‘बद्रीविक्रम पूर्णिमा पुरस्कार’ बाट दुई स्रस्टा पुरस्कृत
काठमाडौं। कोहलपुरस्थित साहित्यक संस्था हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले सम्मान कार्यक्रमको आयोजना गर्दै सुर्खेतका लोकसंस्कृतिकर्मी तथा कलाकार प्रेमदेव गिरी र थारु भाषाका आख्यानकार शेखर दहितलाई पुरस्कृत गरेको छ।
सोमबार कोहलपुरमा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले ‘कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार-२०७९’ कलाकार गिरी तथा ‘कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार-२०७९’ आख्यानकार दहितलाई प्रदान गरे। दुवै स्रष्टाहरूलाई पुरस्कारकासाथ जनही नगद राशि २० हजार ५ रुपैयाँ प्रदान गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख आचार्यले कलाकार प्रेमदेव गिरी र शेखर दहितको साहित्यक सक्रियताको चर्चा गर्दै पुरस्कार संस्थापक कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले कोहालपुरसम्म आएर पुरस्कारको व्यवस्था गरेकोमा खुशी व्यक्त गरे। गुठीको यो कार्य सदा अविस्मरणीय रहेको उनले उल्लेख गरे।
आख्यानकार सनत रेग्मीले बद्रीविक्रम थापाको शैक्षिक सामाजिक क्रियाशीलताको चर्चा गर्दै थापा प्रेरक व्यक्ति भएको बताए।
बद्रीविक्रम थापाका सुपुत्र, गुठीका कोषाध्यक्ष किरण थापाले आफ्ना पिताजीले बडाहाकिम र अंचलाधीश भई काम गरेका १२ स्थानमा शिक्षा, स्वास्थ्य तथा साहित्यका क्षेत्रमा पुरस्कार तथा सम्मानको व्यवस्था गर्न लागिएको बताउँदै त्यसको सुरुवात बाँकेको कोहलपुरबाट भएको उल्लेख गरे।
कार्यक्रममा पुरस्कृत स्रष्टाहरू प्रेमदेव गिरी, शेखर दहित, श्रीओम रोदन, कपिल अञ्जान, सुमित्रा न्यौपानेलगायतले बोलेका थिए।
उक्त अवसरमा युवा गजलकार कमल संघर्षले २० वटा गजल वाचन गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment