घनेन्द्रलाई ‘गजल सारथि’ सम्मान

डिसी नेपाल
१८ भदौ २०७९ १९:०५

काठमाडौं ।  साहित्यकार घनेन्द्र ओझालाई ‘गजल सारथि’ सम्मान प्रदान गरिएको छ । सर्लाहीको लालबन्दी नगरपालिकाको लालबन्दी नगर वाङ्मय परिषद्ले शनिबार ओझालाई उक्त सम्मान प्रदान गरेको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ले दोसल्ला र सम्मानपत्रले ओझालाई सम्मान गरेका हुन् । ओझा दुई दशकदेखि नेपाली गजलको विकास, विस्तार र परिष्कार अभियानमा निरन्तर सक्रिय छन् । परिषद्का कोषाध्यक्ष विवश पौडेलले घनेन्द्र ओझाको नेपाली गजल क्षेत्रमा योगदानको चर्चा गरेका थिए । पौडेलले घनेन्द्रका हालसम्म विभिन्न विधा र सिद्दान्त/समालोचनाका कृतिहरू प्रकाशन भएका बताए ।

ओझाका हालसम्म प्रकाशित साहित्यिक कृतिहरूमा ‘आफ्नै चिहानमा टेकेर’, २०६२, ‘बल्झेर याद तिम्रो’, २०६२, ‘बाटो अझै छ बाँकी’, २०६५ (राधा कणेलसँग संयुक्त) गजलसङ्ग्रहहरू तथा ‘दुल्हा राजा आउनुभो’, २०६९ बालगजलकृति प्रकाशित छन् । उनका ‘एउटा अर्को सङ्ग्रामको घोषणा’, २०६५ र ‘असमान पहाडहरू’, २०७८ कविताकृति पनि प्रकाशित छन् । ‘नेपाली गजल: विगत र वर्तमान’, २०६४ (संयुक्त), ‘गजल कसरी लेख्ने ?’, २०६६ (संयुक्त), ‘नेपाली गजल: सिद्दान्त र विवेचना’, २०६७ र ‘गजलज्ञान’, २०७१ जस्ता गजलका सैद्दान्तिक/समालोचनात्मक पुस्तकहरू समेत लेखिसकेका ओझाले नेपाली गजललाई परिष्कार गर्ने र छिरलिएको नेपाली गजललाई सैद्दान्तिक मार्गमा ल्याउने प्रयत्न विगत डेढ दशकदेखि गर्दै आएका छन् ।

ओझाले ‘बहरमाला’, २०६३, ‘गजलमाला’, २०६६ संयुक्त छन्द/बहरबद्ध गजलकृतिहरू, १९ वटा भाषाको ‘राष्ट्रिय भाषाका गजलहरू’, २०६९, समस्यापूर्ति संयुक्त गजलकृति ‘छातीभरी दुख्छ देश’, २०७२, ‘गजल बहस’, २०७१, गजलप्रधान पत्रिका ‘अनाम’ तथा ‘अनाममण्डली’ स्मारिकाको सम्पादनसमेत गरिसकेका पौडेलले जानकारी दिए । ओझाको भर्खरै शास्त्रीय बहरमा मात्र लेखिएका गजलहरूको एल्बम ‘शुभेच्छा’ बजारमा आएको छ । सन्तोष श्रेष्ठको सङ्गीत रहेको उक्त एल्बममा ज्ञानु राणा, आनन्द कार्की, शिव परियार, सन्तोष श्रेष्ठ, निशा देशार र अस्मिता अधिकारी गरी नेपाली गायनका ४ पुस्ता समेटिएको छ ।

अनाममण्डलीका संस्थापक महासचिव तथा पूर्वअध्यक्ष, यसरी नै अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च, संस्थापक महासचिव तथा हाल अध्यक्ष रहेका ओझा नेपाली लेखक सङ्घका पूर्वसचिव हुन् ।

नेपाली गजलमा पहिलो छन्द/बहरबद्ध गजलकृति ‘बल्झेर याद तिम्रो’, २०६२ प्रकाशन, नेपाली गजलमा पहिलो छन्द/बहरबद्ध संयुक्त गजलकृति ‘बहरमाला’, २०६३ र दोस्रो छन्द/बहरबद्ध संयुक्त गजलकृति ‘गजलमाला’, २०६६ सम्पादन तथा नेपाली गजलमा पहिलो बहरबद्ध गजल एल्बम ‘शुभेच्छा’ प्रकाशन गर्ने घनेन्द्र ओझालाई ‘गजल सारथि’ सम्मान प्रदान गर्दा परिषद् र लालबन्दी नगर खुसी भएको आयोजकले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *