कर्णालीमा तीन वर्षमा ५५ वटा झोलुंगे र २२ वटा पक्की पुल निर्माण, करिब ७९ किलोमिटर सडक कालोपत्र

डिसी नेपाल
३१ भदौ २०८० १९:३९

सुर्खेत। कर्णाली प्रदेश सरकारले तीन वर्षमा ५५ वटा झोलुंगे पुल र २२ वटा पक्की पुल निर्माण गरेको छ। आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म प्रदेशका १० जिल्लामा ५५ वटा झोलुङ्गे पुल र २२ वटा पक्की पुल निर्माण गरिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सूचना अधिकारी रमेश सुवेदीका अनुसार तीन आर्थिक वर्षमा जनता आवास कार्यक्रमअन्तर्गत दुई हजार सात सय ८० घर निर्माण भएका छन् । सोअन्तर्गत संघ सरकारबाट दुई हजार चार सय ८९ वटा घर निर्माण भएका छन् भने प्रदेशबाट जनता आवास कार्यक्रममार्फत दुई सय ९१ वटा घर निर्माण गरिएको छ।

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट प्रदेशभर एक सय ७९ भवन, ९९ सडक, सात विद्युतीय संरचना, ३९ तटबन्ध र बाँध, ६८ सिँचाइ आयोजना र ४१ खानेपानी योजना निर्माण भएको मन्त्रालयका सूचना अधिकारी सुवेदीले बताए।

तीन आर्थिक वर्षमा कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले करिब ७९ किलोमिटर सडक कालोपत्र गरेको छ । तीन वर्षमा भएको सडक कालोपत्रको तथ्यांकलाई हेर्दा ७८ किलोमिटर ९५ मिटर सडक कालोपत्र भएको हो।

आव २०७७र७८ मा ३३ दशमलव ०२ किलोमिटर, २०७८/७९ मा १५ दशमलव ९० किलोमिटर र २०७९/८० मा ३० दशमलव ०३ सडक कालोपत्र भएको सूचना अधिकारी सुवेदीको भनाइ छ ।

चालु आर्थिक वर्षमा मुगु, हुम्ला र डोल्पामा सडक कालोपत्र गरिएको छैन । सुर्खेतमा १५ दशमलव ९५ किलोमिटर सडक कालोपत्र भएको छ। दैलेखमा पाँच दशमलव ९९ किलोमिटर सडक कालोपत्र गरेको मन्त्रालयले जनाएको छ। जुम्लामा दुई किलोमिटर, सल्यानमा दुई किलोमिटर, रुकुम पश्चिममा तीन किलोमिटर सडक कालोपत्र गरिएको छ।

त्यस्तै १० जिल्लामा मन्त्रालयले चार सय ३४ दशमलव ०१ किलोमिटर सडक ग्राभेल गरिएको जनाएको छ । त्यस्तै दुई हजार चार सय २४ दशमलव ११ किलोमिटर कच्ची सडक कटान गरिएको भन्दै सुवेदीले सडकको स्तरोन्नति र नाला निर्माणको कामसमेत भएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *