लघुकथा : ब्युटी भर्सेस

सुरेश राई
९ कार्तिक २०८१ ११:४९
168
Shares

पराजुली र खत्री बुढा जहिल्यै विपिरी ध्रुवमा उभिन्छन्। बीसौं वर्षदेखि वल्लोघर पल्लोघर छिमेकीको रूपमा रहेका यी दुई वृद्ध वाल्यकालका स्कुले मित्रहरू पनि हुन्। यी दुई सँगै बिहानीको व्यायाम गर्छन्, यात्राहरुमा निस्कन्छन्, पुस्तक पढ्छन्, किनमेल जान्छन् तर कुकुर बिरालो झैँ पटक पटक एक अर्कालाई ङ्यार्रङुर्र पनि गरिबस्छन्।

पराजुली रुपलाई प्रमुख मान्छन्। उनको मन पर्ने उखान नै ‘पहिले दर्शनदारी अनि गुण विचारी’ हो। सुन्दरता प्रमुख हो, गुण वा लच्छिन दोस्रो कुरो हो भन्छन्। ठीक विपरीत खत्री गुण वा विशेषतालाई मुख्य मान्छन्। एस्थेटिक ब्युटीको खास महत्व छैन भनेर सोच्छन्।

रारा ताल घुम्न निस्किएका यी दुई वृद्धहरूको आँखै अगाडि अहिले अप्सरा जस्ती रारा लमतन्न सुतेकी छिन्। यस्तो लाग्छ मानौं केही भाग स्वर्ग अचानक चुहिएर यो ताल बनेको हो। यही मौका छोपेर पराजुलीले खत्रीलाई घोच्यो ‘हन ओ खत्री, तिमी त सुन्दरता क्यै हैन भन्छौ हैन? त्यसोभा रारा ताल चै तिमी हावा सुँघ्न आको त? यी दृश्यहरू नहेरी यहाँको हावा मात्रै सुँघेर फर्के भैगो त!’ खत्री चुपचाप सुनि मात्रै रह्यो। केही बोलेन।

एकछिनपछि पराजुली आँखा चिम्म गरेर तालको किनाराको एक फलैंचामा पलेटी मारेर लामो लामो श्वास लिँदै ध्यान गरिरहेको देखियो। खत्रीले शान्ति भंग गर्दै मौका लिइहाल्यो ‘हन पराजुली तिमीलाई पनि वातावरण महशुस गरिरहन पर्छ र? म त आँखाले हेरेरै अघाउँछौ होला भनेको त!’ पराजुली सुने नसुने झैँ चुपचाप आँखा बन्द गरिरह्यो।

हजुरबाहरूको कुरो अघिदेखि सुनिरहेको नाति केटोलाई झिँझो लागेछ ऊ चिच्यायो ‘तपाईंहरुलाई सन्तुलन भन्ने कुरा थाहै छैन? रुप र गुणको सन्तुलन जरुरी हुन्छ । यी मध्य एउटा प्रमुख कसरी हुन सक्छ?’

दुई हजुरबा केही प्रतिक्रिया नजनाइ गजधम्म बसिरहे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *