घलेगाउँको आकर्षण र पहिचान बन्दै रातो जस्ताले रंगिएका घर

डिसी नेपाल
३१ असोज २०७९ १४:५५
420
Shares

लमजुङ। सुखी गाउँ स्मार्ट भिलेज घलेगाउँको मुहार फेरिएको छ। पाँच दशक पुराना टिनका छाना फेरेर राता रङ्गिन छानाले गाउँलाई सजाइएको छ।

करिब दुई दशकको आन्तरिक पर्यटन विकासले घलेगाउँलाई दक्षिण एसिया मै नमूना ग्रामीण पर्यटकीय गाउँका रुपमा चिनाएकाे छ। घलेगाउँ नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा समेत चिनिन्छ।

सबै घरमा एकैनासले रातो रंगको जस्ता राखिएको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका सचिव उमल विक बताउँछन्। घलेगाउँका एक सय २० घरमा रातो रंगको छानो राखिएको छ।

प्राकृतिक सौन्दर्यका साथै मौलिक कला, परम्परा र साँस्कृतिक पक्षले पनि उतिक्कै धनी छ, घलेगाउँ। गाउँका सिँढीहरू निर्माण तथा मर्मत गरी गाउँलाई सफासुग्घर गरी चिटिक्क बनाइएको छ। गाउँ तथा बाटो वरपर फूल रोपिएका छन् । एकैनासको घर भएसँगै पर्यटक आर्कषण बढेको स्थानीय यमुना घले बताउँछिन्।

समुद्री सतहदेखि करिब दुई हजार एक सय मिटर उचाइको घलेगाउँमा २०५७ सालबाट पर्यटन प्रवर्द्धनका कार्यक्रमसहित होमस्टे संचालनमा ल्याइएको थियो। पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवर्द्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा घलेगाउँ परेको छ। घलेगाउँमा नमूना चिया बगान, प्रांङ्गारिक खेती, परम्परागत गुरुङ संग्रहालय, हिमाली दृष्यावलोकन, सुधारिएको होमस्टे रहेको छ।

हिमालको काखको घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ हिमाल, हिमालचुली, मनासलु, बुद्ध, ङादीचुली (डा. हर्क पिक) हिमाल, गणेशलगायतका दर्जन हिमश्रृंखला अवलोकन गर्न सकिन्छ।

गाउँबाटै सूर्योदय र सूर्यास्तको मनोरम दृश्य पनि नियाल्न सकिन्छ। गोर्खा आर्मी पार्क, घले राजाको शालिक, क्वोइवो धी, उत्तरकन्या मन्दिर, सात कुवा, परम्परागत गुरुङ घर, गुरुङ सङ्ग्रहालय, चिया बगान, वनझाङ्ग्रो छहारा, भीर मौरी, भेँडीगोठ पनि घलेगाउँका आकर्षण हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *