पद्मश्री साहित्य पुरस्कार— २०७८ केशवराज ज्ञवालीको ‘अर्को भोर’लाई

पद्मश्री साधना सम्मान कथाकार माया ठकुरी र पद्मश्री गौरव पुरस्कार डा. सन्दुक रुइतलाई

डिसी नेपाल
१७ भदौ २०७९ १६:०६

काठमाडौं । चितवनस्थित खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार –२०७८ घोषणा गरेको छ ।

प्रतिष्ठानले कोजाग्रत पूर्णिमाको दिन कथाकार केशवराज ज्ञवालीलाई ‘अर्को भोर’ कथासंग्रहका लागि पद्मश्री साहित्य पुरस्कार प्रदान गर्ने भएको छ ।

त्यसैगरी, सातवटा कथासंग्रहसहित गीतिसंग्रह र थुप्रै बालकथा लेखिसकेकी माया ठकुरीलाई पद्मश्री साधना सम्मान प्रदान गरिँदै छ । उनी तीसको दशकदेखि आधुनिक नेपाली कथाका क्षेत्रमा सक्रिय छिन् ।

यसै वर्षबाट सुरु गरिएको पद्मश्री गौरव पुरस्कार चिकित्सक डा. सन्दुक रुइतलाई दिने निर्णय गरिएको छ । सम्मानित हुनेले जनही तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । आयोजक प्रतिष्ठानले एक सय ४४ वटा पुस्तकबाट पहिलो चरणमा १५ वटा र दोस्रो चरणमा पाँचवटा संक्षिप्त सूची यसअघि नै प्रकाशित गरेको थियो । यस वर्षको पद्मश्री साहित्य पुरस्कारको निर्णायक समितिका संयोजक राम लोहर र सदस्यहरूमा नयनराज पाण्डे र कुमारी लामा थिए ।

वि.स. २०६३ देखि प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने विशिष्ट साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ । यसै वर्षदेखि प्रतिष्ठानले समाजलाई गौरवपूर्ण योगदान दिने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई पद्मश्री गौरव पुरस्कार द्वारा सम्मान गर्ने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *