कागजपत्र चुहावट प्रकरणमा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दोषी ठहर

डिसी नेपाल
६ कार्तिक २०८० १८:५८
108
Shares

रावलपिण्डी। जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि सोमाबार गोप्य कागजातहरू चुहावट गरेको आरोपमा अभियोग लगाइएको छ। एक अभियोजकका अनुसार उक्त आरोपमा १४ वर्षसम्मको जेल सजायको प्रावधान छ।

गत वर्ष सत्ताबाट हटाइएपछि उनी कानूनी झमेलमा फसेका छन्। उनले आफूलाई सन् २०२४ जनवरीमा निर्वाचनमा प्रतिस्पर्धा गर्नबाट रोक्नका लागि आरोप लगाइएको बताएका छन्।

लोकप्रिय राजनीतिज्ञ खानलाई भ्रष्टाचारको आरोपमा अगस्टमा तीन वर्षका लागि जेल सजाय गरिएको थियो तर जब उनको सजाय उल्टियो त्यसपछि उनलाई राज्यका कागाजातहरू साझा गरेको धेरै गम्भीर आरोपमा हिरासतमा राखियो।

“उहाँलाई आज दोषी ठहर गरिएको छ र आरोपलाई खुलारूपमा पढिएको छ”, पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) का शाह खावरले पूर्वप्रधानमन्त्री खानलाई राखिएको अदियाला जेलबाहिर भने।

एफआईएको एक रिपोर्टअनुसार यो मामिला आफूलाई शक्तिशाली सैन्य प्रतिष्ठानद्वारा समर्थित अमेरिकी षड्यन्त्रको हिस्साका रूपमा सत्ताबाट बाहिर गरिएको भन्ने पूर्वप्रधानमन्त्री खानले पेस गरेको प्रमाणसँग मात्र सम्बन्धित रहेको छ। अमेरिका र पाकिस्तानी सेनाले खानको उक्त दावीको खण्डन गरेका छन्।

खानको पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) पार्टीका उपाध्यक्ष एवं पूर्वविदेशमन्त्री शाह महमुद कुरेशीलाई पनि उक्त मामिलामा दोषी ठहर गरिएको छ।

पीटीआईका एक प्रवक्ताले ‘अदालत परिसरभित्र जनता तथा मिडियाको पहुँचबिना आयोजित’ मुद्दामा दुवै व्यक्तिमाथि औपनिवेशिक युगको आधिकारिक गोपनीयता कानूनअन्तर्गत आरोप लगाइएको बताए।

खानका वकिल उमर खान नियाजीले पत्रकारहरूसँग भने, “हामी यसलाई चुनौती दिनेछौं।” खानका वकिलहरूका अनुसार जुन अपराधमा उनीमाथि आरोप लगाइएको छ त्यसमा १४ वर्षको जेल सजाय हुनसक्छ र सबैभन्दा गम्भीर परिस्थितिमा मृत्युदण्डको सजायको प्रावधान छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *