कविता : फुट्न नसकेको पिलो
विगत वर्तमान विभिन्न काल खण्डमा दोहरिँदै आउने
विभिन्न अवतारमा आफ्नै स्वरुपमा फेरिँदै आउने
कहिल्यै निको हुन नसक्ने खाटा बस्न नपाउँदै फेरि पलाउने
कस्तो रहेछ जीवन फुट्न नसकेको पिलोको रुपमा आउने।
उमेर र परिस्थिति जे आए पनि अरुको भावनामा नाच्नुपर्ने
भित्रभित्रै अनेक पीडा लुकाएर अरुकै खुशीमा हाँस्नैपर्ने
शरीर पनि आफ्नै हो कि! सधैं अरुको लागि साँच्नुपर्ने
फुट्न नसकेको पिलो जस्तो जीवन पीडा लुकाएर बाँच्नुपर्ने ।
इच्छा आकांक्षा रुची सबै बलिदान दिई मुस्कान दिएर हाँस्नुपर्ने
भोक प्यास आवश्यकता मनमा सजाई अरुकै लागि बाँच्नुपर्ने
मनोरञ्जन पनि कस्तो ! चुलो चौका कोठा चोटा सजाई हाँस्नुपर्ने
फुट्न नसकेको पिलो जस्तो जीवन भित्रभित्रै गुम्सिएर बाँच्नुपर्ने ।
सीमित आवश्यकता पूर्ति गर्दा दिन महिना बर्साैं बिते
अन्यत्र सोच्ने अवसर नै छ कहाँ यिनमा नै सारा जवानी बिते
अरुको भावना बुझ्दै जाँदा आफ्ना सबै बिलिन भए
गुम्सिएका सारा वेदनाहरु फुट्न नसकेको पिलो झैं रहे ।
तौलन्छन् सबैले अरुलाई आफू जस्तो छ त्यस्तै
जसले जस्तो देखे पनि कल्पना बाहिरको जीवन यस्तै
फूलको तुलना बासनासँग हुन्छ माटोको हुन्छ हिलो नै
जति निचरे नि ननिख्रने कस्तो यो जीवनको पिलो नै ।
No ads found for this position


Facebook Comment