कवि विनय रावलकाे सम्झनामा विशेष कार्यक्रम

डिसी नेपाल
२६ जेठ २०७९ १०:३९

काठमाडौं। भूगोल साहित्य समाजले स्वर्गीय कवि विनय रावलको १८औं स्मृति दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ।

जेठ २५ गते आयोजित ‘बहुमुखी विनय’ नामक परिचर्चा कार्यक्रमका वक्ताहरूले विनयको जीवनका विभिन्न पाटाका बारेमा चर्चा गर्नुभएको थियो।

कवि, साहित्यिक पत्रकार, स्तम्भकार एवम् जागिरे समेत रहेका रावलको साझा प्रकाशनको सञ्चालकको हैसियतमा पूर्बोत्तर भारतका नेपालीभाषी बहुल क्षेत्रको भ्रमणका क्रममा २०६२ साल जेठ २५ गते खर्साङमा ट्याक्सी दुर्घटनामा परी निधन भएको थियो ।

झण्डै तीनघन्टा चलेको कार्यक्रममा वक्ताहरूले विनय दृढ निश्चयी,जुझारु एवम् साहसी तथा वैचारिक रूपमा स्पष्ट व्यक्ति भएको भन्दै उनले एकातिर जागिर, अर्कोतिर पत्रकारिता र अर्कोतिर साहित्य बिच अनौठो तालमेल मिलाउँदै आफूलाई सबैतिर अब्बल सावित गर्न सफल रहेको बताएका थिए ।

कार्यक्रममा विनयको लेखन प्रवृत्तिका साथै लोकतान्त्रिक आन्दोलनमा उनको भूमिकाबारे चर्चा गरिएको थियो । वक्ताहरूले विनयका कविता विनय जस्तै जोसिला र सशक्त भएको धारणा राखेका थिए ।

सो दुर्घटनामा परी घाइते भई लामो समयको उपचार पश्चात निको भएका कवि राजेन्द्र पराजुलीले सो दुर्घटनाको विवरण सुनाउँदा सभास्थल स्तब्ध भएको थियो । कार्यक्रममा दुर्घटनाका अर्का घाइते विश्वविमोहन श्रेष्ठले भावुक हुँदै मार्मिक कविता सुनाएका थिए।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.विष्णुविभु घिमिरे प्रमुख अतिथि तथा वरिष्ठ साहित्यकार डा.तुलसी भट्टराई विशिष्ट अतिथि रहेको कार्यक्रममा अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडी, डा. कुमारप्रसाद कोइराला वरिष्ठ साहित्यकारहरू ध्रुब मधिकर्मी, किशोर पहाडी, गोविन्द गिरी प्रेरणा, कृशु क्षेत्री,लगायत अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा प्रमुख अतिथि,विशिष्ट अतिथि र सम्पूर्ण अतिथिहरूका साथै विनयको गृहनगर बिरगञ्जका कवि गोपाल अश्क तथा सहकर्मी मित्रलाल पज्ञानीले विनयसँगको सम्बन्ध उनका आनिबानी,स्वभाव र कार्यशैलीबारे आफ्ना धारणा राखेका थिए।

लेखक तथा साहित्यकार देवीचन्द्र श्रेष्ठ,कणाद महर्षि, नवराज पुडासैनी, सानुराजा अञ्जान,ममता मृदुल,प्रकाश घायललगायतको उपस्थिति रहेको कार्यक्रममा समाजका पदाधिकारी,आजीवन र मानार्थ सदस्यहरूका साथै साहित्यिक पत्रकारद्वय राजेश खनाल र आश्विनी कोइरालाको पनि उपस्थिति थियो ।

सभाको सभापतित्व समाजका अध्यक्ष विनोद नेपालले गर्नुभएको थियो भने आगन्तुक अतिथिहरूको स्वागत सचिव शैलेन्द्रकुमार शाहले र कार्यक्रमको सञ्चालन समाजका उपाध्यक्ष दिनेश विक्रम थापाले गरेका थिए। बक्ताहरूले ‘भूगोल’ले विनयको स्मृतिमा आयोजना गरेको कार्यक्रमको प्रशंसा पनि गरेका थिए ।

स्मरणीय छ, भूगोल साहित्य समाज राष्ट्रिय वाणिज्य बैंकबाट निवृत्त लेखक,साहित्यकार एवम् साहित्यानुरागीहरू सम्मिलित संस्था हो र विनय रावल २०३६ सालदेखि सोही बैंकमा कार्यरत थिए । कार्यक्रम दरबारमार्ग स्थित सोही बैंकको सभाहलमा आयोजना भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *