पाँच वर्षभित्र नेपाललाई ‘राइजिङ स्टार’ मुलुक बनाउछौंः केपी ओली

डिसी नेपाल
१५ कार्तिक २०७९ १९:४४

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्षभित्र दिगो विकासका लक्ष्य पूरा गरी नेपाललाई ‘राइजिङ स्टार’ मुलुक बनाउने पार्टीको योजना रहेको बताएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक कार्यक्रममा ‘लाइभ डिबेट’ कार्यक्रममा एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ मूल सङ्कल्प लिएर अगाडि बढेको हुँदा पाँच वर्षभित्र मुलुकलाई समृद्ध मुलुक बनाउने बताएका हुन् ।

“दिगो विकासको लक्ष्यअनुसार अल्पविकास राष्ट्रबाट सन् २०३० सम्म विकासशील राष्ट्र बन्नुपर्ने अवस्था छ”, अध्यक्ष ओलीले भने, “एक ढङ्गले विकासको बाटोमा अल्पविकसितबाट विकासशीलमा प्रवेश गरिसकेका छाँै, केही काम गर्न बाँकी छन्, त्यो पाँच वर्षमा गर्ने एमालेको योजना छ ।” उनले कोभिड–१९ जस्ता महामारी नआएको भए धेरै काम आफूले नेतृत्व गरेको सरकारले गर्ने योजना भएको सुनाए ।

दुई वर्षभित्र नेपाली जनतालाई साक्षर बनाउने पार्टीको योजना रहेको जानकारी दिँदै उनले भने, “रौतहट, महोत्तरीमा ३०÷३२ प्रतिशत मात्र साक्षरता छ, कतिपय समुदायमा बालबालिकालाई विद्यायमा पढाउन मुस्किल छ, त्यसका लागि निकै प्रयास जरुरी छ ।” उनले विगतमा आफ्नो नेतृत्वको सरकारले विद्यार्थी भर्ना गर्न साक्षरता अभियान सञ्चालन गरेर राम्रै प्रगति गरे पनि कोरोना महामारीका कारण सोचेअनुरूप हुन नसकेको सुनाए ।

अध्यक्ष ओलीले शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्योग, व्यापार कृषिको विकास गरी गरिबी निवारण गर्ने र निरपेक्ष गरिबीको रेखामुनि रहेका मानिसको सङ्ख्या घटाउन प्रयास गर्ने बताए ।

पूर्वाधार निर्माण र मुलुकले सोचेअनुरूप विकास गर्नका लागि मुलुकमा सुशासन कायम गरी भ्रष्टाचाररहित बनाउनुपर्ने र त्यसका लागि भएका कानूनको प्रभावकारी कार्यान्वयन गरेर जानुपर्ने उनको भनाइ थियो ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा घोषणापत्रको डिजिटल अनावरण गरेपछि अध्यक्ष ओलीसँग नेबिल बैकका पूर्व प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मध्यस्थकर्ताका रूपमा जनताको तर्फबाट प्रश्न सोधेका थिए । सोही प्रश्नको उत्तर दिने क्रममा अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

पूर्वप्रधानमन्त्री ओलीले मुलुकमा सुशासन कायम गर्नका लागि भ्रष्टाचार निर्मूल गर्नुपर्ने उल्लेख गर्दै भने, “म भ्रष्टाचार गर्दिनँ भन्ने अठोट मन, वचन र कर्मले गर्नुपर्छ, सन्तानका लागि सम्पत्ति कमाइदिएर सन्तानलाई नालायक पात्र बनाउनु हुँदैन ।”

अध्यक्ष ओलीले एमालेसँग देश बनाउने नीति, कार्यक्रम, भिजन भएको र विकास निर्माणका कार्यक्रम योजनाबद्ध रूपमा अगाडि बढाएको विगतको अनुभवसमेत पार्टीमा भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *