‘मुख्यमन्त्रीज्यू ! आयुर्वेदिक र एलोप्याथिकलाई एकै डालोमा हाल्न मिल्छ र ?’

डिसी नेपाल
१० असोज २०७९ १८:५९

कर्णाली । आयुर्वेदिकलाई विश्वकै प्राचीन चिकित्सा पद्दतिका रूपमा चिनिन्छ । यो चिकित्सा पद्दति मानव स्वस्थ शरीर, मन र आत्माको सन्तुलनमा निर्भर गर्दछ । खासगरी आयुर्वेदमा वाथ, पित्त र कफको सन्तुलन हुन नसक्दा रोग लाग्ने विश्वास गरिन्छ ।

मानव जीवनलाई स्वस्थ एवं शान्त राख्न यसले योग, पञ्चकर्म र क्षारसूत्रको प्रवद्र्धनमा जोड दिने गर्दछ । हाम्रो आहार–विहार, सोच र दिनचर्यालाई सही राख्न विशेष जोड दिने प्राकृतिक चिकित्सा पद्दतिलाई सरकारी तहबाटै बेवास्ता गरिएको भन्दै पछिल्लो समयमा त्यसबारे आवाज उठ्न थालेका छन् ।

मानव जीवनका लागि अत्यावश्यक तर हेला गरिएको क्षेत्र भन्दै त्यसका सरोकारवालाले कर्णाली सरकारलाई प्रश्न उठाएका छन् । कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालामा यहाँका सबै जिल्लाका आयुर्वेद औषधालयलाई स्वास्थ्य सेवा कार्यालयको एउटा कोठामा सीमित गरियो । आफ्नै छुट्टै पहिचान र महत्व बोकेको क्षेत्र स्वास्थ्य क्षेत्रमा गाभिएपछि आयुर्वेदमा कार्यरत कर्मचारीले नैराश्य प्रकट गरे । कार्य प्रकृति नमिले पनि प्रदेश सरकारले स्वास्थ्य कार्यालयसँग आयुर्वेदलाई गाभेपछि उनीहरुलाई काम गर्नुको विकल्प रहेन ।

पूर्वीय दर्शनमा आधारित चिकित्सा पद्दति आधुनिक चिकित्सा पद्दतिसँग मिल्न नसक्ने आयुर्वेदसम्बन्धी जानकारले बताउँदै आएका छन् । वीरेन्द्रनगर सुर्खेतमा आइतबार आयोजित ‘सिधा कुरा मुख्यमन्त्रीसँग’ कार्यक्रममा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका कर्णाली प्रदेश अध्यक्ष दीपेन्द्र कँडेलले सरकारले आयुर्वेद चिकित्सा पद्दतिलाई मास्ने गरी काम गरेको आरोप लगाए । आयुर्वेदिक र एलोप्याथिक दुवैको सैद्धान्तिक र व्यावहारिक रूपमै विभिन्न किसिमका विरोधाभास भएको रहेको भन्दै उनले मुख्यमन्त्रीलाई प्रश्न गने, “मुख्यमन्त्रीज्यू ! आयुर्वेदिक र एलोप्याथिक चिकित्सा पद्दतिलाई एकै डालोमा हाल्न मिल्छ र ? भीर माहुरी र घर माहुरीलाई एकै घारमा राख्यो भने के हुन्छ ?”

अहिले पनि दुवैलाई मर्ज (मिलान)गर्ने प्रदेश सरकारको निर्णयले सेवाग्राहीमा पर्न जाने अप्ठ्यारोका विषयमा बेलैमा ध्यान दिन अध्यक्ष कँडेलले आग्रह गरे । जवाफमा मुख्यमन्त्री शाहीले मर्ज गर्ने गरी प्रदेश सरकारले निर्णय नगरेको बताए ।

कर्णाली आफैँमा योगभूमि भएकाले यसको क्षेत्रलाई फराकिलो बनाएर लैजाने गरी सरकारले काम अगाडि बढाउने भन्दै उनले जनताको जीवनसँग जोडिएको स्वास्थ्य सेवामा प्राथमिकता दिइएको जनाए।

आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका निमित्त कार्यालय प्रमुख नन्दप्रसाद न्यौपानेले स्वास्थ्य सेवाका कर्मचारीले नै आयुर्वेदको काम छैन भन्ने गरेकाले त्यसको गलत सन्देश नागरिक तहमा पुगेको बताए । “यसअघि आफ्नै संरचना र क्षेत्राधिकारमा काम गरेको आयुर्वेद औषधालय स्वास्थ्य सेवा कार्यालयको एक कोठामा छ”, उनले भने, “आयुर्वेदिक चिकित्सामा ध्यान गएको देखिँदैन ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *