सिर्जनाको क्यानभासमा इलाम भाग-२ विमोचन
इलाम। असोज २८ गते घटस्थापनाको अवसर पारेर यशोभानु साहित्य तथा संगीत प्रतिष्ठानको तेस्रो स्थापना दिवस तथा इलामे कवि भानुभक्त भट्टराईको ८४ औं जन्म जयन्तीमा इलाम सदरमुकाममा “सिर्जनाको क्यानभासमा इलाम भाग २” विमोचन कार्यक्रम सम्पन्न भएको छ।
संसार भरी छरिएर रहेका इलामे सर्जकहरुलाइ सिर्जनाको एउटै मालामा बुन्ने प्रयत्न स्वरुप यशोभानु साहित्य तथा संगीत प्रतिष्ठानले सुरु गरेको यस परियोजनामा गत वर्ष १०१ जना इलामे सर्जकहरुलाई समेटेर “सिर्जनाको क्यानभासमा इलाम” प्रकाशित गरिएको थियो।

उक्त प्रकाशनको निरन्तरता स्वरुप यस वर्ष भाग दुई प्रकाशित गरिएको हो। यस अंकमा ५३ जना कवि तथा लेखकका रचना समावेश गरिएका छन्। इलाम नगरपालिकाका मेयर केदार थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सिर्जनाको क्यानभासमा इलाम भाग २ मा समावेश गरिएका सम्पूर्ण सर्जकहरुलाई कदर पत्र प्रदान गरिएको थियो।
संस्थाकी अध्यक्ष शान्ता भट्टराई रिजालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कवि जय नारायण भट्टराईले गरेका थिए। कार्यक्रमको संयोजन र व्यवस्थापन संस्थाका सल्लाहकार दुर्गा अधिकारीले गरेकी थिइन्।

त्यस्तै गरी संस्थाले गर्दै आएका सामाजिक गतिविधि र भावी योजनाको बारेमा संस्थाकी महासचिव देबी भट्टराई अधिकारीले प्रकाश पारेकी थिइन्। इलाम र इलाम बाहिर रहेका बरिष्ठ साहित्यिक र प्राज्ञिक व्यक्तित्व प्रा. डा शिबप्रसाद रिजाल, बिमल बैद्य, देबी दुलाललगायतका साहित्यकारहरुको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा उपस्थित सर्जकहरुले कृतिमा समावेश गरिएका आफ्ना रचना वाचन गरेका थिए।

संस्थाका भावी परियोजना अन्तर्गत अर्को वर्ष संस्थाका संरक्षक कवि भानुभक्त भट्टराईको स्मृति ग्रन्थ प्रकाशन गर्ने योजना रहेको उक्त कार्यक्रममा जनाइएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment