अध्यात्म

शिवपूजा सोमबार किन ? 

हरिप्रसाद सोडारी
८ साउन २०८० १०:१७

शिव शब्दले परमात्मा र लिङ्ग शब्दले चिह्न वा मूर्ति भन्ने बुझाउँछ। अमूर्तलाई चिन्न, जान्न, बुझ्न र स्मरण गर्न सजिलो होस् भनी बनाएका आकार नै मूर्ति हुन्। मूर्तिले अदृश्यलाई देखाउँछ, अज्ञातलाई बुझाउँछ, अगम्यलाई बोध गराउँछ।

परमात्मालाई बुझाउने, चिनाउने, बताउने मूर्तिलाई शिवलिङ्ग भनिन्छ। शिवलिङ्ग राखिएको मन्दिरलाई शिवालय भनिन्छ। देवीदेवता, युगपुरुष, महापुरुषहरूको मूर्ति बनाइन्छ। मूर्ति राखिएको घरविशेषलाई मन्दिर भनिन्छ।

पितापुर्खा वा विविध क्षेत्रमा विशिष्ट योगदान दिनेहरूको शालिक बनाइन्छ। अनुष्ठान र चिन्तन गर्नेलाई मूर्तिले दैवी ऊर्जा, ज्ञानको शक्ति आदि प्रसारण गराउँछ। ईश्वरलाई चिनाउने, ब्रम्हाण्डलाई बुझाउने, उत्पत्ति र विनाशलाई बताउने विश्वकै पहिलो मूर्तिलाई शिवलिङ्ग भनिन्छ।

ईश्वरलाई बुझाउने शब्द ‘ॐ’ हो, ईश्वरलाई देखाउने पहिलो मूर्ति (तस्बिर) ‘शिवलिङ्ग’ हो। ढुंगाले राम्रो आवाज दिने, ढुंगाहरू बोलिरहेका, ढुंगाले यज्ञको हविलाई देवताभन्दा पहिले प्राप्त गर्ने चर्चा वेदमा छ।

यी विशेषता, शक्ति र कार्य गर्ने गुण भएकाले मूर्ति बन्ने पहिलो सौभाग्य ढुंगालाई मिल्यो। दुःख, खराब विचारलाई हटाएर यहाँ चढाइएका दूधलाई औषधि बनाइदिने हुँदा ढुंगाबाट शिवलिङ्ग, मूर्ति र शालिकहरु निर्माण गरियो।

लिंगानि कल्पयित्वैवं स्वाधिकारानुरूपतः ।
विश्वकर्मा ददौ तेषां नियोगाद् ब्रम्हणः प्रभोः ।।
-लिङ्गपुराण, (पूर्वभाग ७४।१)

अर्थात् “ब्रम्हाजीको आज्ञाअनुरूप विश्वकर्माले आफ्नो अधिकारक्षेत्रभित्र रहेर लिङ्गको निर्माण गरे।” विश्वकर्मा प्राचीन कालका इञ्जिनीयर हुन्। उनले विभिन्न देवता एवं राजामहाराजाहरूका भव्य र विशाल राजभवन, सभाभवन, महलहरू निर्माण गरेका थिए। प्रविधिका पितामह भएकाले उद्योग, कलकारखाना आदिमा उनको तस्बिर वा मूर्ति कलकारखानामा राखिन्छ।
महादेवलाई पाञ्चायनमध्येका एक मानिन्छ। सोमबाार, साउन वा चतुर्दशी तिथिमा विधिपूर्वक महादेवको पूजापाठ र अनुष्ठान हुन्छ। यस लोकमा शान्ति, मृत्युपछि स्वर्ग वा मोक्ष प्राप्तीका लागि शास्त्रले महादेवको पूजा एवं शिवको चिन्तन गर्ने विभिन्न उपायहरू बताएका छन्।

शास्त्रले पूजा, पाठ, जीवन, मृत्यु, मुक्ति आदिका बारेमा बताउने भएकाले शास्त्र आँखा हो। वैदिक शास्त्रले कम मिहिनेत, समय र सामग्रीबाट अधिक लाभ हुने उपाय बताउँछन्।

धार्मिकग्रन्थहरूले देवीदेवताको विशेष, पूजा, उपासना गर्न निश्चित पक्ष, तिथि, बार र समयावधि तोकिदिएका छन्। शिव र महादेवसम्बन्धी अनुष्ठान गर्ने वेद, तन्त्र, स्थानीय मान्यताहरूका आफ्नै दृष्टिकोण र विधिहरू छन्। वेदले वर्णन गरेको ३३ देवतामध्ये चन्द्रमा एक हुन्।

चन्द्रमाका अधिपति, मनका कारण, जलका मालिक महादेवको शिरमा चन्द्रमा (सोम) भएकाले सोमबार विशेष अनुष्ठान गरिन्छ।

केवलं चापि ये कुर्युः सोमवारे शिवार्चनम्।
न तेषां विद्यते किञ्चिदिहामुत्र च दुर्लभम्।।

अर्थात्, “जो सोमबार शिवको अर्चना गर्दछ, उसका लागि यो लोक र परलोकमा कुनै कुरा दुर्लभ हुँदैन।” असल साधकले परमात्मासँग केही माग्दैन। जहाँ आशा हुँदैन त्यहीँ आनन्द हुन्छ।

सोमबार शिवको अनुष्ठानले शारीरिक, मानसिक, आध्यात्मिक र आर्थिक लाभ मिल्छ। वासना र वेदनाले मानिस गलित तथा ग्रस्त बन्दछ। शिवको कृपाले सत्य बुझ्छ, कर्तव्य बोध हुन्छ, जीवन र जगत्को ज्ञान हुन्छ, इच्छाको समाप्ति भई संसारबाट उठ्छ।

सोमबार चन्द्रमा सक्रिय हुनेहुँदा यस दिन गरिएको महादेव तुरुन्तै अधिक लाभ दिन्छ। महादेवका अनेक आभूषण र गहनाहरूमध्ये शिरमा चन्द्रमा छन्। देवता र दानवले अमृत प्राप्त गर्न समुद्र मन्थन गर्दा उत्पन्न भएका चन्द्रमा महादेवका शिरमा बसेका थिए , त्यसकारण उहाँलाई सोमनाथ अर्थात् चन्द्रमाका मालिक भनिन्छ।

ततः सतामभयदः शङ्करो भक्तवत्सलः।
दध्रे शिरसि चन्द्रं स विभुः शरणमागतम्।।
-शिवपुराण, (शतरुद्रसंहिता १६।१३)

पुराणहरूमा अत्रिका पुत्र चन्द्रमा, बुधका बाबु चन्द्रमा, समुद्र मन्थन गर्दा उत्पन्न चन्द्रमा, मनका कारक गरी अनेकौँ चन्द्रमाको वर्णन पाइन्छन्। ज्योतिषशास्त्रअनुसार कर्कट राशिका ग्रहस्वामी चन्द्रमा र महिना साउन हो।

सोमवारव्रतं कार्यं श्रावणे वै यथाविधि।
शक्तेनोपोषणं कार्यमथवा निशि भोजनम्।।
-धर्मसिन्धु (द्वितीयः परिच्छेदः)

अर्थात् “साउन महिनामा विधिपूर्वक सोमबारको व्रत गर्नुपर्छ। शक्तिअनुसार उपवास अथवा रात्रि भोजन गर्नुपर्दछ।” व्रतले शारीरिक र मानसिक सन्तुलन एवं तन्दुरुस्त राख्छ।

“जैसा अन्न वैसा मन जैसा पानी वैसा वाणी” अर्थात् अन्नले मनमा असर गर्दछ। सोमवार निराहार व्रत बसी शिवको पूजा गर्दा सीमन्तिनीलाई पुत्र लाभ भयो। सन्तान र पारिवारिक सुख शान्ति, दुष्टात्माबाट बच्न, रोग र शोकबाट जोगिन, कृति र कीर्तिसहित बाँच्न साउन र सोमबाार शिवलाई पुज्छन्।

महादेवका पुत्र गणेशको मूसो, कुमारको मयूर, पार्वतीको सिंह र महादेवको साँढे वाहन छन्। स्वभाव एवं जातिगत रूपमा यिनीहरू एक अर्काका शत्रु हुन् । महादेवले विजातीय एवं भिन्न संस्कारबीच समन्वय गराएर परिवार र समाजमा आत्मीयता स्थापित गराउनुभयो।

समाजमा कसरी बाँच्ने, संस्कृतिलाई कसरी जोगाउने, स्वभावलाई कसरी सदुयोग गर्ने? भन्ने ज्ञान यसले दिन्छ। त्यसैकारण शैव संस्कृति नेपाली समाजको श्वास हो, राष्ट्रको मेरुदण्ड हो, धर्मको नाल हो, तन्त्रको निदाल हो। जगत्लाई जित्नुअघि आफैँलाई जित्नुपर्छ।

आफूलाई जित्न शिवलाई चिन्नुपर्छ, शिवलाई चिन्न मनलाई शिवगामी बनाउनुपर्छ, जसलाई प्रतीकात्मक रूपमा चन्द्रमाले प्रतिनिधित्व गरेको छ। ज्ञान र आत्माको प्रतिमूर्ति भएकाले शिव भाव भएको रिसले कसैलाई नोक्शान गर्दैन।

सन्तानले बाटो बिराउँदा आमाबुबाले रिस देखाउँछन् जो हानिकारक हुँदैन। त्यसैले महादेवको रिस विनाशका लागि होइन जगत् रक्षाका लागि हो। यसकारण अठार पुराणमध्ये दश पुराणमा उहाँका चरित्रामृत, स्तुतिमात्र छ। पूजनीय र पवित्र वस्तुमात्र शिरमा लगाइन्छ।

महादेवलाई योगीराज बताउन शिरमा शान्ति र शीलताको प्रतिक चन्द्रमा देखाएको हो। विषलाई पिउन सक्ने शक्ति बताउन घाँटीमा सर्पको माला, त्यागलाई बुझाउन भस्म लेपन, इन्द्रीय विजयी देखाउन बाघको छाला बाँधिएको हो। यी सबै प्राप्त होस् भनी मनको कारक मानिने जललाई सोमबाार शिवमा अर्पण गरिन्छ।

कौमारब्रम्हचर्येण यत्पुण्यं प्राप्यते नरैः ।
तत्पुण्यं सकलं तस्य अष्टम्यां योर्चयेच्छिवम् ।।
-वामनपुराण २५।१८

अर्थात् “अष्टमीमा शिवको पूजा गर्ने मनुष्यलाई कुमार र ब्रम्हचर्यबाट हुने सबै पुण्य फल प्राप्त हुन्छ।” मनलाई नियन्त्रण नगरेसम्म ब्रम्हचर्य पालन असम्भव छ। ज्योतिषशास्त्रले चन्द्रमालाई मनको कारक ग्रह मानेको छ।

वैदिकग्रन्थले २५ वर्षसम्म ब्रम्हचर्यमा रहेर अध्ययन गर्ने, २५ देखि ५० सम्म गृहस्थजीवन बिताउने, ५० देखि ७५सम्म भक्तिमार्ग (वानप्रस्थ)मा रमाउने, ७५ देखि १०० सम्म सन्न्यासमा लाग्न भनेको छ। सच्चरित्र र सक्रिय जीवनको कसी नै ब्रम्हचर्य भएकाले मनलाई शिवमय बनाउनुपर्छ। वेदले यसैलाई ‘शिवसंकल्पमस्तु’ भनेको छ।

महादेवलाई वैद्यनाथ पनि भनिन्छ। अहिलेका वैद्य (डाक्टरहरू)ले शरीरको उपचार गर्छन् तर महादेवले मन, माटो (पृथ्वी) र प्रकृतिको उपचार गराउनुहुन्छ। मनको औषधि हो शिवको मन्त्र जप, शिवतत्वको चिन्तन।

कालकुट विषका कारण महादेवको घाँटी नीलो बन्यो र नीलकण्ठ नाम रहन गयो। हिमालमा बस्ने महादेवको घाँटीमा असाध्यै चिसो सरिसृप जीव सर्प रहन्छ। सर्पले वायुमण्डलका प्रदूषित हावा खाएर जीवलाई बाँच्न, प्रकृतिलाई जोगाउन सहयोग गर्दछ।

महादेवका शरीरमा रहेका नौवटा नागले नवग्रहको प्रतिकूल असरलाई हटाई अरिष्ट र अनिष्टलाई नाश गराउँछ। कालसर्पयोग शान्ति गर्न पञ्चमीतिथि वा सोमबार नागलाई दूध चढाइन्छ। महादेवसँग नागको सम्बन्ध रहेकाले नागको पूजा सोमबार वा पञ्चमी तिथिमा गरिन्छ।

पूर्णिमाको रातमा पूर्णचन्द्रमाको रोशनीले आकाशको गरिमा अर्कै देखिन्छ, जुन महिमा सत्यम्, शिवम्, सुन्दरम्का प्रतिमूर्ति शिवमा रहेको छ। प्राणीको कल्याण, प्रकृतिको संरक्षण, इतिहासको सुरक्षा, धर्मको निर्देशन पालन गर्न महादेव र शिवको पूजा सोमबार तथा साउन महिनामा विशेष रूपले गरिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *