टे सञ्चालनमा आएको छ। दैनिक उल्लेख्य पर्यटकहरूको आगमन हुने घलेगाउँमा होमस्टे सञ्चालकबाहेक पनि स्थानीयले कृषि तथा अन्य व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *