लघुकथा : पार्टीको मान्छे

ईश्वर पोखरेल
२९ कार्तिक २०८१ १३:३१
288
Shares

अस्पतालमा रुङ्दा जागिरे जीवनका बारेमा खुलस्त कुरा भयोे-ठूल्दाजुसँग।

सडकमा हुनुहुन्थ्यो, सडक विभागमा। पछि अझ कमाइ हुने ठाउँमा जानु भयो, कुस्त कमाउनु भयो। पञ्चायत कालमा चाँडै सम्पत्ति जोड्ने गिनेचुनेका कर्मचारीमा उहाँको नाम आउँथ्यो। पटकपटक पक्राउ पर्नु भयो। तर ‘चेत्नु भएन’ कसरी भन्नु! बरु ‘कमाईप्रतिको उहाँको आकर्षण कम भएन’ भन्छु।

हाम्रो खालमा उहाँ दृष्टान्त हुनुहुन्थ्यो, उहाँकै धेरै इज्जत र रवाफ पनि।

तिनताका हामीलाई देख्दा नदेखे जस्तै गर्नुहुन्थ्यो।

लोकतन्त्र आएपछि राज्यले ‘पाता कस्छ’ भन्ने धेरै थिए तर केही भएन। अझ भनौं भने लोकतन्त्र आएपछि दाजुले जति कमाउनु भयो, त्यति अघि कमाउनु भएको थिएन।
हुर्किएपछि छोराछोरी सबै युरोपतिर लागे।

आफूले जोखिमका साथ जोडेको औलाधौला सम्पत्तिको प्रत्यक्ष संरक्षकत्वको जिम्मेवारी आफैंले लिनु पर्ने अवस्था देख्नु भयो-ठूल्दाजुले। पटकपटक युरोप जानु भयो, सम्पत्तिले यतै तानी हाल्ने। अब त बुढो पनि हुनुभयो, बारम्बार विरामी पर्नु हुन्छ।

यता हामी जोजो छौं, ठूल्दाजुलाई रुङ्न पालोपालो अस्पतालमा बस्छौं।

रिटायर्ड भएदेखि नै उहाँको हामीसँगको सम्बन्ध सुध्रिएको हो, अब अहिले त घनिष्ट र खुलस्त छ।

ठूल्दाजुले भन्नु भयो- ‘लोकतन्त्रमा झन् सजिलो भयो। अघि पक्राउ पर्दा एक्लै लड्नु पर्थ्याे , आफ्नै बलमा राम्रो अफिसमा सरुवा हुनुपर्थ्याे। लोकतन्त्रमा प्रभावकारी पार्टीसँग सम्बन्ध गाँसेपछि लड्नु पर्दा पनि पार्टीले नै वकिल सिफारिस गर्ने,  कमाइ हुने ठाउँमा पुर्‍याउन पनि पार्टीले नै लबिङ गर्ने। संवैधानिक निकायमा पनि पार्टीकै कोटाबाट गएका मान्छे हुने। अभियोग लागे छानविन पनि आफ्नै मान्छेले गर्ने।’

ठूल्दाजुले कसरी कमाउनु भयो भन्ने कतै छिपेको थिएन; ठूल्दाजुलाई लोकतन्त्र कसरी फापेछ भन्ने कुरा पनि अब पर्दाभित्र रहेन।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *