हाइटीमा गोली हानाहान: महिला र बालबालिकासहित ७० जनाको मृत्यु

डिसी नेपाल
१९ असोज २०८१ ६:३८
80
Shares

काठमाडौं। संयुक्त राष्ट्रसंघले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको मृत्युबाट “आतंकित” भएको बताएको छ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा भएको आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र दर्जनौं घर र सवारीसाधन आगलागी भएको बताएको छ।

अराजकतामा डुबेको विश्वको सबैभन्दा गरिब देशमध्ये एक, हाइटीमा गिरोहहरूले राजधानी पोर्ट-ओ-प्रिन्स कब्जा गरेका छन् भने सुरक्षा र स्वास्थ्य प्रणाली ध्वस्त भएको छ।

“हाइटीको पोन्ट सोन्डे सहरमा बिहीबार भएको गिरोहको आक्रमणबाट हामी आतंकित भएका छौं”, संयुक्त राष्ट्र मानव अधिकार विभागका प्रवक्ता थामिन अल–खितानले एक विज्ञप्तिमा भने।

“ग्रान ग्रिफ गिरोहका सदस्यले गोली चलाउन स्वचालित राइफलहरू प्रयोग गर्दा कम्तिमा ७० जनाको मृत्यु भएको छ, जसमध्ये करिब १० जना महिला र तीन शिशुहरू थिए।”

“हाइटी प्रहरीसँगको गोली हानाहानमा दुई गिरोहका सदस्यसहित कम्तीमा १६ जना गम्भीर घाइते भएका छन्। आक्रमणमा गिरोहका सदस्यहरूले कम्तिमा ४५ वटा घर र ३४ वटा गाडीमा आगो लगाएको बताइएको छ।”

“अधिकारीहरूले यस आक्रमणको द्रुत र गहन अनुसन्धान गर्नु, जिम्मेवारहरूलाई जवाफदेही बनाउनु र पीडित र उनीहरूका परिवारलाई क्षतिपूर्तिको ग्यारेन्टी गर्नु महत्त्वपूर्ण छ”, विज्ञप्तिमा भनिएको छ।

गत हप्ता संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले हाइटीमा यस वर्षको हिंसामा तीन हजार ६०० भन्दा बढी मानिस मारिएको जनाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *