मेर पुगेर विवाह गर्ने ३ जोडी र १० जना ‘असल’ बुहारीलाई सम्मान

डिसी नेपाल
१७ जेठ २०८१ ७:२२
44
Shares

गुल्मी। गुल्मीको मदाने गाउँपालिका-१ स्थित अग्लुङ गाउँमा उमेर पुगेर विवाह गर्ने जोडीलाई बुधबार वडा कार्यालयले सम्मान गरेको छ।

शैक्षिक उत्प्रेरणा कार्यक्रमअन्तर्गत सामाजिक सचेतनाका लागि २० वर्ष उमेर पूरा गरी विवाह गरेका तीन जोडी नवविवाहित दम्पतीलाई वडा कार्यालयले सम्मान गरेको वडाध्यक्ष सुशील चन्दले जानकारी दिए।

‘विवाहबारी २० वर्ष पारी’ भन्ने मूल उद्देश्यका साथ बालविवाह न्यूनीकरण गर्न वडा कार्यालयले उक्त कार्यक्रम गरेको उनले बताए। वडाले असल बुहारी तथा छोरीलाई पनि सम्मान गरेको छ। वैदेशिक रोजगारीमा छोराहरू जाने तथा बुहारीहरू छोराछोरी पढाउन सहर पस्ने चलन बढेको छ।

बुहारीहरू सहर पसेपछि गाउँमा वृद्धवृद्धाहरु मात्रै हुन थालेकाले वृद्ध बुबाआमाले दुःख पाएको अवस्थामा सासूससुरा तथा बुबाआमासँगै रहेर पालन पोषण गरेका बुहारी तथा छोरीहरूलाई वडाले सम्मान गरेको हो।

शैक्षिक उत्प्रेरणा कार्यक्रममार्फत १० जना असल बुहारीलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ। वडाले उत्कृष्ट शिक्षक, उत्कृष्ट किसान, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी र उत्कृष्ट सामाजिक सङ्घसंस्थालाई समेत सम्मान गरेको छ । विभिन्न विधामा रहेर वडाका लागि योगदान गरेकाहरूलाई दोसल्ला सम्मान पत्रसहित सम्मान गरिएको वडाध्यक्ष चन्दले जानकारी बताए।

कार्यक्रममा एसइईमा उत्कृष्ट हुने विद्यार्थीलाई १० हजार, कक्षा ८ मा उत्कृष्ट हुनेलाई पाँच हजार तथा कक्षा ५ मा उत्कृष्ट हुने विद्यार्थीलाई तीन हजार नगदसहित सम्मान गरिएको छ।

शैक्षिक तथा सामाजिक सचेतनाका लागि वडाबाट गरिएका यस्ता कार्यक्रमबाट समाजका आम नागरिकहरूमा थप उत्प्रेरणा जाग्ने बताइएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *