कविता : चप्पलदेखि पजेरो सम्म

शंकरप्रसाद रिजाल
३ चैत २०८० ७:१७
84
Shares

चप्पले भिरकोटे नेता, पजेरो भित्र घुम्दामा
सोझा नेपाली जनता, घुरेका छन् मस्त नीन्द्रामा

राणाको कुशासनमा, नौलो प्रजातन्त्र उजेलिया
एकसय चार वर्षको राणा शासन, जरैदेखि उखेलियो

आकाश कालो बादलको, सुनौलो लाली छरीछरी
प्रजातन्त्रको दियो बल्यो चारैतिर वरिपरी

पराले झोपडी नेता, उम्रिए नेपालमा कति
सारा नेता बनी हिँडे, यो देशमा भए जति

प्रधानमन्त्री बने कोही, मन्त्री कतिकति
टाठाबाठा बने नेता, यो देशमा भएजति

भारतको बुइमा टेकी, नेता कुद्थे नेपालमा
त्यसैको थालीमा खाइ भन्थे राम्रो गर्छौं यो देशमा

अनेकौं नदीका नाला, बेचे दक्षिण बजारमा
आँखा जनताको छोपी, छोपी हिँड्थे नजरमा

भ्रष्टबुद्धि पस्यो जिउमा भ्रष्टाचारी भए सबै
देशका निमुखा जनता ओझेलमा परे सबै

महेन्द्र देशको राजा, राजनेता बनिकन
उठाए देशमा झण्डा, शासन नौलो लिइकन

सुतेको बाग उठेझैं, स्याल नेता थुनिकन
चलाए देशको शासन, चौतर्फी जुदिइकन

उठाए देशको झण्डा, चन्द्र सूर्य उठे सरी
कमाए देशको नाम, संसारै ब्युँझिने गरी

राष्ट्रको प्रेम थियो उनमा, कवि लेखक बनिकन
“गर्छिन पुकार आमा, रोई कराई” भनिकन

आखिर ढल्यो उनको देह, देशप्रेम भजिकन
रहेन उनको शासन दश वर्ष गनिकन

सारा देश बन्यो आँसु, आँसुमा डुबिइकन
सारा नेपाली बने रोगी सबै रोइ रोइकन

विशाल आँसुको धारा, बग्यो नेपालमा त्यहाँ
रहेनन् सबका आँखा, रोइ नभिझाइकन

फेरि फुर्ति बढ्यो नेताको, पैसाको मोहमा फसी
भ्रष्टाचार बढ्यो देशमा, लुट्न थाले श्रीसम्पत्ति

चप्पले नेता बढे देशमा, पजेरोको हुरी चल्यो
जनताको जीउका भोटो बिस्तारै तल तल खस्यो

नेताले भ्रष्ट भै दिन दिन, महल ठोके यो देशमा
भत्र भित्रै कुकर्म गर्दै, कमाए धन छद्म भेषमा

अहो! देश नेपाल सानो छ, यो छ यो विश्वमा
यसै भित्रका सबै नेता फेरि धनी भए यो देशमा

सोझा निमुखा जनतामाथि, घोडा चढी थिच्नेहरु
प्रजातन्त्र, गणतन्त्र भजी हिँड्ने, हिँडेका छन् हिँड्नेहरु

कसैका दर्जनाैं घर छन्, कसैका छैनन् एउटापनि
कठैबरा भनी हिँड्ने छैन नेपालमा कुनैपनि

निमुखा जनता सडके भएकाछन्, नेता जति महलमा
चप्पले नेता हिँडेका छन्, आज लुकीलुकी पजेरोमा

यस्तैमा बिती गयो सारा, नेपालीको जीवन
नेता भाषणमा गर्जिन्छन्, काटीकाटी रिवन

सुखको चैन खोइ? हाम्रो–हाम्रो सुख नै के भयो
जे भयो जस्तो भयो, सबै नेताकै भयो

धन्य नेपालीको जीवन, सधैं सहेर नै बस्ने
धन्य नेताको जीवन, माथि माथि उचालिने

अब त जली जली म मलाइ बिर्सी जाउँ
बरु नसम्झुँ, सम्झे फेरि, यस्तै कविताको मूल फुटाउ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *