मन्दिरको जग्गामा भू-माफियाको आँखा – Dcnepal

मन्दिरको जग्गामा भू-माफियाको आँखा

मुगु। मुगुकाे छायाँनाथ रारा नगरपालिका-२ मा अवस्थित सदरमुकाम गमगढी बजारको बीचमै रहेको प्रसिद्ध धार्मिक स्थल कालिमा मालिका मन्दिरको नाममा रहेको जग्गा अतिक्रमण हुने क्रम बढेको छ।

मन्दिरको नाममा २०५२ मा सञ्चालन भएको नापीमा रहेको कित्ता नम्बर १२ को दुई हजार २४८ क्षेत्रफलमा रहेको जग्गा अतिक्रमण गरेर घर बनाउने क्रम बढेको हो। कालिका मालिका दुवै देवी हुन्, कालिकालाई रगतको भोग लाग्छ भने मालिकालाई दूध भोग लाग्ने धार्मिक विश्वास छ।

छत्याल मल्लको स्थापनादेखि नै कुल देवताको रुपमा कालिका मालिका मानिँदै आएको छ। राजकीय डाँडा भएको हुँदा कालिका मालिकालाई प्राचीन धार्मिक स्थल भनिएको हो । हालको जिल्ला समन्वय समितिको कार्यालयदेखि राष्ट्रिय वाणिज्य बैंक, कर्ण रावलको घरलगायत वरपरको क्षेत्रमा ४ किल्ला भित्र कालिका मालिकाको मन्दिर छ।

दमाया ढुक्सो, भीमसेन स्थान पनि यही जग्गाभित्र पर्छ। भू-माफिया र २०५२ मा नापी गर्ने कर्मचारीको मिलेमतोमा नाै रोपनीभन्दा बढी जग्गा अतिक्रमणमा परेको पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले जानकारी दिए।

मन्दिरको जग्गा पहिला नाै रोपनी थियो। पछिल्लो नापी भइसकेपछि जग्गा अतिक्रमण गर्नेहरूको विवरणसहित मन्दिरको कागजपत्र रहेको रेकर्ड फाइलमा राखिएको उनले बताए।

पहिलाको मन्दिर व्यवस्थापन समितिले जग्गा अतिक्रमित भए पनि कुनै पहल नगरेकामा अहिलको नयाँ समिति आएपछि मन्दिरको जग्गा खोज्न थालिएकाले आशा जगाएको कालिका मालिका मन्दिरका पुजारी पूर्णप्रसाद चौलागाईंले बताए।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो